कीर्तिपुर। कीर्तिपुर नगरपालिकाको पांगामा इतिहासमै प्रथम पटक द्यः प्याखं ‘देवी नाच’ पांगामा असोज २४ गते शुक्रबार प्रदर्शन गरिएको छ ।
पांगाको धुसि टोलको गणेश मन्दिरमा करिब ७ बजे देखि सुरु भएको यस नाचको आयोजक तःननी दाफा खलले धुसि दाफा खलःसित समन्वय गरि प्रदर्शन गरिएको हो ।
कीर्तिपुरको मात्र नभई नेपालकै धार्मिक, एैतिहासिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण देवी नाच हेर्न स्थानीय बालकदेखि लिएर जेष्ठ नागरिकहरु उल्लेखनिय उपस्थिति जनाइएको थियो ।
नेवार समुदायको मोहनी चालं अर्थात बिजयादशमीदेखि तःननी आखं छेँबाट देवी नाच लँ प्याखं देखाएर कीर्तिपुरको द्यो ढोकामा नाच देखाएपश्चात र बाघभैरव मन्दिर परिसरमा नासः द्यः अगाडि नासः ग्वारा गायनमा नाच देखाउने चलन रहेको छ ।
यसका अलावा तःननि टोल देखाएपश्चात सो नाच जगतपाल महाविहार चिलंच्वका गुरु धर्म गुरुजु भएको आधारमा कोजाग्रत पुुर्णिमामा अन्तिम पटक देखाउने परम्परा रहेको छ ।
खिं बाजा, ता, बाबुचा, प्वंगचा तालमा बजाउने यस नाचमा एक जना दांगी, दुुई जना पो, इन्द्रायणी, भैरव, ब्रम्ह्यणी देवगणहरु रहेको हुन्छ ।








