तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत व्यास नगर सभापति चयनको प्रक्रिया अघि बढ्दै जाँदा नगरको कांग्रेस राजनीति थप रोचक बनेको छ। सभापति पदका लागि एक–दुई होइन, आठ जना आकांक्षी मैदानमा देखिएपछि नेतृत्व चयन सहमतिबाट गर्ने कि निर्वाचनमा जाने भन्ने विषय पेचिलो बनेको हो।

व्यास नगर सभापतिका लागि व्यास–४ का वडा सदस्य सरोज भण्डारी, व्यास–९ का वडाध्यक्ष सुरेश थापा, तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बैकुण्ठ नाथ मिश्र, युवा नेता प्रताप गुरुङ, व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास–६ का वडाध्यक्ष कुमार गुरुङ ९जीवन०, युवा नेता हरि खनाल, व्यास–१० का वडाध्यक्ष खेमराज पोख्रेल र व्यास–१० का निवर्तमान अध्यक्ष तुलसी सापकोटा आकांक्षीका रूपमा देखिएका छन्।

आकांक्षीहरू आ–आफ्नो पक्षमा समर्थन जुटाउन नेता तथा कार्यकर्तासँग भेटघाट र छलफलमा सक्रिय छन्। केहीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने केही आकांक्षीले आन्तरिक रूपमा आफ्नो तयारी अघि बढाइरहेका छन्।

सबैको नजर बैकुण्ठ न्यौपानेतिर

आठ आकांक्षीबीच प्रतिस्पर्धाको तयारी भइरहँदा व्यास कांग्रेसभित्र भने एउटा नामको भूमिका महत्वपूर्ण देखिएको छ—वैकुण्ठ न्यौपाने।

न्यौपाने हाल व्यास नगरपालिकाका नगरप्रमुख छन्।

नगरको राजनीतिक तथा संगठनात्मक गतिविधिमा लामो समयदेखि प्रभाव राख्दै आएका न्यौपानेको समर्थन कसलाई हुन्छ भन्ने विषयलाई आकांक्षीहरूले पनि चासोका साथ हेरेका छन्। त्यसैले सभापतिका आकांक्षीहरूबीच आफ्नो पक्षमा समर्थन जुटाउने प्रतिस्पर्धासँगै न्यौपानेसँगको राजनीतिक सम्बन्ध र उनको धारणा पनि चर्चाको विषय बनेको छ।

व्यास कांग्रेसभित्रको समीकरणमा न्यौपानेको समर्थनले प्रभाव पार्न सक्ने बुझाइका कारण आकांक्षीहरू उनीसँगको संवाद र सम्बन्धलाई महत्व दिइरहेका छन्। तर, न्यौपानेले कसैलाई समर्थन गर्ने वा नगर्ने विषयमा सार्वजनिक रूपमा स्पष्ट धारणा दिएको पुष्टि भने भएको छैन। त्यसैले अहिले नै कुनै एक आकांक्षीले उनको समर्थन पाउने निश्चित भएको भन्न सकिने अवस्था छैन।

 कसले पाउला बैकुण्ठ न्यौपानेको ‘आशीर्वाद’?

आकांक्षीहरूबीच सहमतिको प्रयास भइरहे पनि आठ जनाले नै आफ्नो दाबी नछाडेमा निर्वाचनको सम्भावना बढ्नेछ। यस्तो अवस्थामा वडा तहका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि तथा नगरका प्रभावशाली नेताहरूको भूमिका महत्वपूर्ण बन्न सक्छ।

त्यसैले अहिले व्यास कांग्रेसमा एउटा प्रश्न चर्चामा छ—आठ आकांक्षीमध्ये कसले अन्तिमसम्म आफ्नो दाबी कायम राख्ला र कसले कसलाई समर्थन गर्ला ?

त्यसभन्दा पनि चासोको विषय भनेको वैकुण्ठ न्यौपानेको रोजाइ के होला ? भन्ने बनेको छ।

यद्यपि न्यौपानेको समर्थन मात्रै निर्णायक हुने अवस्था हो कि होइन भन्ने कुरा निर्वाचनको संरचना, प्रतिनिधिहरूको समीकरण र आकांक्षीहरूको व्यक्तिगत संगठनमा निर्भर रहनेछ। विगतको राजनीतिक प्रभावका कारण उनको धारणा महत्वपूर्ण मानिए पनि त्यसलाई नै परिणामको निश्चित आधारका रूपमा लिन भने सकिँदैन।

युवा र अनुभवी दुवै समूहको दाबी

यसपटकको दौडमा वडा तहमा सक्रिय रहेका जनप्रतिनिधिदेखि उद्योग व्यवसाय क्षेत्रको अनुभव भएका र लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय नेतासम्म आकांक्षी छन्।

अघिल्ला नगर सभापति जस्तै यसपटक पनि केहि ३० कटेका र केहि पचास कटेका युवा जोश र जाँगरले भरिएका उमेदवारहरुले स्थानीय सरकारमा जनप्रतिनिधिका रूपमा काम गरिरहेका सुरेश थापा, जीवन गुरुङ (कुमार), खेमराज पोख्रेल र सरोज भण्डारी दौडमा छन् भने बैकुण्ठ नाथ मिश्र, प्रताप गुरुङ, हरि खनाल र तुलसी सापकोटा पनि आफ्नो राजनीतिक तथा सामाजिक अनुभवका आधारमा दाबी प्रस्तुत गरिरहेका छन्।

सहमति कि निर्वाचन ?

आठ आकांक्षी देखिएपछि कांग्रेसका स्थानीय नेताहरूका लागि सबैभन्दा ठूलो चुनौती आकांक्षी व्यवस्थापन बनेको छ। एउटै व्यक्तिको नाममा सहमति जुटाउन नसकिए आकांक्षीहरूबीच प्रतिस्पर्धा हुने निश्चितप्रायः छ। तर, अन्तिम समयसम्म छलफल गरेर सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भने जारी रहने देखिन्छ।

व्यास कांग्रेसको संगठनमा नगर सभापतिको पद आगामी स्थानीय राजनीतिक समीकरणका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। त्यसैले अहिलेको प्रतिस्पर्धा केवल नगर सभापति चयनमा सीमित नभई आगामी दिनको संगठनात्मक शक्ति सन्तुलनसँग समेत जोडिएर हेरिएको छ।