धादिङ — गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नराम्ररी पराजय बेहोरेको नेकपा (एमाले) मा पहिरो जाने क्रम जारी रहँदा धादिङका युवा नेता तथा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष धुर्ब अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
लामो समयदेखि एमालेमा सक्रिय रहँदै आएका युवा नेता अधिकारीले पार्टी परित्याग गर्दै रास्वपामा आवद्ध हुने निर्णय लिएका हुन्। उनको प्रवेशसँगै धादिङमा रास्वपाको संगठन थप सशक्त हुने विश्वास गरिएको छ।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै अधिकारीले देशमा नयाँ सोच, ऊर्जा र जिम्मेवार राजनीति आवश्यक भएको उल्लेख गरे। उनले भने, “नयाँ ऊर्जा र जोशका साथ आएको पार्टीलाई साथ दिनु मेरो कर्तव्य ठानेको छु।”
रास्वपाले पछिल्लो समय युवाहरूको उल्लेख्य आकर्षण पाइरहेको छ। अधिकारीजस्ता जुझारु युवाको आगमनले पार्टीलाई थप बलियो बनाउने स्थानीय नेताहरूको भनाइ छ।
धादिङमा बढ्दो जनसमर्थनसँगै रास्वपा आगामी दिनमा अझ प्रभावशाली शक्ति बन्ने संकेत देखिएको छ।








