जनकपुरधाम । रौतहटमा करेन्ट लागेर थप एक जना किसानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका-७ पथरा गाउँका ४८ वर्षीय चन्देश्वर बैठा छन् । बैठा बिहीबार दिउँसो धान खेतमा पानी लगाउन गएका थिए । त्यही बेला अर्का किसान मोसाफिर साह तेली पनि आफ्नो खेतमा सिँचाइ गर्न पुगेका थिए ।
तेलीले विद्युतीय मोटर चलाएर सिँचाइ गरिरहेको समयमा तार सर्ट हुन पुग्दा बैठालाई करेन्ट लाग्न पुगेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए ।
अपराह्न ४ बजेतिर करेन्ट लागरे घाइते भएका बैठालाई उपचारका लागि गौर प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी रायले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यो घटनासँगै रौतहटमा तीन दिन यता करेन्ट लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
यसअघि खेतमा सिँचाइ गर्ने क्रममा बुधबार बिहान मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लाग्दा माधवनारायण नगरपालिका(४ विसुनपूर्वा मानपुरका रामबाबु मुखियाको मृत्यु भएको थियो ।
अनलाईन खबर








