तनहुँ । नेपाली कांग्रेस व्यास नगर सभापतिका लागि युवा नेता सरोज भण्डारीले उम्मेदवारी घोषणा गरेसँगै नगर नेतृत्वको दौडमा नयाँ चर्चा सुरु भएको छ।

व्यास नगरपालिका–४ का वडा सदस्यसमेत रहेका भण्डारीले औपचारिक रूपमा नगर सभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छा्। उम्मेदवारी घोषणा गरेसँगै उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँगको भेटघाटलाई तीव्र बनाएका छन्।

युवा नेतृत्वमार्फत पार्टी संगठनलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको भण्डारीले बताएका छन्। उनले नगरभित्रका विभिन्न वडा तथा पार्टीका नेता–कार्यकर्तासँग छलफल गर्दै आफ्नो उम्मेदवारीका विषयमा समर्थन जुटाउने अभियान अघि बढाएका छन्।

भण्डारीको उम्मेदवारीसँगै नेपाली कांग्रेस व्यास नगरको आगामी नेतृत्वमा युवा पुस्ताको दाबी बलियो रूपमा प्रस्तुत भएको छ। नगर सभापतिका लागि अन्य आकांक्षीसमेत मैदानमा आउन सक्ने भएकाले आगामी दिनमा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

व्यास नगर कांग्रेसको नेतृत्वमा पुग्न भण्डारीले पार्टीभित्र कस्तो समर्थन जुटाउन सक्छन् भन्ने विषयलाई अहिले चासोका साथ हेरिएको छ। वडा तहदेखि नगर तहसम्मको संगठनात्मक समीकरण र नेता–कार्यकर्ताको समर्थनले उनको सभापतिको यात्रा तय गर्नेछ।