तनहुँ — तनहुँ दुलैगौडास्थित पन्चमुनीदेव माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले कास्कीको मादी गाउँपालिका–१, सिक्लेसमा अवस्थित अपर मादी–० जलविद्युत् आयोजनाको शैक्षिक अवलोकन भ्रमण गरेका छन्। करिब ८० विद्यार्थी र १० जना शिक्षक सहित ९० जनाको टोली मंगलबार आयोजनास्थल पुगेको थियो।
अन्डरग्राउण्ड संरचनामा निर्माण गरिएको पावरहाउस तथा आयोजनाका अन्य प्राविधिक संरचनाबारे आयोजनाका निर्देशक इन्जिनियर श्रीराम न्यौपानेले विस्तृत जानकारी गराएका थिए। विद्यार्थीहरूले टनेल, पावरहाउस, मेसिनरीलगायतका संरचना प्रत्यक्ष अवलोकन गर्ने अवसर पाए।
भ्रमणपछि विद्यार्थीहरूले आफूहरूलाई कक्षा कोठामा सिकेका सिद्धान्तलाई प्रत्यक्ष रुपमा बुझ्न पाएकोमा खुसी व्यक्त गरेका छन्। उनीहरूले यस्तो अवलोकन कार्यक्रममा सहभागी हुन पाउनु सहजरूपमा नमिल्ने ज्ञान र अनुभव हासिल भएको बताएका छन्।
विद्यालय प्रशासनले यस्ता शैक्षिक भ्रमणले विद्यार्थीको व्यवहारिक ज्ञान अभिवृद्धि हुने बताउँदै आगामी दिनमा थप यस्ता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।








