तनहूँमा कस्को होला जित ३ भाईको कि बैकुण्ठ न्यौपानेको ?

  • ख-
  • ख+

बैकुण्ठ न्यौपानेसग सबैलाई हराएर पनि आफु विजयी हुन सक्ने कला छ त्यति सजिलै बैकुण्ठ न्यौपानेलाई हराउन सकिएला र ? त्यति सजिलै बैकुण्ठ न्यौपाने हार्लान् र ? ३ भाईले बैकुण्ठ न्यौपानेलाई पर्छालान् र ? तमाम तनहूँ कांग्रेसीहरुको मनमा यो प्रश्न मडारिरहेको छ ?

तनहूँ । कुनै कुनै जिल्लामा नेपाली कांग्रेसकै कार्यकर्ताहरु बिच मुक्कामुक्की, पिटापिट गरेका खबरहरु बाहिरिएपनि तनहूँमा शान्तिपूर्णरुपमा जिल्लाका वडा , नगर तथा प्रदेशका निर्वाचन सम्पन्न भएकाछन् । अरु जिल्लाहरुमा जस्तै अब सबैको नजर क्षेत्रिय र जिल्ला अधिवेशनतिर सोझिएको छ ।
बाहिरबाट हेर्दा मानिसहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा त पौडेलकै हुकुम चल्छ होला भनेपनि जीवनभर कांग्रेसकै अर्का हस्ति पूर्व सह महामन्त्री गोविन्दराज जोशीसग लडाई लडिरहनु भएका नेता पौडेलले नेता जोशीलाई कांग्रेसबाट गलहत्याएपछि पनि जिल्लामा अझै चैनको सास लिन सजिलो भएको छैन । ”झिकिदे गाँडभन्दा थपिदे गाँड” भने झै केन्द्रको सभापति बन्छु भन्ने नेता पौडेलका सपना जिल्लामा नै तुषारापात हुन सक्ने प्रवल सम्भावना यसपटक पनि देखिएको छ । जस्को लागि उहाँका चिरपरिचित प्रतिद्धन्दि गोविन्दराज जोशी अहिल्यैदेखि चुनाव प्रचार गर्दै आफ्ना नेता कार्यकर्ताहरु समेटिरहनुभएको छ भने ३ भाई केन्द्रिय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई र धुव्र वाग्ले ”पौडेलदाईले खाली एउटालाई मात्र च्याप्ने ? जस्ले हामीलाई कांग्रेसको नेता नै गन्दैन उस्लाई मात्र भाँउ दिने ? अर्बौको बजेट भएको स्थानिय निकायहरुमा नेपाली कांग्रेसका प्रतिनिधिहरु हुदाँ पनि हामी केन्द्रिय सदस्यलाई एक पटक तपाईहरुको लागि केहि गर्नुपर्ने छ कि ? भनेर पनि नसोध्नेहरु नै पौडेलदाईको लागि सधै प्यारो ?” भन्दै भुत्भुताउदै राम्रैसग कम्मर कस्दै ”अहिले चाँहि पौडेलदाईलाई देखाउनुपर्छ है ! ” भन्दै लाग्नुभएको छ ।

गोविन्दराज जोशीको नेता तथा कार्यकर्ता भेटघाट अभियान र ३ भाईहरुको नेता रामचन्द पौडेल समुहका मानिसहरुलाई हराउ अभियान चल्दै गर्दा क्षेत्रिय तथा जिल्लाको अधिवेशनमा मुखमा आईसकेको छ । क्षेत्रिय तथा जिल्ला अधिवेशन नजिकिदैै गर्दा ३ भाईले क्षेत्र नं १ र २ कब्जा जमाउन अनेकन कदमहरु चाल्न थाल्नुभएको छ । हिजोसम्म पौडेल समुहका रहेर पौडेलका एकदमै विश्वासपात्र बन्नुुभएका जिल्ला कार्य समिति तनहूँका सचिव विश्व वास्तोला ३ भाईको तर्फबाट क्षेत्रिय सभापतिको उमेदवार बन्नुलाई पनि धेरैले ३ भाईको सफलताको रुपमा अर्थाएका छन् जुनकुराले ३ भाईको समुहलाई उत्साहित बनाएको छ । ”सधै कति दविएर बस्ने ? हामीले नि मौका पाउनुपर्यो नि !” भन्दै समुह परिवर्तन गरि क्षेत्र नं. १ को सभापति बन्न कस्सिनुभएका बास्तोलालाई टक्कर दिन नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्याम मौरातीलाई पौडेल समुहले अगाडि बढाउदैछ । बास्तोलाको उमेदवारीले क्षेत्र नं. १ को सभापति ३ भाईको कब्जामा जान सक्ने धेरैले अनुमान गरेका छन् जुन ३ भाईको लागि निः शुल्क प्रचार प्रसार भएको छ । केन्द्रबाट जति नै बल गरेपनि नेता पौडेलको केहि जोर नचल्ने बताउदै जिल्लामा एकछत्र राज गर्न सफल बैकुण्ठ न्यौपानेको कला र रणनितीले काम गर्यो भने श्याम मौरातीले बास्तोलालाई सजिलै मात ख्वाउन सक्ने एकथरिले बिश्लेषण गरिरहेका छन् । त्यसैगरि क्षेत्र नं. २ मा चुडामणी खनाल र कृष्णराज पण्डितबिच निकै कडा टक्कर हुने अनुमान गरिएपनि खनालको पल्ला भारि हुने प्रशस्त सम्भावना रहेको जानकारहरुको भनाई रहेकोछ ।

