(अनुगमनका लागि बैतडीको डिलाशैनीमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे सहितको टोली)
बैतडी –जिल्लाको सुर्नया गाउँपालिकाले वासुलिंग स्वास्थ्यचौकीमा ३२ बेडको आइसोलेसन बनाएको छ । कोरोना संक्रमितहरुलाई खानपान सहितको व्यवस्थापन गरेर आइसोलेसन बनाएको भएपनि संक्रमतिहरु बस्न मानेका छैनन् । सोमबारसम्म गाउँपालिकामा २२ जना सक्रिय संक्रमित छन् तर आइसोलेसनमा एकजना मात्रै बसीरहनुभएको छ । ‘संक्रमितहरु आइसोलेसनमा बस्न मानिरहनुभएको छैन । जति सम्झाउँदा पनि बुझ्नु हुदैन ।’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले भन्नुभयो, ‘संक्रमितहरुले आइसोलेसन नबसिदिँदा संक्रमण जोखिम बढ्दै गएको छ ।’
जिल्लाको दोगडाकेदार गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा १२ बेडको आइसोलेसन बनाएको छ । गाउँपालिकामा १५ जना सक्रिय संक्रमित भएपनि कोही पनि आइसोलेसनमा बस्नुभएको छैन । ‘संक्रमितहरु सबै होम आइसोलेसनमा बस्नुभएको छ। आफूहरुलाई होम आइसोलेसनमै सजिलो हुन्छ भन्नुहुन्छ।’स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले भन्नुभयो जिल्लाको दशरथचन्द नगरपालिकामा २८५ जना सक्रिय संक्रमित छन् तर आइसोलेसनमा ४५ जना मात्रै बस्नुभएको छ । ‘संक्रमितहरु आँफैले आइसोलेसनमा बस्नुको महत्वका बारेमा बुझ्नु आवश्यक छ । आइसोलेसनमा बसेन भने संक्रमण फैलिन सक्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’सामाजिक अभियान्ता महेश भट्टले भन्नुभयो, ‘संक्रमितहरुले आइसोलेसनमा बसेमात्रै संक्रमण न्यूनीकरणमा मद्दत पुग्छ ।’
”जिल्लामा अहिले सम्म २५६ बेडका आइसोलेसन निर्माण भएका छन् । झण्डै ६ सयको हाराहारीमा सक्रिय संक्रमित छन् । तर आइसोलेसनमा १५६ जना मात्रै बसीरहेका ” स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘स्थानीय सरकारहरुले यो बिषयमा गम्भीर हुन जरुरी छ । यदि हामीले संक्रमितहरुलाई आइसोलेसनमा बसाउन सकेनौं भने हामीले थेग्न नसक्ने अवस्था आउन सक्छ ’ उहाँले भन्नुभयो ।
संक्रमितहरुको आइसोलेसन बसे नबसेको बिषयमा जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले पनि अनुगमन गर्नुभएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा अनुगमन गर्दा थोरै संख्यामा संक्रमितहरु आइसोलेसनमा बसेका पाइएको र मानिसलाई सम्झाउन बुझाउन लागिरहेको पाण्डेले बताउनुभएको छ ।
उहाँले भन्नुभयो ‘अझै पनि कोभीडका बिषयमा नागरिक गम्भीर बन्न सकेका छैनन् । हामीले स्थानीय तहका प्रतिनिधिहरुसंग पनि यो बिषयमा गम्भीर भएर कुरा गरेका छौं । संक्रमितहरु आइसोलेसनमा बस्नुभएन भने हामी कोरोना नियन्त्रण गर्न गारो पर्दछ ।’
”कोरोना संक्रमितहरुलाई आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन स्थानीय तहहरुसंग समेत समन्वय भईरहेको ‘‘ प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो ‘कतिपय ठाउँमा हामी आँफै पुगेका छौं । कतिपय ठाउँमा फोनबाट सम्पर्क भईरहेको छ । आइसोलेसन व्यवस्थापन गर्न सकेनौं भने कोरोनाको जोखिम बढ्दै जानेछ । त्यसैले हामी सबैले सुरक्षित भएर बस्नु आवश्यक छ ।’ (सगुन खबरको सहयोगमा)








