डियर मान्छेलाई चिठ्ठी

  • ख-
  • ख+

(लेखकः नबराज क्षितिज)

कोरोना कहरको दोश्रो लहरले देश आक्रान्त छ । जनताहरू अकालमा ज्यान गुमाइरहेका छन् । सारा शहर तथा बाटाघाटाहरू बन्द भइ शोक मनाइरहेका छन् । तिमी कोशौं पर छौ तर पनि खै कहाँबाट तिम्रो याद फूत्त आइपुग्छ मेरो मनभरी र मनको वारि भित्ता र पारी भित्तामा तिम्रो यादहरूको शिखर सम्मेलन चलिरहन्छ ।

हाम्रो कुरा नभएको पनि धेरै नै भएछ । सरकारले कोरोनाको दोश्रो लहर नियन्त्रण गर्न भनी, निषेधाज्ञा लागू गर्ने भएपछि हामी काठमाडौं छोडी आ आफ्नो घर लाग्यौं ।

डियर मान्छे ! तिमीसँग बिताएका टुक्राटुक्री पलहरू एकै ठाउँमा गाँसेर सम्झिरहेछु आजभोली । केही भन्न हुने सम्झनाहरू, केही भन्न नहुने सम्झनाहरू ।

बितेका १० दिन देखि म पनि कोरोनाको दोश्रो लहरबाट अछुतो रहिरहन सकिन । तिमी पनि प्रतिबाद गर्न नसकेपछि कोरोनासँग जुध्दै छौ रे भनेको सुनेर दुः ख लागिरहेछ । तिमी र म जस्ता कयौं नेपालीहरुलाई कोरोनाले आफ्नो काबुमा राखिसकेको छ ।

विश्वब्यापी रुपमा फैलिरहेको कोरोना कहरको दोश्रो लहरबारे सरकारलाई थाह हुँदाहुँदै पनि उचित ब्यबस्थापन गर्न नसक्नु सरकारको लाचारीपन हो , ठूलो कमजोरी हो । पर्याप्त समय हुँदासम्म सत्ता र कुर्सीका लागि आफ्नै पार्टीका नेताहरुसँग प्रतिसोध साँधिरर्हो।

यतिबेला सारा नेपाली जनतालाई कोरोनासँग लड्न जवरजस्ती युद्धमैदानमा धकेलिदिएको छ सरकारले । युद्दमा होमिएपछि अहिंसा चाहेर हुन्छ र ? त्यसैको प्रतिफल स्वरुप औसतमा दैनिक ८ हजार ५०० जना घाइते भैरहेकाछन् भने दैनिक २०० जनाले यहि युद्दमा परी सहादत प्राप्त गरिरहेका छन् । डियर मान्छे ! बिना अस्त्रको युद्द झन् कति खतरनाक हुँदोरहेछ है !

हुन त राजनीति आफैमा नराम्रो होइन, तर नेपालमा राजनीति गर्नेहरूले सत्ता, शक्ति र कुर्सी बाहेक जनताको रोग, भोक र दुः खलाई कहिल्यै पनि चिनेनन् । जनतालाई अहिले रोग, भोक र शोकको बाघले लखेटिरहेको छ । जनता अक्सिजन सिलिन्डर मागिरहेका छन्, सरकार चुनाव दिइरहेको छ । जनतालाई अक्सिजन चाहिएको हो चुनाव चाहिएको होइन । जनतालाई भेण्टिलेटर चाहिएको छ, मतपत्र होइन ।

तिमिलाई थाह छ ? राजनीति गर्ने बहानामा यीनीहरुले पटकपटक नेपाली जनतालाई लुटिरहेका छन् ,सत्तामा र कुर्सीमा बस्नेहरूले । कहिले बहुदलको नाममा , कहिले लोकतन्त्रको नाममा, कहिले गणतन्त्रको नाममा, कहिले संघियताको नाममा, कहिले बहुमत र अल्पमतको नाममा । हामी जनता सँधैं यिनिहरूबाट लुटिरहने हो र ? डियर मान्छे !

