काठमाण्डौ । आगामी भदौ ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन मिति घोषण गरेको नेपाली कांगे्रसले नेपाली कांग्रेसले ६१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सकेर नामावली नै वेवसाइटमा सार्वजनिक गरेको छ।
कांग्रेसले १० लाख क्रियाशील सदस्ता पुर्याउने तयारी गरेको कांग्रेसको केन्द्रीय सफ्टवेयरमा अहिलेसम्म ७ लाख ६१ हजार ८२ जनाको नाम इन्ट्री भइसकेको छ। अब १६ जिल्लाका क्रियाशील सदस्यको इन्ट्री गर्न एक सातासम्म समय दिइएको छ।
अहिलेसम्म कूल २०७ स्थानमध्ये १०१ स्थानबाट इन्ट्री गरिएका क्रियाशील सदस्यको नामावली वेवसाइटबाट सार्वजनिक गरिसकिएको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले जनाएको छ।
बाँकी १०६ स्थानबाट क्रियाशीलको नामावली पार्टीको सफ्टवेयरमा इन्ट्री गर्ने काम भइरहेको छ। जेठ २५ गतेभित्र इन्ट्री नगरे सफ्टवेयर नै बन्द गर्ने कांग्रेसले जनाएको छ।
अहिलेसम्म नयाँ क्रियाशील सदस्य ३ लाख ९३ हजार आठ सय ३५ छ। नवीकरण गरिएका सदस्य ३ लाख ६७ हजार दुई सय ४७ जना छन्।
विभिन्न १५ स्थानबाट क्रियाशीलको इन्ट्रीमा ढिलाइ भइरहेको छ। प्रदेश नम्बर २ को बारा तथा सप्तरी र बागमतीको सिन्धुपाल्चोकबाट इन्ट्रीका काम धमाधम हुन नसकेको कांग्रेसले जनाएको छ।
क्रियाशील सदस्य नै पार्टीका तल्ला निकायका अधिवेशनको मतदाता हुन्। यिनैबाट क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशन प्रतिनिधि बन्छन् र उहाँहरुले नै केन्द्रीय कार्यसमिति चुन्ने गर्नुहुन्छ ।
कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने घोषणा गरेको छ। कोरोना महामारीका कारण कसरी महाधिवेशन गर्ने भन्नेमा बहस जारी नै छ।








