संघियताको अर्को नामः अपुताली घर

  • ख-
  • ख+

पत्रकार तथा सामाजिक अभियन्ता सुशिल देवकोटा विभिन्न बिधामा कलम चलाउनुहुन्छ, समसामयिक राजनितिक विषयबस्तु, चलचित्र लेखन, गीत लेखनमा उहाँका कलमहरु निरन्तर चलेका हुन्छन् । देशमा यतिबेला संघियताका नाममा भाँडभैलो मच्चिरहेको बेला, सांसद अपहरण, सरकार जोगाउन सांसदहरुलाई रेष्टुरेण्टमा लगेर राख्ने प्रचलन बढिरहेको बेला देवकोटाले आजभन्दा ५ बर्ष अगाडि लेखेको विम्वात्मक कथा अपुताली घर आज निकै भएको छ प्रस्तुत लेखक देवकोटाको कथा:
अपुताली घर

सुशिल देवकोटा/ ”कसो कसो अपुतालीमा एउटा घर फेला पर्‍यो । घर के फेला पर्‍याथ्यो घरका सबैको चाहनाको चुली यति धेरै चुलिन थाल्यो कि त्यो घरलाई सहज बनाउनु नै एउटा चुनौती भयो मेरो लागि । श्रीमतीलाई मिलाउन खोजे आमा रिसाउने, आमाको इच्छा पूरा गरिदिन खोज्यो छोराछोरीलाई त्यो मन नपर्ने । मेरो घरको विवाद बढन थाल्यो । घरपरिवार, इष्ट मित्रले त थाहा पाउने नै भए – ए फलानाको घरमा त यस्तो विवाद रैछ नि भनेर, छर छिमेकीले समेत थाहा पाउन थाले । बरु आफ्ना नातागोताले दिएको सल्लाह मानेको भए आज पछुताउनु पर्दैनथ्यो कि कुन्नि ? ताई न तुईका छिमेकीको कुराहरु धेरै सुनिएछ । सुन्दा बढो मीठो लाग्ने कुरा गर्थे ती छिमेकी । घरपरिवारमा मनमुटाव गर्न हुन्न, सहमति गर्नुस् । कति मीठो कुरो ! तर त्यतिबेला मैले सम्झिन सकिन कि मेरो एउटा छिमेकीको दाजुभाइ छुट्टिएको वर्षौ भैसक्यो तर आज पनि ती एकअर्कामा काटाकाट गर्छन् । अर्को छिमेकी त झन् कस्तो स्वार्थी छ भने उसको आफ्नो भलो हुन्छ भने जसको पक्षमा पनि प्वाक्क बोल्दिने के । टाढाका टाढाका छिमेकीले समेत उचाल्ने र पछार्ने खेल खेल्न थाले मेरो घरभित्र १ मेरो कर्म उस्तै हो कि के हो खै मेरा सबै छिमेकी उस्तै उस्ता मात्रै छन् भन्या ।
ए लौ न त त्यसो भए सहमति नै गरौं भन्ने तिर गइयो । आफ्नाले त भनेका हुन् – ए, त्यसो नगर है नगर ! पछि पछुताउलाउ ! तर सुनिएन आफन्तको कुरा अनि छिमेकीहरुले नै गरेका भागबण्डालाई उदाहरण बनाइयो । ऊनीहरुले दिएका सुझावलाई मुलमन्त्र मानियो अनि गरियो सहमति अनि गरियो अंसबण्डा । अब मेरो घरको अवस्था यस्तो पो भाछ त: चुल्हो भएको ठाउँ मेरी श्रीमतीको भागमा पर्‍यो तर राशन राख्ने ठाउँ मेरी आमाको भागमा पर्‍यो । खाना खाने ठाउँ त मेरो भागमा पर्‍यो तर खाएको निकाल्ने ठाउँ मेरो छोरोको भागमा पर्‍यो । सुत्ने कोठा अर्को छोरोको भागमा पर्‍यो अनि आँगन छोरीको भागमा । अति भद्रगोल भएको छ यो अंशवण्डा । अंशबण्डा गर्ने क्रममा पुजा ठाउँको त कसैलाई यादै पो भएन छ १ वास्तवमा याद नभएको हो कि वास्तै पो गरिएन छ – भगवान त कसैको भागमा परेन छन् । तिनै भगवानलाई घर पाइयोस भनेर कति पुकारा गरियो, अर्चना गरियो तर घर पाए पछि तिनै भगवानलाई बेवास्ता गरियो १ शायद त्यसैको परिणाम होला, घर पाएपछि पनि न त्यसलाई साचो अर्थमा घर बनाउन सकियो न टिकाउन सकियो ।
आज छोराले पुर्व हेरे छोरी पश्चिम हेर्छे, आमाले उत्तर हेरे श्रीमतीले दक्षिण हेर्छे । अनि म चाहिँ माथी हेर्छु र भन्छु – यसरी घर पाउनु भन्दा त … यस्तो घर पाउनु भन्दा त बरु पहिला कै घर ठिक थियो । घरपट्टिले अलिअलि हेप्थ्यो त्यो सहि हो तर पुरै परिवार यथार्थमा परिवार जसरी त बसेका थियौं, बाचेका थियौं – एक ढिक्का थियौं । अहिले त आफ्नै परिवार भित्र एकले अर्कालाई शत्रु सम्झिने एकले अर्कोलाई अनादर गर्ने र एकले अर्को माथी विभिन्न शंका गर्ने र लान्छना लगाउने काम मात्रै हुन थालेको छ !
स्वर्ग जस्तो मेरो घर वास्तवमा नर्क नै भएको छ ! मिल्ने भए पनि फर्काइदिन्थे म त यो घर, सत्य धरोधर्म !!!

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्