एमालेले संसद् पुनर्स्थापनाको मुद्दा नछाड्ने, चुनावबाट पनि नभाग्ने लियो नीति

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेले नेतृत्व परिवर्तनबारे चलेको बहस महाधिवेशनले नै निष्कर्षमा पुर्‍याउने जनाएको छ । केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेतृत्व परिवर्तनबारे अहिले छलफल गर्न आवश्यक नरहेको बताए ।
उनले भने, ‘यो विषय महाधिवेशनको एजेन्डा हो। अहिले यहाँ धेरै केन्द्रित भएर छलफल गर्न आवश्यक छैन। भावी नेतृत्व, नेतृत्वमा इच्छुक साथीले महाधिवेशनमा आफ्नो कुरा राख्नुहुन्छ ।’
आजको बैठकमा १३४ जनाले धारणा राखेको र भोलि पनि बैठक बस्ने बताए । संविधान र जनअधिकारको रक्षाको लागि प्रतिनिधिसभाको पुनर्स्थापना गरेर जानुपर्छ भन्ने कुरा बैठकमा उठेको बताए ।
उनले थपे, ‘संविधान पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर व्यापक जनपरिचालन गरेर निर्णयमा पुर्‍याउनुपर्छ भन्ने सुझाव आएका छन्।’
संविधानलाई ट्याकमा ल्याउनको लागि संसद् पुनस्र्थापनबाट मात्रै सम्भव हुनेतर्फ बैठक अघि बढेको बताए। उनले आज निर्वाचन आयोगसँगको छलफलमा निर्वाचनको वातावरण बनाउनको लागि ७ बुँदे धारणा बुझाएको बताए।
उनले भने, ‘हामीले निर्वाचनमा भाग लिँदैनौँ भनेका छैनौँ। सरकारले राजनीतिक दललाई निषेध गर्ने, अनावश्यक धाक धम्की दिनेतिर लागेको छ। निर्वाचनको वातावरण बनेको छैन ।’
उनले सरकारलाई निर्वाचनको वातावरण बनाउन आग्रह गर्दै अहिलेसम्म प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग वार्ता नगरेको पनि बताए।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?