तनहुँ । प्रजातन्त्र तथा बिकास केन्द्र अन्तर्गत Little Sister’s Fund द्वारा संचालित E4E ( Education For Empowerment ) को प्रतिनिधित्व गर्दै E4E तनहुँ जिल्लाका CM ( Co-ordinating Mentor ) फुलमाया नेपालीले भोटेकोशीमा आएको बाढीमा परेर हराइरहनुभएकी व्यास -५ साँगे सेराकी कृति कुमालको परीवारलाई राहत रकम हस्तान्तरण गर्नुभएको छ।
कृति कुमालले E4E द्वारा संचालित छात्रवृतिमा कक्षा १ देखि १२ सम्म अध्ययन गर्नुभएको थियो। कक्षा १२ पास भएपछी नेपाली सेनामा भर्ना हुनुभएर टिमुरे स्थित ब्यारेकमा कार्यरत कृति कुमाल भदौ १० गतेको भोटेकोशी बाढी पश्चात सम्पर्क बिहिन हुनुहुन्छ ।
देश भरीका करीब ४ हजार छोरीहरुलाई निशुल्क शिक्षाका साथै शैक्षिक सामाग्री र पोशाक उपलब्ध गराइरहेको संस्था E4E का निर्देशक उषा आचार्यले कृति कुमालकी आमा सुकुमाया कुमालसँग फोन सम्पर्क गरी धैर्य धारण गर्न अनुरोध गर्दै छोरीको सकुशल उद्दारको कामना गर्नुभएको थियो।
कृति कुमालका पिता अम्बरबहादुर कुमाल दुबईमा कार्यरत हुनुहुन्थ्यो। उक्त घटनापछि उहाँ नेपाल फर्किनुभएको छ। उहाँ छोरीको खोजतलासको लागि त्रिशुली सम्म पुगे पनि यातायातको कठिनाईको कारण टिमुरेसम्म पुग्न असमर्थ भई फर्किनुभएको थियो भने अब छिट्टै अन्य व्यवस्थापन गरेर टिमुरे जाने तरखरमा हुनुहुन्छ। कृति कुमालको परिवारमा हजुरबुबा हजुर आमा , आमा, बाबु र एउटा भाई हुनुहुन्छ।