गोङ्गबुको होटलमा श्रीमतीको हत्या: ५ दिनपछि बक्स पलङभित्र भेटियो शव, भारत भाग्दै गर्दा श्रीमान् पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित एक होटलमा श्रीमानले श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएको घटना ५ दिनपछि बाहिर आएको छ। प्रहरीले हत्यामा संलग्न २८ वर्षीय सन्तोष सेन्चुरीलाई पक्राउ गरी घटनाको रहस्य खुलासा भएको हो ।
गत साउन ३० गते काठमाडौं महानगरपालिका(२६, गोङ्गबुस्थित कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा एक महिलाको शव भेटिएको थियो। शव भेटिएपछि घटनाको रहस्य खुलेको हो ।
यता साउन २८ गते ललिताका भाई मोतिराम विश्‍वकर्माले आफ्नो दिदी २७ वर्षीया ललिता बिक हराएको भनि प्रहरी बृत्त महाराजगन्जमा खोजतलासको लागी निवेदन दिएका थिए ।
प्रहरी बृत्त महाराजगन्जले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, भङ्गालका सन्तोषलाई बोलाई श्रीमतीको बारेमा सोधपुछ गरेको थियो । सन्तोष परिवारका अन्य सदस्यसहित ललिताले काम गर्ने गरेको लगनको गार्मेन्टमा खोज्न समेत गएका थिए ।
घटना भएको तीन दिनपछि होटल सञ्चालक भिममाया लिङ्खाले २०१ नम्बर कोठाबाट दुर्गन्ध आएको भन्दै ३० गते राति ११ बजे प्रहरीलाई खबर गरी बोलाएकी थिइन् ।
प्रहरीले घटनास्थल जाँच गरी हेर्दा ललिताको मुखमा कपडा कोचिएको र शव बक्स पलङ्गभित्र लुकाइएको अवस्थामा फेला परेको थियो ।
तर प्रहरीसँग श्रीमती हराएको भन्दै खोज्न हिँडेका सन्तोषले नै आफ्नी श्रीमती ललिता बिकको हत्या गरी शव कोठाभित्र रहेको बक्समा लुकाएको खुलासा भयो ।२९ गते सन्तोष प्रहरी बृत्त महाराजगन्जको सम्पर्कमा रहेकोमा सोही दिनको दिउँसो १ बजे देखि मोबाइल स्विचअफ गरी सम्पर्क बिहिन भएका थिए ।

यसरी भयो घटनाको खुलासा
प्रहरीका अनुसार,२ वर्ष अघि विवाह गरेका ललिता र सन्तोषबीच विगत केही समयदेखि सम्बन्ध राम्रो थिएन र उनीहरू सम्बन्धविच्छेद गर्ने सहमतिमा पुगेका थिए। सोही विषयमा अन्तिम छलफल गर्न भन्दै सन्तोषले २७ गते ललितालाई उक्त होटलमा बोलाएका थिए।
सोही रात विवाद हुँदा सन्तोषले ललिताको हत्या गरी शव बक्समा राखेर पलङमुनि लुकाई आफू साथीको कोठामा बसेका थिए। भोलिपल्ट उनी होटलबाट बाहिरिएका थिए।
लामो समयसम्म ललिता सम्पर्कमा नआएपछि उनका माइती पक्षले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।
अनुसन्धान गर्दै जाँदा प्रहरी टोली साउन ३० गते उक्त होटलमा पुगेको थियो। कोठा खानतलासी गर्दा पलङमुनि राखिएको बक्सभित्र ललिताको शव कुहिएको अवस्थामा फेला परेको थियो।

भारत भाग्दै गर्दा पक्राउ
घटनापछि फरार रहेका सन्तोषलाई पक्राउ गर्न प्रहरीले विशेष टोली परिचालन गरेको थियो। विभिन्न प्राविधिक पक्षको अनुसन्धानबाट उनको लोकेशन पहिल्याउँदै जाँदा उनी भारततर्फ भाग्ने उद्देश्यले पर्साको वीरगञ्ज पुगेको खुल्यो।
सोही सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालय, पर्सासँग समन्वय गरी भदौ १ गते सन्तोषलाई वीरगञ्जबाट पक्राउ गरेको हो।
पक्राउ परेका सन्तोषमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा ललितासँग बिहे गर्नुअघि नै सन्तोषको अर्को प्रेमिकासँग सम्बन्ध भएको कारण श्रीमतीलाई मानसिक तथा शारिरीक यातना दिने गरेको स्वीकारेका छन्।
ललिताको हत्या हुनुअघि उनीहरु दुबैजना सम्बन्ध बिच्छेद गर्न सहमति भई छुटै बस्दै आएका थिए । अनुसन्धानमा खटिएको अधिकृतका अनुसार श्रीमतीको हत्या गरी उक्त होटलबाट सोही दिनको अन्दाजी दिउँसोको ४ बजे सन्तोष एक्लै होटलबाट बाहिर निस्केको खुल्न आएको छ ।
होटलमा श्रीमतीलाई बोलाई दुई तीन घण्टा सँगै बसी घाँटी थिची श्रीमतीको हत्या गरी लाश बक्स पलङ भित्र लुकाई आफु साथीको कोठामा गई बसेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?