गण्डकी प्रदेशमा किचलोः मन्त्री आचार्यले लिन मानेनन् उर्जा मन्त्रालय, अर्थबाहेक अरुमा नजाने अडान

  • ख-
  • ख+

गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेको अन्तरिम कार्यविभाजनप्रति जनता समाजवादी पार्टी (जसपा) ले असहमति जनाएको छ ।

पोखरेलले दुई सातादेखि विना विभागीय रहेका मन्त्रीहरुलाई दलहरुबीच मन्त्रालय भागवण्डा हुँदा फेरिन सक्ने गरी मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनले आफूसँगै शपथ लिएका नेपाली कांग्रेसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

जसपाबाट सरकारमा सहभागी विना विभागीयमन्त्री हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र अर्का विना विभागीय मन्त्री दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए ।

तर अर्थ मन्त्रालयमा दाबी गरेका आचार्यले उर्जाको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । ‘उहाँहरुले जे–जे भन्यो हामीले त्यो मानिदिनुपर्ने, हामीले भनेको केही पनि मान्नु नपर्ने ?,’ उनले प्रश्न गरे, ‘हामी कांग्रेसको कार्यकर्ता भएर सरकारमा सहभागी भएको त होइन । जनता समाजवादी पार्टीको हैसियतमा उहाँले सम्मान गर्नुपर्छ ।’

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुभन्दा अघि कांग्रेसले चारबुँदे सहमति गरेको थियो, जसमा जसपालाई अर्थसहित दुई मन्त्रालय दिने उल्लेख थियो ।

‘सहमति कार्यान्वयन गर्नतिर नलाग्ने, हामीले भनेको मान्नुपर्छ मात्रै भन्ने ? ,’ उनले प्रश्न गरे, ‘हामीले यो राजनीतिक मिसनलाई मानेका हौं, कांग्रेसलाई होइन ।’

मुख्यमन्त्री पोखरेलले शपथ लिएको १६ दिनसम्म पनि पार्टीभित्रको किचलो समाधान गर्न नसकेको मन्त्री आचार्यले बताए । ‘उनीहरुबीच किचलो छ, आज १६ दिन भइसक्यो शपथ लिएको, १६ दिनसम्म निकास दिन नसक्ने भएपछि कसरी हुन्छ ?,’ उनले प्रश्न गरे ।

कहिलेसम्म विना विभागीय हैसियतमा बसिरहने भन्ने प्रश्नमा मन्त्री आचार्यले भने, ‘कहिलेसम्म बस्ने भन्ने कुरा हाम्रो कुरा हो, छलफल गर्दै जाउँला । अहिले चाहिं छिटो निकास दिनुपर्छ भनेका छौं ।’ (अनलाइनखबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्