काठमाडौं । रुपन्देही ३ को उपचुनाव तयारीमा एमाले जुटेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।
निर्वाचनको तयारीका लागि एक महिला सहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शंकर पोखरेलले पत्र पठाएका छन् ।
महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ । पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।
केन्द्रीय कार्यालय प्रमुख डा। भिष्म अधिकारीका अनुसार हिजो दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिन भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ ।
मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एक जनाको नाममा निर्णय गर्ने डा। अधिकारीले बताए । सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका बोहोरा विजयी भएका थिए ।








