बैकुण्ठनाथ मिश्र, पविन्द्र कुमार श्रेष्ठ र अर्जुन अधिकारी (सागर उदास)को दावेदारीले तनहूँ उद्योग बाणिज्य संघको निर्वाचन झनै रोचक हुने अनुमान गरिएको छ ।
तनहूँ । लामो बैठक र स्थानियदेखि केन्द्रिय नेताहरु दौडधुपले पार नलागेपछि अन्तत सर्वसम्मत हुन नसकेको तनहूँ उद्योग वाणिज्य संघको नेतृत्वका लागि आज बैकुण्ठनाथ मिश्र, पविन्द्रकुमारु श्रेष्ठ र अर्जुन अधिकारी (सागर उदास) ले आफ्नो मनोनयन दर्ता गर्नुभएको छ । लामो समयदेखि आफुलाई उमेदवारी दिने बिचार व्यक्त गरिरहनुभएका सूर्यनाथ खनालले उमेदवारी नदिएपछि २ जनाको मात्र उमेदवारी पर्छ कि भन्ने अनुमान विपरित दमौली बजारका व्यापारी अर्जुन अधिकारीले उमेदवारी दिएपछि चुनाव अझ रोमान्चक हुने सबैको अपेक्षा रहेको छ ।
अध्यक्ष पदको मुख्य दावेदार मानिनुभएका बैकुण्ठ नाथ मिश्रले पत्रकार सम्मेलन गरि आफु अगाडि बढिसकेको र तर्कसंगत कुरा आए सर्वसम्मत निर्णय मान्न तयार रहेको पनि बताउनुभएको थियो । उक्त अवसरमा वहाँले आफु बजार ईकाईको सदस्यबाट प्रथम उपाध्यक्षसम्म भएको र अघिल्लो पटक पनि मानकाजी श्रेष्ठको लागि अध्यक्ष पद त्याग गरेको हुनाले पनि स्वत दावेदार रहेको पनि बताउनुभएको थियो । उक्त पत्रकार सम्मेलनमा नवनिर्वाचित तनहूँ उद्योग वाणिज्य संघ दमौली वजार ईकाईका सभापति भुपाल आले, तनहूँ उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा प्रथम उपाध्यक्षका उमेदवार सुरेश पुरी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा वहाँहरुले बैकुण्ठ मिश्र योग्य र सक्षम भएको हुनाले विजयी हुने बताउनुभएको थियो । कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी मिश्रले पत्रकारहरुको प्रश्नको उत्तर दिदै आफ्ना आगामी योजनाहरु पनि सुनाउनुभएको थियो ।

त्यसैगरि अर्का अध्यक्ष पदका प्रत्यासी पविन्द्रकुमार श्रेष्ठले पनि पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो । उक्त पत्रकार सम्मलेनमा वहाँले आफु महासचिव हुदाँ राम्रो काम गरेको यसपटक पनि विभिन्न योजनाहरु लिएर आएको कारण आफु विजयी हुने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा दमौली बजार एकाईका नवनिर्वाचत उप सभापति राजेश मल्लले श्रेष्ठ भिजन र मिशनका साथ आएको ले वहाँलाई जिाताउनु व्यवसायीको हितमा हुने बताउनुभएको थियो ।

तनहूँ उद्योग वाणिज्य संघको नेतृत्वको दावी गर्ने प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र र पूर्व महासचिव पविन्द्रकुमार श्रेष्ठ नेपाली कांग्रेस निकट हुनुहुन्छ भने अर्का प्रत्यासी अर्जुन अधिकारी (सागर उदास) नेकपा (एमाले) निकट मानिनुहुन्छ ।









