तनहूँ । कम्युनिष्टहरु कांग्रेसको पिछलग्गू भएर हिँड्नुपर्ने कुनै कारण नभएको र तनहूँ कांग्रेसले गठबन्धनमा संलग्न दलहरुको हुर्मत लिएको भन्दै नेकपा एकीकृत समाजवादीका तनहूँका सचिव दुर्गाकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउदै नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गरेको घोषणा गर्नुभएको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै श्रेष्ठले तनहूँ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा १ मा एमालेकै श्यामराज महतलाई जिताउन आह्वान गर्दै अब आफ्नो उम्मेदवारी नरहेको बताउनुभएको छ ।
गठबन्धनले नेकपा एस् लाई १ सिट पनि नदिएपश्चात नेकपा एस् बाट तनहूँ क्षेत्र नं. २ (१) प्रदेशसभा सदस्यको लागि श्रेष्ठले उमेदवारी दिनुभएको थियो ।
गठबन्धनमा बिशेष गरि नेपाली कांग्रेसको अडानका कारण १ सिट पनि प्राप्त गर्न नसकेको नेकपा एस् तनहूँबाट प्रदेश सभाका चारैवटै स्थानमा उमेदवारी दिएपनि अब २ स्थानमा मात्र उमेदवारी कायम रहेको छ । निर्वाचन क्षेत्र नं. १ ( १) मा विद्या ढकाल र क्षेत्र नं. २ (२) मा पि एल् श्रेष्ठको उमेदवारी हालसम्म कायम रहेको छ । केहि समय अगाडि तनहूँ क्षेत्र नं. १ (२) मा प्रदेश सभा सदस्यको लागि उमेदवारी दिनुभएकी पुर्वसांसद कलिला खानले आफ्नो उमेदवारी फिर्ता लिईसक्नुभएको छ ।









