पार्टीले जिम्मेवारी दिएर पदमा पुऱ्याएको / नियक्ति दिलाएको राष्ट्रप्रमुख, संघीय तथा प्रदेशका सरकार प्रमुख, मन्त्री एवं सांसद, राजदत बनेका एवं उच्च पदस्थ भएका अधिकांश कार्यकर्ताको आचरण र व्यवहारमा देश जनता र पार्टीप्रति जवाफदेहिता र समाजवादी आदर्श नदेखिएको तनहुँको दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले आरोप लगाएका छन् । हड्खलेले नीतिविहीन अवस्थामा ४ बर्ष पार्टी चलाउँदा परिणाम के आयो भनेर पनि प्रश्न गरेका छन् । आफ्नो फेसबुक स्टाटसमा हड्खलेले दाइहरुको राज चलेको कांग्रेसको तल्लोदेखि माथिल्लो संगठन भित्र विगत केही वर्षदेखि निकम्मा र स्वार्थी मान्छेहरूको ठूलो जमात भरिँदै गएको छ र पार्टीलाई ऊर्जा दिने विचार दिने र अगाडि बढाउने क्षमतावान, योग्यता, जोश र जाँगर भएका युवाहरू कांग्रेसबाट निकै पर हुँदै, पार्टी छाड्दै गइरहेको लेखेका छन् ।
आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेको स्टाटस
.४ वर्षअघि २०७८ मंसिरको १४ औं महाधिवेशनमा कुनै पनि मुल्यमा जित र पद हत्याउ मानसिकता राख्ने कांग्रेसका ४७४३ जना महाधिवेशन प्रतिनिधिहरुले पार्टीको नीतिमाथि बहससम्म पनि नगरिकन नेतृत्व छानेका थिए। तत्कालिन अवस्थामा राजनितिक विश्लेषकहरूले यसलाई लाजमर्दो भनेका थिए।
त्यही नीतिविहीन नेतृत्वले काङ्ग्रेसलाई मात्र होइन देशलाई नै खाडलमा लग्यो । यो त जगजाहेर नै छ। आफूले कहाँ बिरायौँ भनेर आत्मसमीक्षा गर्ने चेत र आँट कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुलाई आजका दिनसम्म पनि आएको छैन।
कांग्रेस पार्टी निर्माण र विकासको जगमा रहेका महाधिवेशन प्रतिनिधिहरू हिजोका दिनमा भन्दा पनि आजभोलि दाइको छायाँसँग डराएका प्रतित हुन्छ। अहिले साना ठूला कांग्रेसका सबै नेतृत्वले मात्र इतिहास समाएका छन्। कसरी उनीहरूको र दलको वर्तमान र भविष्य उनीहरूको हातबाट फुत्कियो भनेर उनीहरू समीक्षा गर्न डराउँछन् । कांग्रेसको नेतृत्वसँग विगतमा जोडिएको श्रमिक, किसान, युवा, विद्यार्थी र बुद्धिजीवी वर्ग मात्रै होइन उनीहरूकै सन्तान पनि रुष्ट छन् । विगतका केही निर्वाचनदेखि कांग्रेसका सन्तानहरूले नै कांग्रेस पार्टीलाई भोट हालेका छैनन्। हालेकाले पनि प्रश्न उठाएका छन्। ती प्रश्नहरू अनुत्तरित नै छन् ।
पटकपटक कुरा चपाउने अहिलेको नेतृत्वलाई अवगत नै छ कि कांग्रेशको आत्मा भनिने विशेश्वर प्रसाद कोइरालाको विचारबाट वर्तमानका कांग्रेसका संगठन, नेता तथा कार्यकर्ताको सोच, व्यवहार, जीवन शैली निर्देशित छैन। कांग्रेसको वर्तमान नेतृत्वले त्यसआत्मालाई आत्मसाथ गर्ने कर्ममा औचित्य देख्न छोडेको छन्। त्यसैले कांग्रेस अस्पतालमा अन्तिम सास गिन्ति गरिरहेको अस्वास्थ्य शरीर बनेर पल्टिरहेको छ। देशका सदस्यहरूले यसलाई छोड्ने क्रम जारी छ ।
पार्टीले जिम्मेवारी दिएर पदमा पुऱ्याएको र नियक्ति दिलाएको राष्ट्रप्रमुख, संघीय तथा प्रदेशका सरकार प्रमुख, मन्त्री एवं सांसद, राजदत बनेका एवं उच्च पदस्थ भएका अधिकांश कार्यकर्ताको आचरण र व्यवहारमा देश जनता र पार्टीप्रति जवाफदेहिता र समाजवादी आदर्श देखिँदैन । नेतृत्व नै पार्टीको धमिरा र बोझ बनिसकेका छन्।
नीतिविहीन अवस्थामा ४ बर्ष पार्टी चलाउँदा परिणाम के आयो- नेतृत्व भष्टाचारमा चर्लुम्म, पद जत्ति आफना नाता र चम्चालाई, पार्टी कहिले प्रचण्डको वैशाखी कहिले ओलीको लौरो, जवाफदेहिता शुन्य दाई हरुको प्रलय, काण्डै काण्डको भारी, भातृ एवं सुभेच्छुक संस्थाहरू दाईहरुको खोल्तीमै राखेर चैट, युवाहरूसँगको समन्वय र सहकार्य बन्द, निर्वाचनमा घात प्रतिघात गर्नेहरूलाई पुरस्कार, न्यायालय, कर्मचारी, सेना र प्रहरीमा भागवण्डा, युवा, विद्यार्थी, व्यापारी, किसान, मजदुर, श्रमिक, महिला, वालवालिका, अपाङग, सुकुम्बासी, दलित, आदिवासी, शिक्षक कर्मचारीका समस्यालाई वेवास्ता, संसद