२ करोड लगानीमा मोनाले बनायो बाढी पहिरो पीडितका लागि ४० घर

  • ख-
  • ख+

सामाजिक संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) ले म्याग्दी जिल्लाका बाढी पहिरो पीडितहरूका लागि ४० वटा घर निर्माण गरेको छ ।

मोनाले २०७७ सालमा बाढी पहिरोमा परेर घरबारविहीन बनेका गृह जिल्लाका विभिन्न स्थानका पीडितहरूका लागि उक्त संख्यामा घर निर्माण कार्य सम्पन्न गरेको हो । मोनाको पुनर्वास योजना अन्तर्गत स्थानीय तह तथा परोपकारी संस्था ओम कुमारी शान्ति कोषसँग मिलेर घरहरु निर्माण गरिएको हो ।

पुनः निर्माण समितिका संयोजक तथा सङ्घका अध्यक्ष ओम नारायण जुग्जालीका अनुसार घरहरू निर्माण भएर हस्तान्तरण गर्ने तयारीमा रहेको र सामान्य रंगरोगन बाहेक सबै कार्य सम्पन्न भई सकको छ । उहाँका अनुसार निषेधाज्ञा खुल्ने बित्तिकै पीडितहरूलाई घर हस्तान्तरण गरिनेछ ।

जिल्लाको मालिका गाउँपालिका–७ विममा १०, धवलागिरिमा १४, मङ्गला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४ र ४ वटा गरी ४० घर निर्माण गरिएको हो । करिब २ करोड लगानीमा बनेका उक्त घरहरू भूकम्प प्रतिरोधी हुन् । प्रत्येक घरमा भान्छा कोठासहित ३ ओटा कोठा रहेका छन् । गत माघबाट निर्माण कार्य शुरु गरिए पनि कोरोनाको बन्दाबन्दीले समयमै घर बन्न नसकेको सङ्घका महासचिव विक्रम कार्कीले बताउनुभयो ।

विश्वका करिब २८ राष्ट्रमा फैलिएको मोनाको उक्त अभियान सफल बनाउन सबै प्रवासी म्याग्देली तथा एनआरएनए लगायत दाताहरूले सहयोग गरेका थिए । मोनाले अति आवश्यक परेको ठाउँमा घर निर्माण गर्दै दुःखसुखमा मोना छ भनेर विश्वास दिलाएको छ । २०७७ सालको पहिरोबाट जिल्लाका करिब १ हजार ६८ घरमा क्षति पुगेको थियो ।
जिल्लामा बाढी पहिरो पीडितहरूका लागि सरकारी स्तरबाट सुस्त गतिमा काम भइरहेको भन्दै पिडितहरुले गुनासो गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?