गण्डकी अस्पताल बारे मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई खुल्ला पत्र

  • ख-
  • ख+

मुख्यमन्त्रीज्यू तपाई त ठुला बडा राजनितिक नियुक्ती पाएका डाक्टरसाब्हरुको अफिस भएको पहेलो विल्डिगंको शौचालयतिर जानुभयो होला अस्पतालको शौचालयतिर एक नजर लगाउनु भयो कि नाई ? लगाउनुभएको भए पक्कै तपाईले ठाउँका ठाउँ वमिट गर्नु भयो होला ! अनि टिकट काउण्टरको वरपर हेर्नुभयो त्यहाँको भिक्ता भरिको फोहोर, च्यातिएका, भाँचिएका, कोतरिएका , बिगारिएका झ्याल, ढोका, फ्लेक्स् , पोष्टरहरुमा हजुरको नजर गयो कि नाई ?

मुख्यमन्त्री ज्यू,
नमस्कार ।
म एउटा साधारण किसानको छोरो, एउटा स्वतन्त्र पत्रकारिता गर्दै जीवन घिसारिरहेको एउटा साधारण नेपाली यहाँले मलाई त चिन्नुहुन्न होला तर म हजुरलाई मज्जासग चिन्छु । मेरो घर तपाईको पुख्यौली घर नजिकै व्यास १० सेवरमा पर्छ । गल्ती भए क्षमा चाहान्छु म हजुरलाई चिन्नेमात्र होईन तपाईका पिताजी श्रद्धेय स्वर्गिय गोर्वदन शर्मा जो प्रजातन्त्रका सेनानी हुनुहुन्थ्यो उहाँको बारेमा पनि आफ्ना पिताजीको मुखारविन्दुबाट प्रशस्त सुनेको छु । त्यतिमात्र होईन मेरा पिताजीको मुखारविन्दुबाट गोर्वदन शर्माका पु्त्रहरुले यो देशमा केहि गर्छन् भन्ने पनि सुनेकोछु ।

एउटै जिल्लाको बासिन्दा भएको कारणले रामचन्द्र पोखरेलको जिल्ला सभापती हुँदाको कार्यकाल हेरे अनि पटक पटक तनहूँको कर्णाली त्यो ढुगांले छाएका घरहरुले भरिएको नामैले अंधेरी भन्ज्यागंसगै जोडिएको पोखरेलका घर वरपरको वातावरण पनि नियाँले । डाक्टर जगदिशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगमा पटक पटक विराजमान हुँदा स्वर्गिय गोवद्र्धन शर्माका सपनाहरु पुरा हुन्छन् कि भन्ने आशा लागेको थियो तर त्यो आशा पनि त्यत्तिकै मरेर गयो । त्यो पोखरेल गाउँ झनै विरक्त लाग्दो हुदै गयो न त्यहाँका बाटाघाटा बने न त्यस वरपरका अन्धेरो भन्ज्यागंतिर उज्यालो भयोे । त्यो तनहूँको कर्णाली तपाईको गाउँ अनि , गोवद्र्धन शर्माका सपनाहरुलाई बेला मौकामा सम्झिदै बस्दै गर्दा तपाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विराजमान हुन पुग्नुभयो मनभरि मुर्झाएकाका ईच्छाहरु पलाउन थाले । हेर्दैमा सोझा देखिने तपाईको मुहार, राजनिती जेलनेलको पिडाबोध अनि गोवद्र्धन शर्माको रगत केही त गर्नुहोला भन्ने आशा गरेको थिए । ति पनि बिस्तारै तुषरापात हुन लागे जति बेला म तपाई केहि दिन अगाडि अनुगमन गरेको गण्डकी प्रदेशको मुख्य अस्पताल पुगे । सुनेको, पढेको , देखेको र लेखेको पनि थिए तपाई निकै तामझामका साथ गण्डकी अस्पताल अर्थात पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संचालित पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अनुगमनको लागि जानुभएको थियो । सुरक्षाकर्मी, पत्रकार, प्रतिष्ठानका पदाधिकारीहरु निहुरिमुन्टि न गरि तपाईको अघि पछि दौडिनुभएको थियो ।

