राहत वितरणमा ३२ लाख एक्लै वडा अध्यक्षले बुझे भने १ हजार रुपैयाको पिपिई १० हजार तिरी खरिद गरेको बिल पेश
तनहूँ । कोरोनाको महामारीको समयमा समाजसेवा गरेको, जनताहरुलाई सेवा गरेको बताउदै सामाजिक संजाल तथा टिभि , रेडियो , पत्रपत्रिकामा छाउने जनप्रतिनिधिहरुले कोरोना नियन्त्रणका नाममा लुट गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनले औल्याइएको छ । नेपालका प्रायश नगरापलिका र गाउँपालिकाभन्दा तनहूँका पालिकाहरुले कोरोना महामारीको समयमा विभिन्न शिर्षकमा रकम अत्याधिक दुरुपयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
सेनिटाईजर र अन्य औषधीमा जस्तै तनहूँका स्थानिय निकायले वजारमा सजिलै उपलब्ध हुने मास्क, पीपीई, थर्मोमिटर खरिदमा पनि अचकालि आर्थिक अनियमितता गरेको देखिएको छ । इन्फ्रारेड थर्मोमिटर खरिदमा गण्डकी प्रदेशको अन्य स्थानीय तहको तुलनामा तनहूँका स्थानीय तहले १० गुणा बढी महँगो शुल्क तिरेको पाइएको छ । गोरखाको गोरखा नगरपालिकाले प्रति थर्मोमिटर १ हजार रुपैयाँ दरले १० थान किन्दा तनहूँको पवित्र भुमी देवघाटधामको नामबाट नामाकरण गरिएको देवघाट गाउँपालिकाले १० हजार रुपैयाँ तिरेको खरिद गरेकोे छ । थर्मोमिटर खरिदमा मात्र होईन पीपीई खरिदमा पनि देवघाट गाउँपालिकाले त्यस्तै ब्रम्हलुट गरेको छ । गोरखाको सहिद लखन गाउँपालिकाले १ हजार ९ सय २१ रुपैयाँका दरले ३० थान पिपिई खरिद गरेकोमा देवघाट गाउँपालिकाले १० हजार रुपैयाँका दरमा ६ थान पीपीई खरिद गरेको देखाईएको छ ।
राहत सामाग्री खरिदमा पनि देवघाट गाउँपालिका अरु पालिकाहरुभन्दा एक कदम अगाडि रहेको छ । देवघाटले ३२ लाख ३१ हजार रुपैयाँको राहत सामग्री खरिद गरी वडाध्यक्षलाई बुझाई वितरणका लागि पठाएकोमा लाभग्राहीले बुझेको विवरण नखुलाई एकमुष्ट रुपमा भरपाई गराएको छ । ‘एकमुष्ट भरपाई गराएको कारण वितरण कार्य परदर्शी हुन सकेको छैन’, प्रतिवेदनमा उल्लेख छ । ३२ लाख भन्दा माथिको राहत सामाग्री लाभग्राहीले बुझेको विवरण नबनाई एकमुष्ट भरपाई गराएको कारण यस्मा पनि ठुलै घोटाला भएको आकंलन गरिएको छ । त्यतिमात्र होईन देवघाट गाउँपालिकाले क्वारेन्टिनमा खानपान व्यवस्थापनमा लाखौ रुपैया खर्च भएको विवरण पेश भएपनि त्यसमा पनि उल्लेख्य रकम हिनमिना गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।