बन्यो अल्छिको घर, दाईहरु जति कमाउ, मोज गर, गफ गरमा व्यस्त , नेताहरूलाई विधिको शासन नचाहिने, छोटेदेखि बढे नेताका आफ्ना गुट बनाउनु, गुटलाई बचाउनु अर्काको हुर्मत लिनुमा व्यस्त , नीतिको दाम्लोमा कोही बाँधिन नचाहेपछि नेताजीहरु कोही हिन्दू धर्म, कोही राजा, कोही गणतन्त्र र कोही भाँडतन्त्रमा विभक्त । अर्थतन्त्र ध्वस्त । शिक्षा अस्तव्यस्त । सुशासन असम्भव सपना । पूर्वाधारमा बिचौलिया तस्कर र कमिसन खोरको ज्यादती । न्याय एक मृगतृष्णा। विदेश नीति ढुलमुले । कानुनी राज्यको धारणाको धज्जी । यो सूची धेरै लामो बन्न सक्छ।
भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि कांग्रेस लगायत नेपालका सबै पार्टीहरु एउटा दबाबमा छन्। उनीहरूले कि सप्रिनुपर्छ कि सकिनुपर्छ । उनीहरू समय सापेक्ष आफूलाई रूपान्तरण गर्न लागेनन् भने उनिहरुले आफ्नो दलभित्र र दल बाहिर पनि ठूला अकल्पनीय समस्याहरूको साक्षी बन्नुपर्ने देखिन्छ।
कांग्रेसले वर्तमान संकटको परिपेक्षमा पार्टी महाधिवेशन (विशेष वा नियमित) बोलाएर पार्टीको नीति माथि बहस गर्न जरुरी छ। आफूबाट भएका गल्तीहरूमा आम नेपाली जनता समक्ष माफी माग्नु जरुरी छ। निष्ठावान योग्य र निष्कलङ्क कार्यकर्ताहरूको मुल्याङ्कनको लगत तयार गर्न जरुरी छ। निर्मम निर्णय गर्नुपर्ने छ कि टेस्ट भइसकेका मानिसहरूबाट पार्टी चल्दैन । छिट्टै आफ्नो पेशा, व्यवसाय र अध्ययन अनुसन्धानको क्षेत्रमा चुनिन्दा बहुसंख्यक युवाहरुलाई पार्टीको गाउँ, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मको पार्टीको संरचनामा स्पेस दिने स्थानीय प्रदेश र सङ्घीय सरकारमा लैजाने आँट गर्नुपर्छ।
गगन थापा, विश्वप्रकाश, चन्द्र भण्डारी, सुनिल शर्मा, गुरुराज घिमिरे, प्रदिप पौडेले चलाएको कांग्रेस पार्टीभित्रको सुधारको अभियानलाई हाँसोमा उडाएर कांग्रेसले चार वर्ष बितायो। पार्टीलाई सुधार्न होइन उधार्नुमा समय खर्च गरियो । भुई मान्छेका मुद्दाहरूबाट संगठनलाई भड्काइयो। आफूलाई शक्ति पैसा र प्रभावको लागि योग्य छु भन्ने विश्वास भएका भ्रष्ट पार्टी अगुवाहरुले दाइको साख गुम्छ कि भन्ने डरले कांग्रेसभित्रका सुधारवादी युवा नेतृत्वहरूलाईनै अर्घेलो जस्तो देखाइए । भाउजुुको कोपभाजनमा परिन्छ भन्ने त्रासले महामन्त्रीहरूले टेबल गरेका प्रस्ताव र कार्यक्रमहरूलाई असहयोग गरियो। नीति नभएको काङ्ग्रेसमा यस्ता क्रियाकलाप अपरिहार्य हुने नै भए। यसको नतिजा- समाजमा आक्रोश, हिंसा, बदला, तिरस्कारले स्थान पायो। अनि जन्मियो युवाहरूको जेनजी आन्दोलन ।
कांग्रेसले समय सापेक्ष आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने र युवाहरूको विश्वास जित्ने कार्य गरेन भने अबको दिनमा बचेखुचेको सज्जन कार्यकर्ता र जनताको विश्वास गुमाउनेछ। किनकि दाइहरुको राज चलेको कांग्रेसको तल्लोदेखि माथिल्लो संगठन भित्र विगत केही वर्षदेखि निकम्म र स्वार्थी मान्छेहरूको ठूलो जमात भरिँदै गएको छ र पार्टीलाई ऊर्जा दिने विचार दिने र अगाडि बढाउने क्षमतावान, योग्यता, जोश र जाँगर भएका युवाहरू कांग्रेसबाट निकै पर हुँदै, पार्टी छाड्दै गइरहेका छन् । कांग्रेसका बोल दुःख सुखमा साथ दिने साथीभाइ इष्टमित्रको समूह बनेको छैन। त्यो बाटो ढुकेर बस्ने हिंस्रक अङ्गुली मालाको समूह जस्तो बनेको छ। एकले अर्कोलाई खुइल्याउने, सिध्याउने, उखेलेर फ्याँक्ने, मोसो दल्ने उद्दण्डरु गुटहरूले पार्टी लाई हलन छल बनाएको छन् । संगठनभित्रका यस्ता ऐजेरुहरूलाई निमिट्यान्न पार्नको लागि उच्च नैतिकता भएका, निस्वार्थ्य र निष्कलङ्क कार्यकर्ताहरूलाई दलभित्र टिकाई राख्न सक्नुपर्छ। आदर्शको स्थापना गर्न सक्नुपर्छ ।
पार्टी चलाउँछु भन्नेहरूले अलिकति त बुद्धि पनि चलाउनुपर्यो !

साभारःआदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेको फेसबुक








