त्यसो त पंचायतदेखि नै अझ बिशेषत बहुदल आएपछिका प्रत्येक चुनाव प्रचार प्रसार ताका मिठा मिठा आश्वासन पाउने र चुनावको केहि महिनापछि विजयी सांसदलाई धारे हात लाउने तनहूँ निर्वाचन क्षेत्र नं. १ का मतदाताहरु यस पटक धारे हात लाउनबाट धेरै मानेमा बन्चित हुनुपर्ने भएको छ । २०८० साल बैशाष १० गते भएको उपनिर्वाचनमा ९ जना उमेदवार भएको तनहूँ १ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. स्वर्णिम वाग्लेले न मिडिया, न कुनै कोणसभा न आमसभामा ”म मेरो तनहूँ निर्वाचन क्षेत्र नं. १ का बासिन्दालाई रोजगार बनाउछु ” भनेको सुनियो न त भोट माग्नको लागि घरदैलो गर्दैगर्दा हात जोडेदै ”मलाई जिताएर पठाउनुस् म तपाईको छोरा, छोरी, नाति, नातिनी, छोरी, ज्वाई, साला, सालीलाई जागिर लगाईदिन्छु” या त ‘‘मलाई भोट दिएपछि त यो बाटोमा पिच पक्का” भनेर वाचा गरेको सुनियो । जे होस् पुरा हुनै नसक्ने गफ नदिईकन पनि चुनाव जित्न सकिदोँरहेछ भन्ने भाष्य यस पटकको उपनिर्वाचनले तनहूँमा राम्ररी स्थापित गरिदिएको छ ।
पुराना राजनीतिक दलप्रतिको वितृष्णा, सचेत भईसकेका मतदाता, घन्टीको लहर, डा. स्वर्णिम वाग्लेको व्यक्तित्व जे जस्तो कारणबाट चुनाव जितेको बिश्लेषण गरेपनि अब बल्ल तनहूँ क्षेत्र नं. १ बाट संघिय सांसद हुनुभएका माननिय डा. स्वर्णिम वाग्लेको परिक्षाको असली घडि शुरु भएको छ र त्यो परिक्षामा खरो उत्रिन तनहूँ १ मा डा. वाग्लेले मुख्यतः निम्न दायित्वहरुलाई वहन गर्नुपर्नेछः
१. सरकारी क्याम्पस निर्माणका लागि हस्तक्षेप
हुन त सरकारी, प्राईभेट वा सामुदायिक क्याम्पस भएपनि तिनको काम विद्यार्थीहरुलाई शिक्षा दिनु नै हो तर पनि आम्दानीको श्रोत कम भएका जिल्लावासीको लागि एउटा गतिलो सरकारी क्याम्पस नहुनु पनि तनहूँ जिल्लाका विद्यार्थीको लागि अभिशाप नै भएको छ । तनहूँको सदरमुकाम दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसलाई पटक पटक सरकारी बनाउने प्रयाश सफल हुन नदिईएको कुरालाई मध्यनजर गर्दै उक्त क्याम्पसलाई सरकारी बनाउनको लागि पहल गर्नु नै डा. वाग्लेको लागि सबैभन्दा ठुलो च्यालेन्ज हुनेछ । महगों शुल्क, चरम राजनीतिक गुटबन्दी र खिचातानी, अख्तियारमा मुद्दाहरुबाट गुज्रिरेहको आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी बनाउन सके डा. वाग्लेको नाम तनहूँ क्षेत्र नं. १ का जनतामात्र होईन तनहूँ क्षेत्र नं. २, लम्जुगं, गोरखा र कास्कि जिल्लाका केहि भागका बासिन्दाले सदा सम्झिरहनेछन् ।
२. स्तरिय सरकारी अस्पताल निर्माणका लागि हस्तक्षेप
खोकि लाग्यो भनेपनि तनहूँको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पतालको विश्वास नलागेर वा विश्वास नमानेर पोखरा, चितवन वा काठमाण्डौतिर दौडिने बानी परेका तनहूँ १ का बासिन्दामात्र होईन तनहूँ जिल्लाभरिकै बासिन्दाको लागि एउटा गतिलो सरकारी अस्पताल निर्माण वा आफै बिरामी दमौली अस्पतालको सेवा प्रभावकारी बनाउन र स्तरउन्नतिको लागि सिधै हस्तक्षेप गर्न डा. वाग्लेले सक्नुभएन भने ”एय ! यी पनि उस्तै ” भन्नेको जमात ह्वात्तै बढ्न सक्ने सम्भावनालाई कसैले नकार्न सक्नेछैन ।
३. बिकास निर्माण र सुशासनको लागि हस्तक्षेप