मुख्यमन्त्रीज्यू संयोग कस्तो पर्यो भने तपाई उक्त अस्पतालको अनुगमनमा गएको केहि दिन पश्चात म पनि आफ्नी ८० बर्ष पुग्नुभएकी फुपु दिदीलाई भेट्नको लागि उक्त अस्पतालमा पुगेको थिए । मुख्यमन्त्रीज्यू मलाई त मेरी फुपु दिदी राखेको ईमर्जेन्सि वार्डमा पुग्दा सातो नै गयो । ढोकाबाट भित्र प्रवेश गर्न लाग्दा छतबाट चुहिने पानी थाप्न राखिएको प्लाष्टिकको बाटा, बर्षौ अगाडि रंग्याईएको सेतो भित्तामा लागेको लेउ, जताततै भित्ता तथा सिलिगंमा फोहोर, करेन्ट लाग्ला जस्तै असरल्ल बिजुलीका तारहरु, बिग्रीएका झ्यालहरु कुनै हिन्दी फिल्ममा देखिने भुताहा घर जस्तो ईमरजेन्सि वार्ड । महिनामा करोडौको सरकारी रकम खर्च हुने अस्पतालको ईमरजेन्सि वार्डको हालत देख्दा मलाई फुपुलाई उक्त ठाउँमा बसेर निको हुने होईन रोगले चाप्छ भन्ने लाग्यो तर पनि ईमरजेन्सिमा लगेको बिरामी ३० घण्टा पुग्दा पनि बेड नपाएर खुम्चिएर भित्तामा माकुराका जालो र लागेको लेउ हेर्नु र गन्नु भन्दा मसग केहि उपाय थिएन । आदरणिय मुख्यमन्त्रीज्यू तपाईले अनुगमन गर्नुभएको उक्त अस्पतालको हरिविजोग देखेर मेरो मनमा तपाईलाई केहि प्रश्नहरु गर्न मन लाग्यो , तपाई ईमरजेन्सि वार्ड र अन्य वार्डहरुमा पस्नुभयो कि नाई ? म त दमौली फर्किसके तपाई उक्त वार्डमा पस्नुभएको छैन भने एकपटक अवश्य जानुहोला है तर बिन्ति छ एक्लै नजानुहोला हिन्दि फिल्ममा भुतको घर जस्तो लाग्ने ईमरजेन्सि वार्डमा एक्लै पस्दा सातो जान सक्दछ ।

मुख्यमन्त्रीज्यू तपाई त ठुला बडा राजनितिक नियुक्ती पाएका डाक्टरसाब्हरुको अफिस भएको पहेलो विल्डिगंको शौचालयतिर जानुभयो होला अस्पतालको शौचालयतिर एक नजर लगाउनु भयो कि नाई ? लगाउनुभएको भए पक्कै तपाईले ठाउँका ठाउँ वमिट गर्नु भयो होला ! अनि टिकट काउण्टरको वरपर हेर्नुभयो त्यहाँको भिक्ता भरिको फोहोर, च्यातिएका, भाँचिएका, कोतरिएका , बिगारिएका झ्याल, ढोका, फ्लेक्स् , पोष्टरहरुमा हजुरको नजर गयो कि नाई ? आदरणिय मुख्यमन्त्रीज्यू हजुर प्रयोगशालातिर जानु्भयो कि नाई अनि त्यहाँको सरसफाई हेर्नुभयो नि ?

अनि अर्को मुख्यकुरा मुख्यमन्त्रीज्यू हुन त हजुर विजी मान्छे त्यस अस्पतालका कर्मचारीले सर्वसाधारणसग गर्ने व्यवहार हेर्नुभयो अर्थात देख्नुभयो कि नाई ? उस्तै परे हातपात गर्न तम्सने त्यहाँका कर्मचारीहरुको कर्कश मधुर बोलि सुन्नुभयो कि नाई ? अनुगमनमा जाँदा राजनितिक नियुक्ति खादै सरकारी गाडिमा सवार हुदै आफ्नो निजी अस्पताल मोटाउन काम गर्ने पदाधिकारीहरुले नमस्कार गरेको सुन्नुभयो कि उक्त अस्पतालका प्रायश स्वास्थ्यकर्मीको, कर्मचारीको व्यवहारबाट रोएका सर्वसाधारणहरुको कुरा पनि सुन्नुभयो ? मुख्यमन्त्रीज्यू उक्त अस्पतालभित्र पस्दा कमिशनको चक्करमा बर्षौदेखि बन्न नसकेको वा नबनाईएको सिटी स्क्यान मेशिनको अनुगमन गर्नुभयो कि नाई ? त्यस्को बारेमा के भएको हो त्यहाँका पदाधिकारीहरुसग सोध्नुभयो कि नाई ? ”डाक्टर खत्री अन्य प्राईभेट अस्पतालको सिटी स्क्यान मेशिन त धेरै समयसम चल्छ हाम्रो मेशिन किन बनेन , किन बनाईएन ? ” भनेर निर्दशक प्रा.डा.भरतबहादुर खत्रीसित प्रश्न गर्नुभयो कि नाई ?

