तनहुँ । कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिन तनहुँ व्यासभूमि यातायात प्रा.लि. अन्तर्गत डिहिगाउँ, शेरा, बेल्टारी, जामुने, फराकचौर र ज्यामिरे क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायीहरूले बुवाको सम्मानसँगै सामाजिक सेवाको उदाहरण प्रस्तुत गरेका छन्।
कुशे औँसीका अवसरमा केक काटेर गरिने खर्चलाई विपद्मा परेका नागरिकको सहयोगमा लगाउने उद्देश्यले व्यवसायीहरूले रु. ९ हजार ५ सय रसुवा बाढीपहिरो पीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्यूआरमार्फत जम्मा गरेका हुन्।
चाडपर्व र व्यक्तिगत खुसीमा हुने खर्चलाई विपद्मा परेका नागरिकको राहतमा समर्पित गर्दै व्यवसायीहरूले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूले सहयोगको रकमभन्दा पनि त्यसपछाडिको भावना महत्वपूर्ण हुने बताएका छन्।
सहयोग अभियानमा वसन्त बहादुर अधिकारी, केशर बहादुर अधिकारी, मोहन बि. क., जित बहादुर सुर्खाली, कृष्ण ओझा, शिवु दरै, सिद्धार्थ गुरुङ, सागर बि. क., धिर बहादुर राना, खिल बहादुर ढकाल, कृष्ण बहादुर कुँवर, राम कुमार श्रेष्ठ, बुद्धि कुमार श्रेष्ठ, कुमार दरै, सुमन नेपाली, पुरण आले, भिम थपलिया र विश्व कार्की सहभागी भएका छन्।
सहयोगदाताहरूले विपद्को समयमा सानो–ठूलो नभनी आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने सन्देश दिएका छन्।
बुवाको आशीर्वादसँगै विपद्मा परेका नागरिकप्रति सहयोगी हात बढाउनु—कुशे औँसीलाई सार्थक बनाउने सुन्दर उदाहरण बनेको छ।














