तनहूँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विभिन्न पदमा उमेदवारी दिने तनहूँका नेताहरुमा ४ जनामात्र सभापतिका उमेदवार शेरबहादुर देउवाको प्यानलमा सफल हुनुभएको छ । कृष्णप्रसाद सिटौलाको प्यानलबाट शेरबहादुर देउवाको प्यानलमा महामन्त्रीको भाग पाउने युवा नेता प्रदिप पौडेलले महामन्त्रीको उमेदवार हुनुहुन्छ भने देउवा पक्षबाट डाक्टर प्रकाशशरण महत पनि उमेदवार हुनुहुन्छ । सभापतिका उमेदवार डाक्टर शेखर कोईरालाको प्यानलबाट डाक्टर मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उमेदवार हुनुहुन्छ भने सभापतिका उमेदवार प्रकाशमान सिंहको प्यानलबाट विश्व प्रकाश शर्मा महामन्त्रीको उमेदवार हुनुहुन्छ । सभापति अर्का उमेदवार विमलेन्द्र निधिले पनि राजाराम कार्कीलाई उमेदवारको रुपमा अगाडि बढाउनुभएको छ । २ जना महामन्त्री चयन हुने भएकोले रिजाल, थापा, शर्मा, पौडेल र महतबिच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । त्यसैगरि तनहूँबाट शेरबहादुर देउवाको प्यानलमा पर्न सफल व्यक्तिहरुमा पूर्व मन्त्री शंकर भण्डारी, केन्द्रिय सदस्य गोविन्द भट्टराई हुनुहुन्छ । उहाँहरु दुवै खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा उमेदवार हुनुहुन्छ । भण्डारी र भट्टराई सामु ११० जनाहरुको बिचबाट केन्द्रिय सदस्य चुनिएर आउनुपर्ने चुनौति रहेको छ । त्यसैगरि संविधानसभाका सदस्य ध्रुव वाग्ले पनि शेरवहादुर देउवाको प्यानलबाट गण्डकी प्रदेशबाट खुल्ला केन्द्रिय सदस्यको उमेदवार हुनुनुभएको छ । उक्त पदमा गण्डकी प्रदेशका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली, सोभियत बहादुर अधिकारी , रेशमबहादुर बाँनिया र ध्रुव वाग्ले मध्ये २ जना विजयी हुनुहुनेछ ।
तनहूँबाट शेरबहादुर देउवाको प्यानलबाट पदाधिकारी तथा केन्द्रिय सदस्यमा उमेदवार हुने चारै जना गत निर्वाचनमा नेपाली कांग्रेसबाट संघिय तथा प्रदेशको निर्वाचनमा पराजित व्यक्तिहरु हुनुहुन्छ । महामन्त्रीका उमेदवार प्रदिप पौडेल , ध्रुव वाग्ले र गोविन्द भट्टराई प्रदेश सदस्यको निर्वाचनमा पराजित व्यक्ति हुनुहुन्छ भने शंकर भण्डारी संघिय सांसदको निर्वाचनमा पराजित उमेदवार हुनुहुन्छ ।
तनहूँबाट केन्द्रिय सदस्यमा उमेदवारी दिने संविधानसभा सदस्य रामचन्द्र पोखरेल, राष्टिय सभाका सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशका मुख्यमन्त्री डोवाटे बि.क. , आनन्दराज त्रिपाठी, दिपक भट्टराई पुर्णबहादुर गुरुगं र चिनु पोखरेल शेरबहादुर देउवाको प्यानलमा पर्नुभएको छैन ।








