सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेललाई तनहूँका वरिष्ठ ईन्जिनियर श्रीराम न्यौपानेको पत्र

  • ख-
  • ख+

सम्माननिय राष्ट्रपतिज्यु ! हजुर र मेरो राजनितिक चिनजान एवं भेटघाट भएको वि सं २०४८ सालबाट हो। ०४८ साल देखि गत २०८० वैशाख १० को तनहूँको उपनिर्वाचनको मिति घोषणा हुञ्जेलसम्म पटक-पटक निरन्तर हजुरसंगको भेटघाट वा सिधा टेलिफोन संवाद हुने गरेको हो। कांग्रेसका अन्य कार्यकर्तासंग भन्दा हजुरसंगको मेरो भेट सहज र विशेष हुनेगर्थ्यो। यो कुराको हेक्का मेरा समकक्षी कांग्रेस नेताहरुलाई राम्ररी थियो। शायद त्यसैले होला कांग्रेसी वृत्तमा मेरो राजनितिक पहिचान नै ”रामचन्द्रको मान्छे” भन्ने थियो, जसमा म सदैव गौरव गर्थे।
हजुरसंगका प्राय धेरै भेटघाटमा पार्टीभित्र व्याप्त वेथिति, विकृति, विसंगति, भ्रष्टाचारका विषयमा कुराकानी हुन्थे। यसलाई कसरी काउन्टर दिने भन्ने सम्वन्धमा विभिन्न सुझाव दिने गर्थे र निरन्तर प्रयत्न पनि गरेको थिए। पहिलो प्रयत्नस्वरुप सुशील दाई र हजुर लाई पार्टीमा एक हुनुपर्छ भनेर म एडभान्स कलेज, काठमाण्डौको प्रिन्सिपल रहदा मेरै अफिसमा निरन्तर तपाईहरु दुईजना विच छलफल गराउने गर्थे। यसले सफलता पनि पाएको थियो।
दोस्रो प्रयत्नस्वरुप पुरञ्जन आचार्यको सहयोगमा शेखर कोइराला र हजुरलाई एक ठाउँमा ल्याउन सकिएन भने पार्टी झन् विकृत र भ्रष्ट भएर जानसक्ने कुरालाई मध्यनजर गर्दै मेरै थापाथली ट्रेड टावरको अफिसमा पटक-पटक म र पुरञ्जन मिलेर हजुर र शेखर कोइरालालाई राखेर छलफल गर्ने गर्थ्यौ। त्यसले पनि केहि हदसम्म पार्टी भित्रको विकृति, विसंगति र भ्रष्टाचारलाई काउन्टर दिन बल पुर्याएको मैले महसुस गरेको थिए।
हजुरलाई पार्टी सभापति बनाउन होस् वा प्रधानमन्त्री बनाउन वा राष्ट्रपति बनाउन म एउटा सामान्य नागरिकै भुमिकामा रहेर पनि आफ्नो तर्फबाट रातदिन नभनी प्रयत्न गरेकै हो। मेरा यी सवै प्रयत्नमा एउटै स्वार्थ थियो देशमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचार हटोस, देशले तुलनात्मक रुपमा इमानदार नेतृत्व पाओस् र देश, जनता र विकासमा योगदान पुगोस्। शायद यहि अभियानलाई सफलता दिन मैले माथि उल्लेख गरेका पात्रहरु तुलनात्मक रुपमा उपयुक्त थिए। मेरा विद्यार्थी राजनीति गर्दा समिप्यमा रहेका दोस्रो पुस्ताका नेताहरु एन पी साउद, धनराज गुरुङ, सरिता प्रसाइ, गोविन्द भट्टराई, विश्व प्रकाश शर्मा, गगन थापा, वद्री पाण्डे, शंकर भण्डारी आदि बाट समेत देश र पार्टी भित्र व्याप्त वेथिति, विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध पहलकदमी हुने संकेत मैले देखिन।
सम्माननिय राष्ट्रपतिज्यु ! हजुर जब सक्रिय राजनितिबाट विश्राम लिने गरि राष्ट्रपतिमा निर्वाचित हुनुभयो तब मैले कांग्रेस भित्र विकृति विरुद्ध काउन्टर दिन सक्ने उच्च तहका नेताको शुन्यता महसुस गरे। त्यसपछि कांग्रेस भित्र बढ्दो विकृतिलाई न्युनिकरण गर्न र रोक्न उपयुक्त उपायको खोजिमा लाग्ने क्रममा तपाई स्वयं निर्वाचित हुनुभएको र मेरो आफ्नो समेत जन्मथलो रहेको क्षेत्रबाट डा.