चितवन । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ चितवनका पूर्व जिल्ला सचिव कमल मिश्रले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा युवा तर्फबाट बाग्मती प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् ।
विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय मिश्रले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर उम्मेदवारी दिएको बताएका छन् ।
मिश्र नेपाल विद्यार्थी संघ चितवनमा रहेर लामो समयदेखि विद्यार्थी तथा युवा संगठन निर्माणमा सक्रिय रहँदै आएका छन् । उनले पार्टीभित्र युवाको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
उनले कांग्रेसको संगठनलाई समयअनुकूल बनाउँदै युवाको क्षमता, ऊर्जा र सिर्जनशीलतालाई पार्टी निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
बाग्मती प्रदेश प्रतिनिधिका रूपमा निर्वाचित भएमा युवाका मुद्दालाई पार्टीको नीति तथा नेतृत्व तहसम्म प्रभावकारी रूपमा उठाउने र संगठनलाई थप गतिशील बनाउन भूमिका खेल्ने मिश्रले बताएका छन् ।
तनहुँको व्यास नगरपालिका वडा नं १० सेवरमा जन्मस्थान भई हाल कालिका नगरपालिका वडा नं ६ चितवनका बासिन्दा मिश्रको उम्मेदवारीसँगै कांग्रेसको १५औं महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व र नेतृत्व विकासको विषय पनि चर्चामा आएको छ।









