काठमाडौं । वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको छ । शुक्रबार राति वीरगञ्ज महानगरपालिका(१२ स्थित मुर्ली टोलका बासिन्दामा संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन भएको थियो ।
शनिबारसम्म आइपुग्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरका स्वास्थ्य शाखा प्रमुख साजु साहले जानकारी दिए ।
साहका अनुसार शनिबार साँझसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने १२९ जना बिरामी उपचाररत छन् ।
साहका अनुसार मुर्ली टोलमा करिब ३० जना स्थानीयलाई झाडापखालाको लक्षण देखिएपछि उनीहरूलाई तराई अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले उपचाररत बिरामीमा हैजाको संक्रमण आशंका गर्दै वीरगञ्ज महानगरको स्वास्थ्य शाखालाई खबर गरेको थियो ।
लगत्तै नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा परीक्षण गर्दा तीन जनामा हैजाको जीवाणु ‘भिब्रियो कोलेरा’ पुष्टि भएको साहले बताए । साहका अनुसार वीरगञ्जका नारायणी अस्पताल, वीरगञ्ज हेल्थकेयर, तराई अस्पताल लगायत स्वास्थ्य संस्थाहरूमा झाडापखालाका बिरामीको चाप बढिरहेको छ ।
‘शनिबारसम्म झाडापखालाकै कारण २ जनाको मृत्यु भएको जानकारी आएको छ, तर ती मृत्यु हैजाकै कारण भएको वा नभएको पुष्टि भने हुन बाँकी छ,’ साहले अनलाइनखबरसँग भने ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको हो । ‘भिब्रियो कोलेरा’ नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ ।
यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानीको कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् । समयमै उपचार नपाए संक्रमितको मृत्यु समेत हुन सक्छ ।
ठाकुरले भने, ‘हैजाको लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । एक जना पोखरिया नगरपालिका(९ की महिला र वीरगञ्ज महानगरपालिका(१२ का पुरुष बिरामीको मृत्यु भएको छ । उनीहरूको परिवारले दिएको जानकारी अनुसार उनीहरूमा झाडापखालाको लक्षण थियो । तर हैजाकै कारण नै उनीहरूको मृत्यु भएको भनेर भन्न सकिँदैन ।’
१२९ जना बिरामी मध्ये शनिबार साँझसम्म ४२ जनामा हैजाको संक्रमण पुष्टि हुनु महामारीको रूप भएको ठाकुर बताउँछन् ।
ठाकुर भन्छन्, ‘२८ साउनमा मुर्ली क्षेत्रका स्थानीयमा फाट्फुट्ट झाडापखालाको लक्षण भएका बिरामी देखा परेका थिए । विस्तारै यो संख्या बढ्दै गयो । झाडापखाला देखिएका व्यक्तिहरूको आरडीटी परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भयो ।यो संख्या शनिबार साँझसम्म आइपुग्दा ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो महामारीको रूप नै हो ।’
हैजाको संक्रमण देखिएका ११ ठाउँका पानीका नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको उनले बताए । विशेषज्ञहरूले दूषित पानी पिउँदा र अस्वस्थकर खाना खाँदा हैजा फैलिने बताउँदै सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।
हाल वीरगञ्जको विभिन्न बस्तीमा वर्षात्को ढल र खानेपानी मिसिने समस्या देखिएकाले महामारी फैलिएको अनुमान गरिएको छ । संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरले खानेपानीमा क्लोरिन हाल्ने, उमालेर मात्र खाने, र सफा खानेपानी प्रयोग गर्ने आग्रह गरेको छ ।
यससँगै स्वास्थ्यकर्मीहरूले समुदायस्तरमै घर–घर सचेतना अभियान सञ्चालन गर्दै हात धुने बानी, सफा खानेपानी, र व्यक्तिगत सरसफाइमा ध्यान दिन जनतालाई आग्रह गरिरहेका छन् ।
महानगरले थाल्यो आपतकालीन अभियान
शनिबार वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा सञ्चालित अस्पतालका सञ्चालकहरूसँग हैजा प्रकोप रोकथामबारे छलफल गरेको छ ।
