काठमाडौं । प्रतिनिधिसभा सदस्य ई. श्रीराम न्यौपानेले सम्पत्ति विवरण नबुझाउने सांसदहरूको सूचीमा आफ्नो नाम समावेश भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण दिएका छन्।

न्यौपानेले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २० गते आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ र चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धार कार्यमा निरन्तर खटिनुपरेकाले समयमै सम्पत्ति विवरण बुझाउन नसकेको बताएका छन्।

उनका अनुसार भदौ २३ गतेदेखि २९ गतेसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा र त्यसपछि भदौ ३० गतेसम्म चिलिमे जलविद्युत् आयोजनामा स्वयं उद्धार तथा समन्वय कार्यका लागि सम्बन्धित साइटमै उपस्थित थिए।

सम्पत्ति विवरण बुझाउने अन्तिम मिति भदौ २९ गते रहेको अवस्थामा चिलिमे जलविद्युत् आयोजना स्थलमै रहेका बेला आफ्ना स्वकीय सचिवमार्फत संसद् सचिवालयको सम्बन्धित शाखामा सम्पर्क गरी विवरण बुझाउने विषयमा जानकारी लिएको उनले उल्लेख गरेका छन्।

उक्त क्रममा प्रचलित व्यवस्थाअनुसार ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन सकिने तर निर्धारित समयमा बुझाउन नसकेको कारण खुलाउँदै निवेदनसहित विवरण पेश गर्न सकिने जानकारी प्राप्त भएको उनको भनाइ छ।

न्यौपानेले सोही जानकारीअनुसार निर्धारित समयमा सम्पत्ति विवरण बुझाउन नसक्नुको कारण उल्लेख गर्दै बिहीबार निवेदनसहित सम्पत्ति विवरण पेश गरिसकेको जानकारी गराएका छन्।

उनले सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिका रूपमा कानून र स्थापित प्रक्रियाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको जनाउँदै उद्धार कार्यमा खटिनुपरेका कारण भएको ढिलाइलाई अन्यथा नबुझिदिन तथा यस विषयमा यथार्थ जानकारी सम्प्रेषण गरिदिन सञ्चारमाध्यम र सरोकारवालासँग आग्रह गरेका छन्।

विज्ञप्तिको अन्त्यमा उनले सम्पत्ति विवरण बुझाउन ढिलाइ भएको विषयमा स्पष्टता दिँदै आजै विवरण पेश गरिसकेको पुनः जानकारी गराएका छन्।