स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बनाउने अभियानमा लागे। यस अभियानमा रवि लामिछानेलाई भेट्ने प्रयास गरे। स्वकीय सचिव प्रकाश सिग्देल मार्फत पौष महिनाको पहिलो हप्तादेखि पटक-पटक भेटेर कुरा राखे। हामी विच लामो छलफलहरु भए । शायद चौथो भेटघाट होला मैले तनहूँ उपनिर्वाचनको सम्भावित नतिजा बारे आफ्नो प्रारम्भिक सर्वेक्षण सकेर सवै कुरा सुनाए पश्चात रवि लामिछाने सहमत हुनुभयो, लगत्तै डा. स्वर्णिम र म एकैदिन राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्यौ।
डा. स्वर्णिमलाई तनहूँको उपनिर्वाचनमा उमेदवार बनाउँनुको मुख्य उद्देश्य बारे मलाई राम्रो हेक्का थियो । त्यो के हो भने यसले कि त कांग्रेस सुध्रिन वाध्य बनाउछ कि त कांग्रेस समाप्त भई राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउछ। देशले एउटा उपयुक्त निकास पाउँछ।
सम्माननीय राष्ट्रपतिज्युलाई सम्झना होला सन् २००६ मा पहिलो पटक मैले नै हजुरसंग भेटाएको र परिचय गराएको डा. स्वर्णिम वाग्ले । पहिलो पटक परिचय गराउँदै मैले भनेको थिए – ”डा. स्वर्णिम कांग्रेस पार्टीले योजना आयोगको उपाध्यक्ष बनाउन लायक व्यक्ति” भनेर। आपसी परिचय पश्चात तपाईलाई पटक -.पटक अन्तर्राष्ट्रिय स्तरको सम्मेलनमा भाग लिन जाँदा गहकिला अंग्रेजी भाषण पनि तयार पारिदिनु भएको हो। पार्टी सभापतिमा तपाईलाई निर्वाचित गराउन समेत हामी लाग्यौ, तर असफल भयौ। हामी तिनजना विच छलफल हुँदा समेत ”पार्टी भित्रको विकृति कसरी अन्त्य हुन्छ ?” भन्ने विषयमा केन्द्रित रहन्थ्यौ। हजुरले हामीलाई हौसला दिनुहुन्थ्यो । हामी उत्साहित हुन्थ्यौ। त्यही हौसला र उत्साहले आज डा. स्वर्णिम र मलाई राष्ट्रिय स्वतन्त्र पार्टी छान्न वाध्य बनाएको हो। हामी कांग्रेसभित्र रहेर कांग्रेस सुधार्न नसक्ने ठहर गरेरै कांग्रेसबाट बाहिरिएर कांग्रेस सुधार्न लागिपरेका हौ। यसमा हामीलाई रवि लामिछाने समेतको साथ छ। त्यसैले यदि कांग्रेस, एमाले र माओवादी तिनवटै दललाई सुधार्न चाहने इमानदार, योग्य र क्षमतावान देशभक्त कोहि हुनुहुन्छ भने डा. स्वर्णिम र म जस्तै आ -आफ्नो पार्टी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्द हुन म आग्रह गर्दछु। विगत ३२ वर्षको इतिहासले प्रष्ट भन्छ पुराना पार्टीभित्रै बसेर देश बनाउन थप पचास वर्ष लाग्ला तर राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्द भएर लाग्दा दश वर्षभित्र देश बन्छ।
सम्माननिय राष्ट्रपतिज्यु ! कांग्रेस राजनितिबाट तपाईले विश्राम लिए लगत्तै जनतामा यति धेरै निराशा छाएको छ कि अव आशा गर्ने ठाउँ पुराना नेतृत्व र दलहरुबाट रहेन। मलाई थाहा छ तपाई पनि यो विकृतिबाट घाइते हुनुभएको हो। हामी वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विकास गर्न प्रतिवद्द छौ। जनतामा छाएको चरम निराशाले लोकतन्त्र समाप्त हुने खतरा बढ्दै जाँदा डा. स्वर्णिम र मेरो राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेशसंगै जनतामा लोकतन्त्रभित्रको विकल्पमा थप बल पुगेको छ। एकपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेरौ न त भन्ने भावना जनतामा पैदा गराइदएको छ। सवै गणतन्त्रवादी र लोकतन्त्रवादीहरुका लागि पनि यो खुशीको कुरा हुनसक्छ किनभने चरम निराशाले पुनः जन्मन सक्ने राजतन्त्र भन्दा त राष्ट्रिय स्वतन्त्र पार्टी ठिक छ।
