तनहूँ / कोरोना भाईरस कोभिड १९ ले गर्दा नेपालमा धेरै मानिसहरुको ज्यान गईसकेको छ, यतिबेला सम्पूर्णक्षेत्र ठप्पको अवस्थामा छ । स्वास्थ्यक्षेत्रमा विकराल समस्या देखिईरहेको छ । कतै अक्सिजनको अभाव, कतै एम्बुलेन्सको अभाव विभिन्न समस्याहरु देखिईरहेको बेला तनहूँ उद्योग बाणिज्य संघका नवनियुक्त पदाधिकारीहरु समाजको लागि केहि गर्नको लागि अक्षयकोष खडा गर्न लाग्नुभएको छ । कार्यसमितिको बैठक बस्न सम्भव नभएपछि दमौलीमा उपलब्ध पदाधिारीहरुले टाढा टाढाका पदाधिकारीहरुसग सरसल्लाह गरेर कोभिड व्यवस्थापन महाअभियान २०७८ संंचालन गरेको छ । बुधवार रातिको सल्लाहबाट शुरुमै तनहूँ उद्योग बाणिज्य संघको नामबाट तर स्ंस्थाका पदाधिकारी र विभिन्न बजार ईकाईका प्रतिनिधिहरुको व्यक्तिगत तर्फबाट ३ लाख ५ हजारको अक्षयकोष खडा गरिएको छ । हाल उक्त अभियानमा स्वदेश तथा विदेशबाट सहयोग आउन शुरु भएको छ । तनहूँ उद्योग बाणिज्य संघले संचालनमा ल्याएको कोभिड व्यवस्थापन महाअभियान २०७८ का बारेमा संघका नवनिर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठसगको छोटो भर्चुअल कुराकानी सर्वज्योतिमा:
प्रश्नः अध्यक्षज्यु कसरी सोचाई ल्याउनुभयो कोभिड व्यवस्थापन महाअभियान २०७८ खडा गर्ने ?
हामी कोरोना महामारीको लागि केहि गर्नुपर्छ भन्ने त पहिल्यैदेखि सोचेका थियौ, झन् झन् कोरोना भाईरस (कोभिड १९) को प्रकोप बढिरहेपछि हामी त्यसै बस्न सकेनौ र अहिलेको परिस्थितिमा बैठक बस्न नसकेपछि साथीहरुसग फोनमा सरसल्लाह गरेर हिजो रातिबाट कोभिड व्यवस्थापन महाअभियान २०७८ संचालन गर्ने र कोष खडा गर्ने सल्लाह गरेर काम शुरु गरेका हौै ।
शुरुवातमै हामीले जिल्ला कार्य समितिका पदाधिकारीहरुका तर्फबाट, विभिन्न बजार ईकाईका तर्फबाट जम्मा गरेर स्वर्तस्फुर्त व्यक्तिगत तवरबाट साना ईकाईबाट २५ हजार, डुम्रे आँबु खैरेनीबाट ३५ हजार, दमौली बजार ईकाईबाट ५५ हजार सहित रुपमा ३ लाख ५ हजारको कोष बनाईसकेका छौ ।
प्रश्नः कोभिड व्यवस्थापन महाअभियान २०७८ खडा गर्ने निर्णय गर्नुभएको छ कस्तो छ व्यापारी व्यवसायीहरुको , समाजको प्रतिक्रिया ?
हामी नेपालीहरु एकअर्काको सुख दुःखमा अति नै साथ दिने प्रकृतिका छौ , सबैलाई थाहा पनि होला अघिल्लो पटकको लकडाउनको समयमा पनि तनहूँ उद्योग बाणिज्य संघका विभिन्न ईकाईहरुले सारै नै समाजको लागि आवश्यक कामहरु गर्नुभएको थियो । अहिले हामीले यस्तो कामको शुरुवात गर्दा त खुशी नहुने मान्छे नै छैन मलाई काठमाण्डौ, पोखरादेखि मात्र हैन अमेरिका, युरोपदेखि हगंकगं बस्ने तनहूँका दाजुभाई दिदी बहिनीहरुले हामी के कति सहयोग गर्न सक्छौ भन्नुस् संस्थाको बैकको खाता नम्बर पठाउनुस् भन्नुभएको छ । सम्पूर्ण व्यापारी, व्यवसायीहरु , सर्वसाधारणहरु पनि सारै उत्साहित हुनुभएको छ हाम्रो कामको शुरुवात देखेर । हाम्रो अभियानमा मास्क, सेनिटाईजर लगायतका अन्य स्वास्थ्य सामाग्री पठाउन धेरै मानिसहरु लालायित भएको पाएका छौ ।
प्रश्नः तपाईहरुले कसरी र कस्तो प्रकारको सहयोग गर्ने लक्ष्य लिनुभएको छ ?
हाम्रो मन त सारा संसारलाई सहयोग गर्ने रहेको छ तर त्यो सम्भव नहुन सक्छ तै पनि हाम्रो जिल्लामा विशेष गरि जोखिम मोलेर यस्तो समयमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामति कर्मचारीहरु, स्वयंसेवीहरु, पत्रकार, गारो परेर उपचार गर्न नसक्ने व्यक्तिहरु, आईलोसनमा बस्दा बेखर्ची हुने मानिसहरुलाई हामीले बिशेष टार्गेट बनाएका छौ । सकेसम्म स्वास्थ्य सामाग्रीहरुको अभाव भएको ठाउँमा हामी छिटोभन्दा छिटो उपस्थित हुने लक्ष्य लिएका छौ । स्वास्थ्य सामाग्रीहरु पंजा, मास्क, सेनिटाईजर लगायतका सामाग्रीहरु उपलब्ध गराईदिन सकेपनि हाम्रो लक्ष्य पुरा हुन्थ्यो भन्ने हामी सबैको सोच छ । हामीले देखेका छौ सुनेका छौ कोरोना संक्रमित बिरामीहरुलाई बोक्नको लागि एम्बुलेन्स चालकको समस्या पर्ला पर्ला कि भएको छ, जो कोहि त्यस्तो बिरामीबाट टाढा भाग्न चाहेको छ , एम्बुलेन्स चालक नै रेडि हुनुभएन भने कसरी अस्पताल लैजाने ? यस्तो भईरहेको अवस्थामा हामीले एम्बुलेन्स चालकहरुलाई ” ल है हामी छौ तपाईहरुसग” भन्ने र उहाँहरुलाई सहयोग गर्ने पनि बिशेष योजना ल्याउने लक्ष्य हाम्रो रहेको छ । अझसम्म हामीले व्यक्तिगत तवरबाट संस्थाको लागि ३ लाख ५ हजारको कोष खडा गरेका हौ । शुभचिन्तकहरु, व्यापारी साथीहरुबाट त्यो कोषमा जम्मा हुने काम भईरहेको छ र हामी कहाँ कसरी स्वस्थ्य सामाग्रीहरु खरिद गर्न सक्छौ त्यसबारेमा अगाडि बढिरहेका छौ ।








