आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृह जिल्ला तनहुँमा विभिन्न कार्यक्रमसहित मनाइने भएको छ । भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो ।
भानु नगरपालिकाका प्रमुख एवं भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा सोमबार बसेको बैठकले आगामी असार २७, २८ र २९ गतेसम्म २१३औँ भानुजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
असार २७ गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठमन्दिरमा पूजाअर्चना गरिनेछ । असार २८ गते भानुभक्तीय रामायण वाचन÷पाठ प्रतियोगिता आयोजना गरिनेछ भने साँझ साहित्यकार, कवि तथा स्रष्टाहरूको सहभागितामा विशेष कवि गोष्ठी हुनेछ । साथै असार २९ गते बिहान भानुभक्तको शालिकमा माल्यार्पणपछि झाँकीसहितको प्रभातफेरी निकाल्ने कार्यक्रम तय भएको छ । । त्यसपछि कविता वाचन, भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा भानु जन्मस्थलको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका विषयमा संवाद कार्यक्रम सञ्चालन गरिनेछ ।
तनहुँको चुँदि रम्घामा विक्रम संवत् १८७१ असार २९ गते जन्मिनुभएका आदिकवि भानुभक्त आचार्यको विक्रम संवत् १९२५ असोज ६ गते निधन भएको थियो ।












