सर्वसाधारणले कोरोनाको उपचार गर्दा लाग्ने खर्च सरकारले नव्यहोर्ने

  • ख-
  • ख+

काठमाडौं । सरकारले अब कोरोना भाइरसको संक्रमण देखिएका सर्वसाधारणको खर्च नव्यहोर्ने भएको छ ।

अब तोकिएका बाहेक अन्य कुनै पनि व्यक्तिले कोरोना संक्रमण देखिएसर सरकारी अस्पतालमा भर्ना हुँदा पनि उपचार गर्दा लागेको खर्च आफैं व्यहोर्नु पर्ने भएको छ ।

आइतबार आयोजित कोडिभ १९ को नियमित प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तोकिएका बाहेक अन्य व्यक्तिले परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको जानकारी दिए ।

असोज १९ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले उक्त व्यवस्था लागू गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब आर्थिक रुपले विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अति अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुले मात्रै कोरोनाको उपचार गर्दा लाग्ने शुल्क तिर्नुपर्ने छैन ।

यस्तै, अग्र पंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण वा चिह्न देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिने छ । तर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीले कोरोनाको बिमा गरेको भएमा परीक्षण र उपचार खर्च उनीहरुको बिमा रकमबाट काटिने छ ।

‘यी बाहेक अन्य सबै किसिमका व्यक्तिहरुको परीक्षण तथा उपचार व्यक्तिकै आफ्नै खर्चमा गर्ने, गराउने निर्णय भएको छ,’ प्रवक्ता गौतमले भने, ‘यो निर्णय आजै मिति २०७७ कात्तिक २ गतेदेखि भर्ना तथा परीक्षण हुनेहरुमा, सबै किसिमका सरकारी, गैरकारी अस्पताल तथा प्रयोगशालाहरुमा लागू हुने छ ।’


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्