तनहूँ । चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनी तर्फ आउदै गरेको ट्रक मर्स्याङ्दी नदीमा खस्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट गाउँपालिका वडा नं. ८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभएको छ । ना. ३ख ९९७३ नं. को ट्रक आँबुखैरेनी गाउँपालिका वडा नं. ४ ऐना पहरा स्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो । घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकको परिवारले बताएको छ । पराल लिएर पोखरातिर जादै गरेका मृतक दुवै दाजुभाइ भएको पनि बताईएको छ। मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।








