काठमाडौं । आईएफआरसीको चेतावनीका बाबजुद कांग्रेस-एमालेको गठबन्धन सरकारले नेपाल रेडक्रसमा पुनः भागबन्डा गरेका छन् ।
चन्द्रकला कार्की र डा. विशालकुमार भण्डारीको दुवै समानान्तर कमिटी विघटन गरिएको जानकारीसहित ९ सदस्यीय तदर्थ कमिटी बनाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्र रेडक्रस केन्द्रीय कार्यालयमा दर्ता भएको छ ।
यो समितिलाई ३ महिनाभित्र विधान संशोधन गरी चुनाव गराउन म्याण्डेट दिइएको छ ।
तदर्थ समितिको अध्यक्षमा जनकपुर घर भएका कांग्रेसका विनोदकुमार शर्मा छन् । त्यस्तै एमालेबाट नेपालगञ्जका मीनबहादुर मल्ललाई महामन्त्री बनाइएको छ । मल्ल हाल एमाले जिल्ला कमिटी बाँकेका सचिवाल सदस्य छन् ।
त्यस्तै कोषाध्यक्षमा कांग्रेसका लोकदर्शन श्रेष्ठलाई राखिएको छ । एमालेबाट पोखराका हरि बराल उपाध्यक्ष छन् । रेडक्रस कार्यालय उच्च स्रोतका अनुसार सदस्यहरूमा एमालेबाट ओखलढुंगाकी कान्तिराज भण्डारी, एमालेकी काठमाडौंकी सूर्यकुमारी श्रेष्ठ, कांग्रेसका हेमराज ओझा (गृहमन्त्री रमेश लेखक कोटा कैलाली), बागलुङका डा. गंगाधर अधिकारी र इन्जिनियर दोलखाका हरि दर्शनलाई पनि तदर्थ समितिमा राखिएको छ ।
गठबन्धन सरकारले रेडक्रसलाई भ्रातृ संगठन बनाउने तयारी गरेको समाचार हिजो नेपाल प्रेसले प्रकाशन गरेको थियो । ३३ सदस्यीय कमिटी भागबन्डा गर्ने तयारी भएपनि समाचार बाहिरिएपछि हाललाई ९ सदस्यीय मात्र बनाइएको हो । योबीचमा केही नामसमेत हेरफेर भएका छन् ।
रेडक्रसलाई पुनः दलीय भागबन्डामा फसाउन लागिएकोमा चिन्ता व्यक्त गर्दै हिजो आईएफआरसी र सीएमसी टीमलाई समेत इमेलमार्फत् ‘अलर्ट’ समेत गराइएको थियो ।
जेनेभाले गत जेठ अन्तिममा नेपाल रेडक्रस सोसाइटीलाई सुधार नगरे निलम्बन गर्ने चेतावनीसहित पत्राचार गरेको थियो । गभर्निङ बोर्डको १२ जुनको निर्णयअनुसार नेतृत्व परिवर्तन, विधान संशोधन र नयाँ कार्यसमिति चयनको लागि नेपाल सरकारको प्रतिबद्धता आग्रह स्वीकार्दै दिइएको मौका ७ दिनपछि सकिँदैछ ।