यसरी क्षेत्रिय अधिवेशनमा ३ भाई र पौडेलपक्षका उमेदवारहरु बिच क्षेत्रमा कडा टक्कर हुने अनुमान गरिरहेपनि सबैको नजर, ध्यान र गन्तव्य जिल्ला अधिवेशनतिर नै रहेको छ । अहिलेसम्मको रुझान र दौडधुपलाई नियाल्दा नेपाली कांग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपाने र कार्यवाहक सभापति जितप्रकाश आलेबिच प्रतिष्पर्धा हुने लगभग लगभग पक्कापक्कि नै भएको छ जुनकुराले रामचन्द्र पौडेलाई नराम्ररी पिरोलेको छ ।

तनहूँमा रामचन्द्र पौडेल भन्नु नै बैकुण्ठ न्यौपाने र नेपाली कांग्रेसको लागि धेरै योगदान गरेको परिवारको सदस्य तथा कार्यवाहक सभापति जितप्रकाश आले पनि सभापतिको आकांक्षा राख्नुले नेता पौडेललाई कस्लाई रोज्ने वा दुवैलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले सताईरहेको छ । उहाँले दुवैलाई भेटेर मन बुझ्ने प्रयाश गर्दा दुवैको चाहना सभापति नै रहेको र उक्त निर्णयबाट दुवै टसको मस नहुने प्रवल सम्भावना देखेकोले नेता पौडेल निकट मानिसले नेता पौडेललाई दुईवटा सल्लाह सुझाउनुभएको छ सल्लाह नं. १ यसपटक पनि बैकुण्ठ न्यौपानेलाई नै जिल्ला सभापति बनाउने र जितप्रकाश आलेलाई राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार बनाउने । सल्लाह नम्बर २ जितप्रकाशलाई सभापति बनाएर बैकुण्ठ न्यौपानेलाई गण्डकी प्रदेश सभापति बनाउने । जितप्रकाश आले माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार बनाउने उधारो सहमतिमा राजी नभएको र सल्लाह नं. नम्बर २ अनुसार बैकुण्ठ न्यौपानेलाई गण्डकी प्रदेशको सभापति बनाउन पनि सजिलो नभएको कारण वरिष्ठ नेता पौडेलललाई ”भुईको टिप्न त परै जावोस् पोल्टाकै सम्हाल्न कठिन ” भईरहेको अवस्था पुग्नुभएको छ ।

जितप्रकाश ३ भाईको समुहबाट सभापतिको उमेदवार हुने र क्षेत्र नं २ मा आलेको राम्रो प्रभाव भएको कारण ३ भाईको पौडेल विरोधी समुह निकै हौसिएको छ तर पनि तनहूँ कांग्रेसको नेता, कुटिल तथा चतुर राजनितिक खेलाडि तनहूँ कांग्रेसका सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई जितप्रकाश आलेको काँधमा बन्दुक राखेर ३ भाईले कसरी पर्छालान् हेर्न सबैले प्रतिक्षा गरिरहेका छन् र चोक चोकमा भनिरहेका छन् बैकुण्ठ न्यौपानेसग सबैलाई हराएर पनि आफु विजयी हुन सक्ने कला छ त्यति सजिलै बैकुण्ठ न्यौपानेलाई हराउन सकिएला र ? त्यति सजिलै बैकुण्ठ न्यौपाने हार्लान् र ? ३ भाई र बैकुण्ठ न्यौपानेको परिक्षाको घण्टि बज्न केहि दिन बाँकि छ । ३ भाईले बैकुण्ठ न्यौपानेलाई पर्छाछन् कि विगतमा झै बैकुण्ठ न्यौपाने ३ भाई माथि भारि हुन्छन् ? त्यो हेर्न र सुन्न सबैजना मंसिर १० को प्रतिक्षा गरिरहेको छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्