बैठकमा हैजा संक्रमण नियन्त्रणमा थप सतर्कता अपनाउने निर्णय भएको छ । महानगर प्रमुख राजेशमान सिंहले संक्रमणको फैलावट रोक्न र संक्रमित वडाका बासिन्दालाई सुरक्षित राख्न सबै जनशक्ति, साधन र स्रोत परिचालन गर्न निर्देशन दिएका छन् ।
मेयर सिंहले प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।
मेयर सिंहका अनुसार महानगरले ३२ वटै वडाका स्वास्थ्यकर्मीलाई तत्काल बोलाएर संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा परिचालन गरेको छ भने आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन पनि स्ट्यान्डबाइमा राखिएको छ ।
अहिले वीरगञ्ज महानगरपालिका १ देखि १६ नम्बर वडा बढी जोखिमयुक्त क्षेत्र मानिएको छ ।
जहाँ घर–घरमै टोली पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने कार्य भइरहेको महानगरले जनाएको छ । यसै क्रममा महानगरले हेल्प डेस्क र सूचना केन्द्र समेत स्थापना गरेर संक्रमण नियन्त्रणलाई सहज बनाउने पहल गरेको छ ।
यसमार्फत नागरिकलाई हैजासम्बन्धी जानकारी, उपचारका लागि आवश्यक समन्वय, र आपतकालीन सम्पर्क सुविधा उपलब्ध हुने व्यवस्था मिलाइएको छ, जसले समुदायस्तरमै निगरानीलाई अझ प्रभावकारी बनाउने अपेक्षा महानगरको छ ।
हैजाको प्रकोप रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले सञ्चालन गरेको आपतकालीन अभियानलाई प्रभावकारी बनाउन महानगर प्रमुख सिंहले शनिबार अस्पतालमै पुगेर बिरामीहरूको अवस्था बुझ्नुका साथै जनशक्ति परिचालनको कामलाई निरन्तर मनिटरिङ गरिरहेका छन् ।
शनिबार दिउँसो उनी नारायणी अस्पताल पुगेर त्यहाँका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । नारायणी अस्पतालमा हाल ३३ जना झाडापखालाका बिरामी उपचाररत छन्, जस मध्ये १३ जनामा हैजाको पुष्टि भइसकेको छ ।
शनिबार साँझ उनी बिरामीहरूको अवस्था बुझ्न वीरगञ्ज हेल्थकेयर अस्पताल पुगेका थिए । सो अस्पतालमा हाल १४ भन्दा बढी झाडापखालाका बिरामी उपचाररत छन् ।
हैजा संक्रमितलाई भेट्न अस्पताल पुगेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह।
हैजाको प्रकोप रोकथाम गर्न महानगरले प्रभावित क्षेत्रमा २५ वटा स्वास्थ्य टोली परिचालन गरेको छ । टोलीहरूले घरघरमै पुगेर पानी शुद्धीकरणका उपायहरू सिकाउँदै, क्लोरिन हालेर मात्रै पिउन आग्रह गर्दै जनचेतना जगाइरहेको मेयर सिंहले अनलाइनखबरलाई जानकारी दिए ।
प्रभावित बस्तीका नालामा महानगरले औषधि छर्कने अभियान पनि सञ्चालन गरेको छ । महानगर प्रमुख सिंहले झाडापखलाका बिरामीलाई अस्पतालसम्म पुर्याउनका लागि एम्बुलेन्ससहितका सवारी साधनलाई पनि तयारी अवस्थामा राखेको बताए ।
उनले भने, ‘हैजाको प्रकोप नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी चनाखो भएर बस्न सरोकार पक्ष सबैलाई निर्देशन दिएको छु, सबैको सहयोग लिँदै महानगर यो संकटलाई नियन्त्रणमा लिन पूर्ण प्रतिबद्ध छ ।’
मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमुना थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत साहले बताए ।
शंकास्पद बिरामी भेटिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान आग्रह गरिएको उनले बताए । महानगरले हैजाबाट जोगिनका लागि सबैलाई विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।
उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउन, तरकारी तथा हरियो सागपात उमालेको पानीले पखालेर मात्र पकाएर खान, बासी खाना नखान, राम्ररी नपकाएको मासु वा माछा नखान, साबुनपानीले पटक(पटक हात धुन, खानपिनका भाँडाकडा सफा राख्न र सफा शौचालय प्रयोग गर्न अनुरोध गरिएको छ ।
हैजा एक गम्भीर संक्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापरबाही नगर्न महानगर प्रमुख सिंहको आग्रह छ ।
अनलाईन खबर








