
(तस्विरः दमौली अस्पतालको वेभसाईट र ग्राफिक्सको संयोजनबाट)
त्यसो त भागवण्डाबाट संचालित राजनीतिमा योग्य दक्ष र सम्बन्धित क्षेत्रको विज्ञ नभईकन पनि राजनीतिक दलको नजिक भएको भरमा जुनसुकै पदमा पनि नियुक्ति पाउन सकिन्छ । जनताका प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका संस्थाहरुको पदाधिकारी नियुक्तिमा पनि चरम राजनीति भएको कुरा कहि कतै छिपेको छैन । तनहूँको दमौलीमा रहेको दमौली अस्पताल पनि लामो समयदेखि त्यसैको शिकार बनेको छ । सम्बन्धित क्षेत्रका विज्ञ व्यक्तित्वहरु अस्पताल व्यवस्थापन समितिको पदाधिकारीमा नियुक्त नहुँदा अस्पतालको अवस्था हिजोभन्दा आज झनै बिग्रदो छ भने राजनीतिक नियुक्ति लिनुभएका महानुभावहरुले दल परिवर्तन गरेर अर्को दलमा प्रवेश गरिसकेपनि उक्त पदमा लिसो टाँस्सिए झैं टाँस्सिने प्रवृत्तिले अस्पतालका काम कारवाहीमा बाधा पुगेको छ । अर्कोतर्फ राजनीतिक नियुक्ति लिएका व्यक्तिले आफुलाई राजनीतिक नियुक्ति दिने पार्टी परिवर्तन गरेपश्चात पनि उक्त पद छोड्नुपर्छ कि पर्दैन भन्ने नैतिकताको प्रश्न उब्जेको छ ।
तनहूँको दमौलीमा रहेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापा माओवादी, नयाँ शक्ति हुदै जनता समाजवादी पार्टी र उपेन्द्र यादवको समाजवादी पार्टीमा आवद्ध रहदा स्थानिय निकायको निर्वाचन अघि राजनीतिक नियुक्तिमा गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको दमौली अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको थियो । राजनीतिक नियुक्ति पाएको दमौली अस्पतालको अध्यक्षको रुपमा कायम रहदा रहदै केहि समय अगाडिदेखि थापा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध हुनुभएको छ । तत्कालिन समयका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित भएपश्चात तनहूँ क्षेत्र नं. १ को गत बैशाषमा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. स्वर्णिम वाग्लेको पक्षमा दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापा लाग्नुभएको थियो ।
आम मानिसहरुले ”बिरामीले सहि उपचार पाएका छैनन्, विमाको औषधी कस्तो हुन्छ दमौली अस्पतालमा देख्न रहर भईसक्यो, महिनौदेखि एक्सरे लगायतका मेसिनहरु बिग्रेका छन्, थाईराईड लगायतका महगों परिक्षण गर्नको लागि अस्पतालमा केमिकल छैन भन्ने सुन्ने गरेको बर्षौदेखि आजपर्यन्त पनि बेलाबेलामा कायम छ , अस्पतालको वेभसाईटमा दमौली अस्पतालले तनहूँ, गोरखा, लमजुङ र कास्की जिल्लाका केही क्षेत्रका करिब ३ लाख जनसंख्यालाई सेवा प्रदान गर्दछ भनेर उल्लेख भएपनि उक्त अस्पतालमा विज्ञ चिकित्सक ल्याउनतिर पहल भएको छैन अध्यक्ष भने घन्टीको चुनाव प्रचारमा सरर… ” भन्दै औला नउठेका होईनन् तर पनि अध्यक्ष थापा राजनीतिमा फड्को मार्ने दाँउमा राष्ट्रिय स्वतन्त्र पार्टीको भानु नगरको सल्लाहकार सदस्यहरुको संयोजक बन्न कत्ति पनि बेर लाउनु भएन तर पनि उहाँले आफुलाई राजनीतिक नियुक्ति दिने पार्टी छोडेपछि नैतिक दायित्व सम्झेर दमौली अस्पतालको अध्यक्ष छोड्नुपर्नेमा सो पद छोड्नुभएको छैन । सोहि बिषयमा प्रतिक्रिया लिन उहाँलाई सम्पर्क गर्दा उहाँले फोन उठाउनुभएन (फोन गरेको मिति र समयः मिति २०८० भाद्र २७ गते बुधवार दिउँसो १ बजे ०२ मिनेटमा) । अध्यक्ष थापाले नैतिकताको आधारमा राजिनामा नदिदाँ प्रदेश सरकारले अस्पतालको अध्यक्षमा जिल्ला समन्वय समितिको प्रमुख स्वतः अध्यक्ष हुने कार्यविधि लागु गरेपनि तनहूँमा सो लागु हुन सकेको छैन ।
