त्यसो त प्रदेश तथा संघिय निर्वाचनमा तनहूँ जिल्ला कम्युनिष्ट गढको रुपमा स्थापित भएपनि नेपाली कांग्रेस आज पनि तनहुँ जिल्लालाई कांग्रेसको गढको रुपमा चिनाउन चाहन्छ । झन् कम्युनिष्ट पार्टी टुक्रिएर पानी बाराबारको अवस्था उत्पन्न भएपछि त तनहूँका स्थानिय तहका १० वटा सिटमा १० वटै सिट कव्जा गर्नुपर्छ भनेर तनहूँको नेपाली कांग्रेस जागेको छ तर बिशेष गरि आफुलाई सुरक्षित गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको सुगा रटाई गठबन्धनबाट तनहूँ कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ताहरुलाई गलसाँसो हुने पक्कापक्की छ ।
१० वटा स्थानिय तहहरु मध्ये व्यास, भिमाद, भानु, म्याग्दे, देवघाट रिसिगं र घिरिगंमा गठबन्धनका सहयात्री नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीलाई यसो एक दुई वटा वडा सदस्य दिएर सजिलै मनाउन सकिएला तर बन्दिपुर, आँबुखैरेनी, शुक्लागण्डकीमा काँटेकी टक्कर हुने पक्कापक्की छ ।
तनहूँको सुन्दर गाँउपालिकाको अध्यक्षमा यतिबेला नेकपा माओवादी केन्द्रका पुर्णसिंं थापा विराजमान हुनुहुन्छ । गत स्थानिय निर्वाचनमा कांग्रेसीहरुको मनमुटाव र अन्र्तघातबाट माओवादीले जितेको हो भन्ने ठोकुवा गर्ने कांग्रेसी नेताहरुबिच उक्त अन्तर्घात सम्झिएर अहिले पनि बोलचाल नभएको अवस्था कसैबाट लुकेको छैन । अहिले त झन् कम्युनिष्ट पार्टी फुटेको हुनाले हाम्रो विजयलाई कसैले रोक्न सक्दैन भन्दै नेपाली कांग्रेस बन्दिपुर गठबन्धनका अरु दललाई गाँउपालिका अध्यक्ष, उपाध्यक्ष त परै जावोस् ६ वटै वडा कतै पनि ढिम्किन नदिईकन पुरै बन्दिपुर कब्जा गर्ने प्लानमा छ । भने माओवादी केन्द्र अब हाम्रो हो बन्दिपुर भनेको अरुले नआँटे हुन्छ , अन्त कहाँ के दिनुपर्छ दिँउला बन्दिपुर सबै हाम्रो हो र हुनुपर्छ भन्ने कुरामा अडिग रहेको छ । दुवैको आ आफ्नो दावि भएकोले बन्दिपुरमा ठुलो भाग खोज्दा कांग्रेसलाई पहिलो गाँसमा नै ढुगां लाग्ने पक्का छ भने सबै माओवादीलाई छोड्दा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु हतोत्साहि हुने र पार्टीबाट पलायन हुन सक्ने सम्भावना पनि टड्कारो देखिएको छ । अध्यक्षमा माओवादी केन्द्रलाई छोड्ने निर्णयले मानकाजी श्रेष्ठदेखि धुव्र बहादुर प्रधान, कर्ण खत्रीदेखि सुकुमलाल गुरुगं, रेशम गुरुगंसम्मको राजनितिलाई बन्दिपुरबाट सदाको लागि पुर्णविराम लगाउन सक्नेछ । अर्कोतर्फ आँबुखैरेनी गाँउपालिकालाई आफ्नो पकडमा पार्न कस्सिएको माओवादीले पहिला पनि तपाईहरुले नै जितेको हो यसपाली पनि तपाईहरुलाई नै भनेर नेपाली कांग्रेसलाई छोड्ला भन्ने कसैले कल्पनासम्म पनि गरेको छैन ।
