‘साइलेन्ट हर्टयाट्याक’ भएपछि असार २५ गतेदेखि अस्पताल भर्ना भएर उपचाररत नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई सो पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले भेट्नु भएको छ ।
काठमाण्डौं बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा उपचार गराइरहनु भएका नेता वलीलाई महासचिव चन्दले आज भेटेर स्वास्थ्यलाभको कामना गर्नु भएको हो ।
वली लामो समयदेखि सुगर, प्रोस्टेट, कोलेस्टोर, मुटुरोगबाट पीडित हुनुहुन्थ्यो । एक हप्ता अगाडि नै स्वास्थ्यमा समस्या देखिएपछि कारागारमै स्वास्थ्य जाँच भएको र गंगालाल हृदय केन्द्रमा कारागारका डाक्टरले रिफर गरेको बताइएको छ ।
उहाँ २८ महिनादेखि कारागारमा हुनुहुन्छ । नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबीच गत फागुनमा ३ बुँदे सहमति भएको भए पनि उहाँ रिहा हुनुभएको थिएन ।








