तनहुँ — व्यास नगरपालिका–१, अम्रेनी निवासी शारदा गैह्रेले आफ्ना स्वर्गीय पति रामप्रसाद गैरेको स्मृतिमा सामाजिक उद्देश्यका लागि अक्षय कोष स्थापना गर्नुभएको छ। समाजसेवामा सक्रिय संस्था सार्थक मिलन नेपालमा गैह्रेले दुई लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको हो।
स्वर्गीय पतिको तेह्रौँ दिनको पुण्यतिथिका अवसरमा बिहीबार शारदा गैह्रेले आफ्ना दुई छोरा र दुई बुहारीको उपस्थितिमा संस्थालाई अक्षय कोषको रकम हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै शारदा गैह्रेले स्वर्गीय पति रामप्रसाद गैरे समाजसेवामा रुचि राख्ने, सरल र सहयोगी स्वभावका व्यक्ति रहेको स्मरण गर्दै उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको बताउनुभयो। “उहाँले देख्नुभएको समाजसेवाको सपना निरन्तरता दिन सानो प्रयास गरेको हुँ,” गैह्रेले भन्नुभयो।
सार्थक मिलन नेपालका पदाधिकारीहरूले अक्षय कोष स्थापनाप्रति गैह्रे परिवारलाई धन्यवाद व्यक्त गर्दै प्राप्त रकमको सदुपयोग गर्दै संस्थाको उद्देश्यअनुसार सामाजिक कार्यमा लगानी गरिने प्रतिबद्धता जनाएका छन्। आफन्त तथा शुभेच्छुकहरूले उक्त अवसरमा स्वर्गीय रामप्रसाद गैरेप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।