हुन त एउटा प्रतिपक्षमा रहेको सांसदले बिकास निर्माणका कामहरुमा उल्लेखनिय योगदान गर्न नपाउने भएतापनि भईरहेका र कालान्तरदेखि रोकिएका बिकास निर्माणका कामहरु चन्द्रावतिको बाटो, पाँचसय फाँटको बाटो, दमौली, बेलवास हुदै चितवन जोड्ने बुद्धसिंह मार्ग आदिमा चासो दिनु, आफ्ना निर्वाचन क्षेत्रका बासिन्दाहरुको मागहरु के कस्ता छन् तिनीहरुलाई सम्बन्धित निकायसम्म पुर्याउनु , संसद भवनदेखि, अर्थ मन्त्रालयदेखि राष्ट्रिय योजना आयोगसम्म आवश्यक बजेटका लागि आवाज उठाउनु , थानीमाई, छाब्दि बाराही, व्यास गुफा, आँधिमुल, छिम्केश्वरीलाई मध्यनजर गर्दै योजना बनाउनु र प्लटिगं हुदै गरेका फाँटहरुमा कृषि कर्मको लागि आकर्षित गर्दै धार्मिक तथा अन्य पर्यटनका लागि जनताको आशा र भरोशामा डा. वाग्ले खरो उत्रिनु पर्नेछ भने आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क र आफ्नो ‘अन्तर्राष्ट्रिय विकास अर्थशास्त्री’को छवि प्रयोग गर्दै ति क्षेत्रहरुको बिकासका लागि निकै मेहनत गर्नुपर्नेछ ।
नेपालमा बहुदल आएपछि सबैभन्दा फस्टाएको व्यापार हो राजनीति र बिचौलियाको बिगविगीको अन्त्यको लागि सरकारी कार्यालयमा हुने गरेका ढिलासुस्ति, भ्रष्टाचार विस्थापित गर्नको लागि सम्बन्धित निकायलाई सचेत र खबरदारी गराउनुपनि डा. वाग्लेको प्रमुख कर्तव्य हुन आउदछ ।
४. युवाहरुलाई रोजगारमुलक तालिम
विदेश जाने नेपालका जिल्लाहरुमा तनहूँको नाम पनि अग्रिणी स्थानमा आउने भएकाले यस क्षेत्रका युवा तथा ईच्छुक व्यक्तिहरुलाई रोजगारमुलक तालिम दिएर दक्ष बनाउने दिशामा अगाडि बढाउन पहल गर्नु अत्यन्तै जरुरी रहेको छ । विदेश जाने प्रचलनलाई रोक्न एउटा सांसदले नसक्ने भएतापनि दक्ष बनाएर पठाउनका लागि सांसदको पहलमा रोजगारमुलक तालिम प्रदान गर्न सके निर्वाचन क्षेत्रवासीलाई निकै फाईदा पुग्ने देखिन्छ ।
५. सबैलाई समान व्यवहार
आजकल मलामी जादा पनि आफ्नो पार्टीको नेता कार्यकर्ता हो कि होईन बुझेर मात्र घाट जाने संस्कारको बिकास भईरहेको तनहूँको समाजमा डा. वाग्लेले आफ्ना पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको पक्षमा मात्र बोल्ने, उनीहरुलाई मात्र स्पेश दिने गरेको खण्डमा हिजोका जनप्रतिनिधिहरु र डा. वाग्लेमा तनहूँ १ का जनताले खासै केहि फरक महसुस गर्न पाउने छैनन् ।
प्राय नेताहरु आफै बजेट ल्याउन पहल गर्ने, जग्गाको भाउ बढाउन आफ्नो वा आफ्नो आसेपासेको तिरै बाटो खन्ने, पिच गर्ने, आफ्नै पार्टीका कार्यकर्तालाई मात्र ठेक्का दिने र अप्रत्यक्ष रुपमा कशिमन कुम्ल्याउने संस्कारलाई चिर्न पनि डा. वाग्ले बढि नै चनाखो भएर सम भावः का साथ काम गर्न र निर्देशन दिनु अत्यन्त जरुरी रहेको छ । नत्र सबैकुरामा ”झर्ला र खाँउला” भन्दै ”म पनि घन्टी” भन्दै हिड्नेको विफ्रिगंमा चित्त बुझाउने हो भने तनहूँ १ का जनताको सपनामा तुषरापात हुनेछ जुन कुरालाई मधुर मुस्कानका साथ ”दल होईन मत बदलौ ” भन्दै मतले मात्र होईन मनले पनि जित्नुभएका डा. वाग्लेले सम्झन जरुरी रहेको छ ।
डा. वाग्लेको काँधमा तनहूँ १ का जनताको ”हाई हाई…” को बदलामा देशको मुहार फेर्ने राजनीति गर्नुपर्ने जिम्मेवारी त छदैछ तनहूँ क्षेत्र नं. १ का वासिन्दा थोरै कुराले पनि सन्तुष्ट बन्न सक्छन् भन्ने भाष्य स्थापित गर्ने जिम्मेवारी पनि रहेको छ । त्यसो गर्न सकेको खण्डमा तनहूँ १ वासीको मुहारमा बर्षौदेखि नदेखिएको मुस्कान देखिनेछ भने डा. वाग्लेका लागि तनहूँ निर्वाचन क्षेत्र नं. १ सदा सुरक्षित निर्वाचन क्षेत्र हुनेछ । (लेखकका नीजि बिचार)