सार्वजनिक जग्गामा बनेका ट्वाईलेट र टहरा भत्काउने व्यासले विल्डिगं भत्काउला कि नाई ?

  • ख-
  • ख+

एकदिन म ति विद्धानलाई गर्वका साथ खित्का छोड्दै जिस्क्याउदै भन्नेछु ”देख्नुभो त नगरपालिकाका जनप्रतिनिधिको पावर ! ” तर मलाई पुरापुर विश्वास छ त्यो दिन कहिल्यै आउनेछैन ।

तनहूँ । व्यास नगरपालिकाले सार्वजनिक जग्गा मिचि बनाएका घर टहरा नहटाए १५ दिनभित्र हटाउने सूचना निकालेको महिना दिनभन्दा अलिपछि दमौली बजारमा केहि टहरा भत्काएको समाचार देखेर दमौलीका एक जना विद्धानले ”पत्रकारज्यू नगरपालिकाले उहिल्यै सार्वजनिक जग्गामा बनाएका बिल्डिगंहरु भत्काउला भनेको त त्यो ट्वाईलेट ? त्यो टहरो ? अनि तपाईहरुले त्यस्लाई नगरपालिकाले गरेको महान कार्य भनेर छाँप्नुभयो ? ” भन्दै खित्का छोडेर हाँस्नुभयो ।
व्यास नगरपालिका पौष २२ गतेको नियमित बैठकबाट एउटा महत्वपूर्ण निर्णय गरेको प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो जस्को ८ नम्बरमा लेखिएको थियो ”व्यास नगरपालिकाभित्र सार्वजनिक जग्गा मिचि घर टहरा बनाएको गुनासो आएकोले त्यस्ता घर टहराहरको पहिचान गरि १५ दिनभित्र हटाउन लगाउने र नहटाएमा नगरपालिकाको तर्फबाट घर टहरा हटाउने निर्णय गरियो ।”

म्याद सकिएपछि नगरपालिकाले कतै कतै घर टहरो भत्काएझै गरेको छ । होला केहि टहराहरु भत्किए होलान् , केहिका टवाईलेटदेखि, गाडि राख्ने ग्यारेजका टिनका छानाहरु भत्काईए होलान् । के त्यतिमै सकिएको हो त नगरपालिकाको काम ? कि भुमि आयोगले लालपुर्जा बाड्ने तयारी गरिरहदा सानातिना टहरा भत्काएझै गरेर रोपनीका रोपनी हडप्नेहरुलाई आधिकारिक बनाउन खोजिएको हो ? कि अलि अलि बचेको दमौली बजारकै मुल्यवान जग्गा आफ्नो नाममा पार्न हिजोदेखि कसरत गरिरहेकाहरुलाई आधिकारिक बनाउन यो प्रयास गरिएको हो ? नत्र खोला, खोल्सि, नदिनाला मिचेर बनाईका घर टहराहरु भत्किएका छैनन् त ! कि तिनलाई लालपुर्जा दिनको लागि ध्यान अर्कोतिर मोड्न सानातिना टहरा भत्काईएको हो ? यदि साच्चै दमौली क्षेत्रको जग्गा जमिन खोज्ने हो भने ०५४ सालभन्दा अगाडिको नापिको नक्शा हेरौ अनि कति थियो दमौली बजारको सार्वजनिक जग्गा अनि खोजौ न ! नत्र निर्वाचन आउदैछ टोलवासीलाई ‘‘देख्यौ त हामीले गर्यौ नि” भन्ने पार्न र यता केहि रोपनी जोगाएर अर्को तिरको सयौ रोपनी हडप्न दिने दाउ पो हो कि ?
व्यास नगरपालिकाभित्र सार्वजनिक जग्गा जमिन मिचि घर टहरा बनाएको गुनासो आएकोले त्यस्ता घर टहराहरुको पहिचान गरि १५ दिनभित्र हटाउन लगाउने र नहटाएमा नगरपालिकाको तर्फबाट घर टहरा हटाउने निर्णय गरियो भन्ने निर्णय गर्न त जनप्रतिनिधिहरुलाई पौने ५ बर्ष लाग्यो भने हराएका दमौलीका जग्गाहरु खोज्न कति बर्ष लाग्ला ? खोल्सि किनारबाट १ मिटर, खोला किनारबाट १५ मिटर र नदि किनारबाट ५० मिटर नछोडिकन बनाईएका जुनसुकै संरचनाहरु भत्काउन नगरपालिकालाई कसैले उजुरी गर्नुपर्ला कि नगरपालिका आफैले देख्ला ? फुटपाथमा नाग्लो पसलेको नांग्लो देख्ने नगरपालिकाले नियम मिचेर बनाएका घरहरु देख्ला कि नदेख्ला ?
सार्वजनिक जग्गा जमिन जोगाउन खोज्ने नगरपालिकाले चलाएको कदम एकदमै सरहानिय छ तर के साँचो हो भने दमौलीवासी आज पनि कलकल पानी बग्ने त्यो डांग्रेखोल्सि हेर्न चाहन्छ, दमौलीवासी आज पनि उर्लदै बगेको त्यो बुल्दिखोलाको बगर हेर्न चाहन्छ र मादि सेतीको आफ्नो भुभाग अरु कसैको होईन आफ्नै बनाउन चाहन्छ ।
के अब हामीले व्यासमा खोल्सि किनारबाट १ मिटर , खोला किनारबाट १५ मिटर र नदि किनारबाट ५० मिटर नछोडिकन बनाईएका जुनसुकै संरचनाहरु पनि भत्किएको देख्न पाईने हो ? नगरपालिकाले छेडेको जंग पुरा गर्नुपर्ने दायित्व आईलागेको छ नत्र राम्रो हदाहुदै पनि यस कार्यलाई चुनाव आउदैछ यसो भोट बटुल्न टहरा भत्काए झै गरौ टोलवासीलाई फकाऔं नत भनेर गरिएको प्रोपगाण्डाको रुपमा बुझिनेछ ।
अब आउने दिनमा नगरपालिकाले खोला खोल्सि, नदिनालाको मापदण्ड मिचेका , सार्वजनिक जग्गा आफ्नो नाममा गरेका धेरै घर टहरा भत्काउने छ र एकदिन म ति विद्धानलाई गर्वका साथ खित्का छोड्दै जिस्क्याउदै भन्नेछु ”देख्नुभो त नगरपालिकाका जनप्रतिनिधिको पावर ! ‘‘ तर मलाई पुरापुर विश्वास छ त्यो दिन कहिल्यै आउनेछैन । तैपनि म नहुनु मामा भन्दा कानो मामा निको भन्दै त्यो दिन आउने प्रतिक्षामा अलिअलि चित्त बुझाईरहेको छु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्