तनहूँ । हरेक वर्ष सहिद दिवसको दिन आयोजना हुने कोरोना महामारीको कारण स्थागित भएको व्यास नगर अल्ट्रा म्याराथन –२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जित्नुभएको छ । सुनुवारले व्यास नगरपालिका वडा नं. ५ स्थित ऐतिहासिक स्थल मानहूँकोटदेखि व्यास नगरपालिका वडा नंं.. ८ स्थित सहिदबस्ति पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल हुनुभएको हो ।
उक्त म्याराथनमा मोहनदेव जोशी दोश्रो र नवराज साउथ तेश्रो हुनुभएको छ । उहाँहरुले निर्धारित दुरी क्रमशः ३ घण्टा ५ मिनेट र ३ घण्टा ९ मिनेटमा पार गर्नुभएको थियो । पहिलो, दोश्रो र तेश्रो हुने सुनुवार, जोशी र साउथ नेपाल आर्मीको हुनुहुन्छ ।
प्रतियोगिता पर्यटकीय क्षेत्र मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट– पृथ्वीराजमार्ग हुँदै दुर्गामन्दिर–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक व्यास मार्ग हुँदै बैरेनी कुमालटारी–कलेस्ती–बोटेटार–पाथ्रा–सत्रसय–कालिकामार्ग हुँदै बानियाँ डिही–बर्लाछी–सोतीबेसी–बगुवा रिस्ती–बाहुन पोखरा गाडापानी हुँदै शहिद गाउँ पुलिमराङमा पुगेर सम्पन्न भएको थियो ।
पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरिपालिकाको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको म्याराथनमा १८६ जना धावकहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पहिलोलाई ८५ हजार ७८ दोश्रोलाई ६५ हजार ७८, तेश्रोलाई ५५ हजार ७८ रुपैयाँ मेडल र प्रमाणपत्र पुरस्कृत गरिएको थियो ।