सम्माननिय राष्ट्रपतिज्यु ! लोकतन्त्रमा नेतृत्वसंग वहुमत जनतालाई आफ्नो Vision अनुसार डोर्याउने खुवी हुनुपर्छ। होइन भने वहुमत जनताको चाहनालाई नै आफ्नो ख्ष्कष्यल मानेर हिड्न सक्नुपर्छ। अनि मात्र गणतन्त्र फक्रिन्छ, फस्टाउछ र परिपक्व हुन्छ। यहाँ त नेताहरु मात्र फक्रिए, फस्टाए र मोटाए तर देश, जनता र विकास दुव्लाउदै गयो।
नेताहरुको व्यवहारमा लोकतन्त्र अडेको हुन्छ। नेताहरुको व्यवहारबाट जनता थाकिसके, आजित भइसके। विगत ३२ वर्षका हरेक सरकारहरु जनताका नजरमा फेल भए।
नेपाल संसारकै भ्रष्ट, गरीव र अविकसित मुलुकतर्फ उकालो लाग्दैछ। व्यवस्था परिवर्तन गरेर के गर्नु, अवस्था परिवर्तन हुनै सकेन। नेताहरुको व्यवहारले अवस्था दिन प्रतिदिन नाजुक हुदै गईरहेको छ, व्यवस्था प्रति नै घृणा जगाइदिएको, व्यवस्थालाई नै कमजोर बनाइदिएको छ।
अव रवि र डा. स्वर्णिमको नेतृत्वबाट केहि होला भन्ने अपेक्षा जनताले गरेका छन्। कांग्रेस, एमाले र माओवादीलाई सम्माननीय राष्ट्रपतिज्यु मार्फत भन्न चाहन्छु कि तपाईहरुप्रति जनताको विश्वास टुटिसकेको छ। लोकतान्त्रिक अभ्यासमा तपाईहरुको व्यवहार फेल भइसकेको छ। लोकतन्त्रमा पार्टी हुन्छ, सिद्धांत हुन्छ, नेता हुन्छन, कार्यकर्ता हुन्छन्, निर्वाचन हुन्छ, आ-आफ्नो घोषणापत्र हुन्छ, देश बनाउने आ-आफ्नो दृष्टिकोण हुन्छ, निर्वाचनमा आ-आफ्नो उमेदवार हुन्छन्। गठबन्धन हुन्छ भने देश, जनता र विकासका एजेण्डामा हुनसक्छ तर आफै बॉचुञ्जेल सत्ता र शक्तिमा रहिरहन गठबन्धन हुनुहुदैन, मिलिजुली, बाँडीचुँडी, भागवण्डा गरेर खान गठबन्धन हुनुहुदैन, आलोपालो एउटै व्यक्ति सांसद बन्न र सरकारमा बसिरहन गठबन्धन हुनुहुदैन, अख्तियार, प्रहरी, विश्वविद्यालय लगायत सवै निकायमा भागवण्डा गर्न गठबन्धन हुनुहुदैन। भ्रष्टाचारका फाईल लुकाउन, भ्रष्टाचारी कार्यकर्तालाई जोगाउन गठबन्धन हुनुहुदैन।
देश बनाउन प्रयोग हुनुपर्ने सेटिंग, गठबन्धन, मिलिजुली, भागवण्डा जस्ता शव्दहरुको चयन आज नेपालको राजनितिमा व्यवहारमा देश विगार्न प्रयोग भइरहेका छन्। त्यसैले जनतामा वितृष्णा छ, चरम निराशा छाएको छ।
जनताले गणतन्त्र के हो भनेर बुझ्ने एकमात्र सरल उपाय भनेको नेतृत्व गर्ने नेताहरुको व्यवहार हो। नेताहरुको व्यवहारले गणतन्त्र प्रति वितृष्णा पैदा गराइदिएको छ। यो तितो यथार्थप्रति सम्माननीय राष्ट्रपतिज्युको ध्यान आकृष्ट गराउन चाहन्छु।
अन्त्यमा अव म कांग्रेस कार्यकर्ता नरहे पनि आम नागरिकको हैसियतले सम्माननीय राष्ट्रपतिज्युलाई भेटेरै सुस्वास्थ्य कामना गर्न चाहन्छु। देश, जनता र विकासका विषयमा अझ धेरै कुराहरु शेयर गर्न चाहन्छु । म कांग्रेसबाट अलग भएपछि पटक पटक भेट्न समय माग्दा तपाईका सचिवालय सदस्यले वेवास्ता गरेको हुँदा आज Social Media मार्फत अन्तिम पटक भेट्ने समय माग्दैछु।
तपाईको शुभचिंतक
इन्जिनियर श्रीराम न्यौपाने
भानु नगरपालिका, तनहूँ

(तनहूँ भानुका वरिष्ठ ईन्जिनियर श्रीराम न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीको नेता हुनुहुन्छ ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?