सरकारले आगामी कार्तिक २६ र मंशिर ३ गते चुनाव घोषणा गरेको छ । चुनाबका लागि सरकार ४० अर्ब रुपैयाँ खर्च गर्न तयार छ भनेर कुनै पत्रिकामा आज पढेको थिएँ । ४० अर्बको कोरोना खोप ल्याएर सारा नेपाली जनतालाई खोप लगाइदिन सरकारसँग आग्रह गरिए पनि त्यो पर्दैन भन्ने उत्तर आउँछ । आजभोलि सरकारसँग रेडिमेड उत्तर जो छ ।

आगामी चुनावमा भोट हाल्न पनि जनता बचाउनुपर्छ भनेर कहिल्यै सोचेन सरकारले । त्यसैले डियर मान्छे ! हामीले नो भ्याक्सीन् नो भोट भनेर बसौं । हाम्रा छिमेकिलाई पनि त्यही कुराको बारेमा जानकारी गराऔं ।

मनमा देश बोकेर अरबका तातो घाममा पसिना बगाइरहेका नेपाली युवाहरूले बरू नेपाली जनता अक्सिजन अभावमा मर्नु नपरोस भनेर अक्सिजन सिलिन्डर पठाइदिए । नेपालमा सरकारले के गरे ? मध्यरातमा संसद बिघटनको सिफारिस गरी राष्ट्रपतिसमक्ष पेश गरे । जुन कुरा दिनमा गर्न लाज हुन्छ नि , त्यही काम मध्यरातमा गर्ने हो सरकारले त्यही गरे

त्यसो त त्यसो, बिदेशीले निः शुल्क दिएको खोप पनि कमिशनमा भागबन्डा नमिले पछि ल्याएनन् भन्ने खबर पनि आएको छ। हामी जनता र सिष्टम बीचको माफिया दलालहरूलाई नाङ्गो बनाई सिंहदरबारका गेट अगाडि घिसार्न मन लागिरहेछ डियर मान्छे ।

तिमी भन्ने गर्थ्यै नि ! जबसम्म पिसीआर टेष्ट निः शुल्क र सर्वशुलभ गरिदैन , तबसम्म यो कोरोनालाई नियन्त्रण गर्न कठिन छ भनेर । दिनमा कमाएर साँझ रमाउने निम्न बर्गहरूसँग छाक टार्न नै गाह्रो भैरहेको बेला कसरी पैसा तिरेर पि. सी. आर. टेष्ट गर्न जान्छन् ? उनिहरूलाई रोग भन्दा भोक ठूलो हुन्छ । यस्ता स(साना कुराहरू पनि सोच्न नसक्ने सरकारको टाउको फोरेर मगज चेक गर्न मन लागिरहेछ , आजभोलि ।

नेपाली राजनीतिको केन्द्रमा पुगेकाहरू सबै नेताहरू गलत साबित भए । गलतै गलतहरूको समाज कहिल्यै खुसी र सुखी हुन सक्दैन । शास्त्रीय कथन अनुसार निन्दनीय कार्यमा संलग्न रहेका र विबेक हराएका गुरुहरुलाई त्यागीदिए हुन्छ । यसरी नै विबेक हराएका र विबेक शुन्य भएका गलत नेताहरूलाई किन नेता मान्नुपर्छ र ?

कोरोना नियन्त्रण गर्ने बहानामा गरेको निषेधाज्ञाको कारण बिहान काम गरि साँझ छाक टार्ने धेरै जनताहरूले आत्महत्या गर्ने बेला भैसक्यो । यो देशका निकम्मा दलका नेता र सरकारले गरीबको झुपडीमा आगो लगाएर मन्दिरमा धुप बालिरहेका छन् । सरकार हामी जनतालाई चुसी चुसी अघाएको छ , अघाएका सरकारले भोकाएका जनताको पिडालाई बुझ्दै बुझ्दैन । भोक नलागेको सरकारले भोकाएका जनताहरूप्रती भात पकाउन किन हतार गर्थ्यो र ?

डियर मान्छे ! तिमिसँग यस्तै यस्तै धेरै कुराहरू गर्न मन छ धित मरुन्जेल । तर समय हाम्रो अगाडि पहाड बनेर उभिदिएको छ । भेट हुन यो बेला असम्भव प्रायः छ । हुन त कछुवाले आफ्नो अङ्गहरूलाई खुम्च्याएर खप्पर भित्र समेट्छ नि, त्यसरी नै हामीले हाम्रो चाहनाहरूलाई खुम्च्याएर बस्नुपरेको छ , कोरनाको कहरले गर्दा । त्यसैले अत्यन्त सजक बनौं । यो महामारीमा बाँच्न सकियो भने पक्कै पनि नाच्ने दिन आउनेछ डियर मान्छे !

नबराज क्षितिज
तनहूँ ( हाल चितवन )
(लेखकका निजी बिचारहरु हुन् ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्