अन्तर्घात आँबुखैरेनी गाँउपालिकाको अध्यक्षको रुपमा माओवादीका युवा नेता शुक्र चुमान आफुलाई उभ्याउन तम्तयार भएर बसिरहनुभएको छ भने आफुले जितेको गाँउपालिका कांग्रेसले माओवादीको भागमा दिनुभन्दा गठबन्धनलाई तिलान्जली दिन मन नपराउला भन्न कत्ति पनि सकिदैन । आँबुखैरेनी गाँउपालिका नेपाली कांग्रेस छोडेर प्रदेशको निर्वाचनमा माओवादी नेता हरिबहादुर चुमानलाई प्रदेश नं. १ मा सहयोग गर्ने सर्तमा मनाउने सम्भावना भएपनि दुईवटा गाँउपालिकामा विजयी भईयो भने क्षेत्र नं. १ को प्रदेश न. १ मा सजिलै विजयी हुन सकिने कुरलाई माओवादीले पनि हिसाव निकालेको हुनसक्दछ । तर पनि १० वटा गाँउपालिकामध्येमा अत्याधिक सम्भावना देखेको बन्दिपुर र आँबुखैरेनीमा नेपाली कांग्रेसलाई छोडेर घाटाको गठबन्धन गर्न नेकपा माओवादी केन्द्र कदापि तयार हुने छैन भने अर्कोतर्फ टोल टोलको हिसावबाट सजिलै विजयी हुने आंकलन गरिएका गाँउपालिकाहरु गठबन्धनको नाममा माओवादीलाई दिन नेपाली कांग्रेस तयार हुने कुरा पनि कल्पनाभन्दा बाहिरको रहेको छ ।
पुर्वमन्त्री तथा हालकी प्रदेश सभा सदस्य आशा खनालको गृहनगर शुक्लागण्डकी नगरपालिका पनि माओवादीले कांग्रेसलाई सजिलै छोड्न सक्नेछैन । अघिल्लो निर्वाचनमा एमालेकी उपप्रमुख विजयी हुदाँ केहि मतले मेयरमा नेपाली कांग्रेसका किसान गुरुगं विजयी हुनुभएको थियो । माओवादी आफ्नो निर्णायक मतले कांग्रेस विजयी भएको कारण शुक्लामा यसपाली आफ्नो हक जमाउन तम्सिनेछ तर कांग्रेसले आफु विजयी भएको ठाँउमा अरुलाई कसरी छोड्ला र ?
बाँकि नगरपालिका तथा गाँउपालिकामा पनि समाजवादी र माओवादीले भाग खोज्ने पक्का भएपनि आफ्नै कार्यकर्ताहरुको व्यवस्थापन गर्न नसकेको कांग्रेस गठबन्धनको आडमा सत्तारुढ दलका नेता तथा कार्यकर्तालाई भाग दिन थाल्यो भने अन्तर्घातको श्रृखलाले स्थानिय निर्वाचनमा पार्टीलाई अत्याधिक पिरोल्नेछ । जुन कुरा राष्ट्रपति हुने सपना देखेर काठमाण्डौतिर रमाउने रामचन्द्र पौडेलले होईन कांग्रेसको रुखमा पानी हाल्दै गाँउगाँउ डुल्ने नेता तथा कार्यकर्ताले सजिलै बुझेका छन् र माओवादीले पनि केन्द्रमा जस्तै जिल्लामा पनि गठबन्धनलाई हल्का रुपमा लिएको बिश्लेषण गर्दै स्थानिय तहमा नेकपा एमालेसग गठबन्धन गरेर कांग्रेसलाई साईजमा ल्याउन सक्ने अत्याधिक सम्भावना रहेको छ ।
केन्द्रियदेखि स्थानिय नेताहरुको गुटै गुटले भरिएको तनहूँ कांग्रेसीहरुको कुण्ठा, टिकट नपाउनेहरुबाट हुने अन्तर्घात अनि जिल्लामा जिताउन नसकेपनि हराउन सक्ने गोविन्दराज जोशी फ्याक्टरलाई व्यवस्थापन गर्न सकेन भने पार्टीभित्रको असन्तुष्टि र गठबन्धनको सकसले नराम्ररी गाँज्नेछ र कांग्रेसको किल्ला बन्नबाट फेरि चुक्न सक्ने सम्भावना रहेको छ ।