मलाई पुरापुर विश्वास छ तपाईले केहि पदाधिकारीहरको नमस्कार गरे कि गरेनन् भन्दा अरु केहि अनुगमन गर्नुभएन गरेको भए आजसम्म पनि अस्पतालको त्यस्तो हालत हुने नै थिएन त्यसैले मुख्यमन्त्रीज्यूलाई मेरो पुनः प्रश्न गण्डकी अस्पताल वा हालको प्रतिष्ठान पुगेर ईमरजेन्सि वार्डको विचल्ली देख्नुभएन भने आदरणिय मुख्यमन्त्रीज्यू तपाईले के अनगमन गनुृभयो ? आदरणिय मुख्यमन्त्रीज्यू तपाईले उक्त अस्पतालकोमेडिकल, वार्ड सर्जिकल वार्ड सबै कोठाचोटा, प्यासेज, छत यत्रतत्र सर्वत्र थुप्रिएका फोहोरहरुको डंगुर देख्नुभएन भने के अनुगमन गर्नुभयो ? तपाईले सिटी स्क्यान मेशिन बारे जिज्ञासा राखेर त्यस्को समस्या हल गर्न पहल गर्नुभएन भने आदरणिय मुख्यमन्त्रीज्यू तपाईले के अनुगमन गर्नुभयो ? मुख्यमन्त्रीज्यू तपाईले त्यहाँका कर्मचारीहरुले बिरामी सर्वसाधारणसग गर्ने व्यवहार हेर्नुभएन भने के अनुगमन गर्नुभयो ? तपाईले अस्पतालको सर्वसाधारणले प्रयोग गर्ने शौचालय हेर्नु भएन भने तपाईले के अनुगमन गर्नुभयो ? उक्त अस्पतालको जताततै थुपारिएको फोहोर, जताततै भत्किएको भित्तो, भुई , झ्याल, ढोका, बिरामी सुत्ने बेड, रातभर हेकिप्टर कराउदै झै कराउने लामखुट्टे अस्पताल परिसरमा नै उत्पादन गर्ने अस्पताल प्रसाशनको नितिको अनुगमन गर्नुभएन भने के अनुगमन गर्नुभयो ? घण्टौ लाईनमा बसेर धरुधुरु रोएका सर्वसाधारणहरुको पिडा सुन्नुभयो र मुख्यमन्त्रीज्यू तपाईले ? फुर्सदै छैन पक्कै सुन्नुभएन होला आखिर के सुन्नुभयो र के देख्नुभयो त मुख्यमन्त्रीज्यू तपाईले ?

दिनको लाखौ करोडौ रुपैया सर्वसाधारणबाट असुल्ने अनि सरकारबाट पनि करोडौ रकम प्राप्त गर्ने अस्पतालको विचल्ली देखेर पनि ”डाक्टर खत्री यो अस्पताल सर्वसाधारणको लागि हो, गरिब , दुःखी जनताहरु यस अस्पतालमा आउछन् अस्पताल त अलि राम्रो बनाउनुस् है , भुताहा घर जस्तो मान्छे तर्साउने जस्तो भित्ताहरु, मान्छे बेहोशै हुने ट्वाइृलेट, बाहिर सिफरिश गरे कमिशन आउछ भन्ने लोभमा नबनाईएको सिटी स्क्यान मेसिन, कर्मचारीको व्यवहार बोलिचालि, सरकारले दिएका औषधी उपचार सुविधाहरु सहज रुपमा पाउने व्यवस्था मिलाउनुस् न ” भन्नुभयो ? डाक्टर खत्रीलाई ”पोखराका अन्य अस्पताल जूतो बनाउन नसकेपनि बाहिरबाट हेर्दा एटलिष्ट तपाईको मेटोसिटी अस्पताल जस्तो बनाउनुस् न भन्नभयो ?” त्यति पनि भन्नुभएन भने माफि चाहान्छु मुख्यमन्त्रीज्यू तपाईलाई नमस्कार खाने तलतल लागेको रहेछ र गण्डकी अस्पताल अर्थात पश्चिमाञ्चल क्षेत्रिय अस्पताको अनुगमनमा निस्कनुभएको रहेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?