तनहुँ । विज्ञान शिक्षक समाज नेपाल (STAN) व्यास नगर समितिको आयोजनामा तथा निर्मल माध्यमिक विद्यालयको सह–आयोजनामा जिल्लास्तरीय “Rebuild Nepal Science Fair–2026” आयोजना हुने भएको छ। उक्त विज्ञान मेलाको पुरस्कार प्रायोजन Rebuild Nepal Education Foundation ले गरेको छ।
माध्यमिक तह (कक्षा ८–१०) का विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धानशीलता, नवप्रवर्तन र सृजनात्मक क्षमताको विकास गर्ने उद्देश्यले विज्ञान मेला आयोजना गर्न लागिएको हो। मेलामा तनहुँ जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ।
विज्ञान मेलामा उत्कृष्ट परियोजनाहरूलाई प्रथम पुरस्कार रु. ४०,०००, द्वितीय रु. ३०,०००, तृतीय रु. २०,००० र चतुर्थ रु. १०,००० सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।
विज्ञान मेला व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा आयोजना हुने जनाइएको छ। आयोजकले सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।








