तनहूँ । व्यास नगरको प्रचारप्रसारको लागि केहि बर्ष अगाडिदेखि तनहूँको व्यास नगरपालिकाले आयोजना गर्दै आईरहेको म्याराथन प्रतियोगिता यसबर्ष पनि हुन गईरहेको छ । नगरपालिकाले चार दिनको अन्तरालमा फागुन २४ गते व्यासनगर महिला खुल्ला हाफ म्याराथन र फागुन २८ गते व्यासनगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईयो ।
खेलका माध्यमबाट व्यास क्षेत्रमा रहेका पर्यटकीय ऐतिहासिक क्षेत्रको प्रबद्धर्न गर्ने उद्देश्यले उक्त प्रतियोगिताहरु आयोजना गर्न लागिएको उक्त अवसरमा बताईएको थियो ।
व्यास नगरपालिका वडा नं. ५ मानहुँकोट देखि व्यासनगरपालिका वडा नं. ८ को पुलिमराङ शहिद पार्कसम्मको ४४ किमी दुरीमा पाँचौ व्यासनगर अल्ट्रा म्याराथन आयोजना गरिएको हो । उक्त म्याराथनमा यसबर्ष प्रथम पुरस्कार ८५ हजार ७८, द्धितीय ६५ हजार ७८,तृतीया ५५ हजार ७८ र सान्तवना पुरस्कार ५ जनालाई जनही १६ हजार ७८ का दरले प्रदान गरिने छ । त्यसैगरि व्यास नगरपालिका वडा नं. ३ व्यासगुफा देखि व्यासनगरपालिका वडा नं. ११ को तनहुँसुर दरबारसम्मको २१ किमी दुरीमा पाँच स्थानमा चेकप्वाइन्ट राखिएको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार ४१ हजार ७८, द्धितीय ३१ हजार ७८, तृतीय पुरस्कार २१ हजार ७८ र ५ जनालाई ११ हजार ७८ सानन्त्वना पुरस्कार कर बाहेक प्रदान गरिनेछ ।
त्यसैगरी यस अघिका बर्षहरुमा नारी दिवसको दिन फागुन २४ गते आयोजना गरिदै आएको व्यासनगर महिला खुल्ला हाफ म्याराथनलाई यसबर्ष पनि निरन्तरता दिन लागिएको हो ।
उक्त पत्रकार सम्मेलनमा व्यास नगरका प्रमुख बैकुण्ठ न्यौपाने, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यासनगरपालिकाकी उपप्रमुख मीरा जोशी लगायतका विभिन्न वडाका अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।
उक्त म्याराथनको लागि तयारी अन्तिम चरणमा रहेको खेलकूद विकास समितिका अध्यक्ष एवं व्यास ५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभएको थियो ।








