तनहुँ । इलाका प्रहरी कार्यालय आबुखैरेनी, तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदी गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले प्रदान गर्ने ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट सम्मानित भएका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले २०८३ साल भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा प्रहरी निरीक्षक सुवेदीलाई छनोट गरेको हो। प्रदेश प्रहरी कार्यालयले उनलाई प्रदान गरेको प्रमाणपत्रमा संगठनको नीति निर्देशनअनुसार आफूलाई तोकिएको जिम्मेवारी तथा पदीय दायित्व इमान्दारी, कर्तव्यनिष्ठा र उत्कृष्ट ढंगले निर्वाह गरेको उल्लेख गरिएको छ।

प्रमाणपत्रअनुसार सुवेदीले भदौ महिनामा विभिन्न प्रकृतिका अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, भोटेकोशी बाढीमा परी मृत्यु भएका ३८ जनाको शव निकाल्ने कार्य, फरार प्रतिवादी पक्राउ गर्ने तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनले प्रहरी सेवामा देखाएको सक्रियता, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा कार्यसम्पादनको मूल्यांकन गर्दै २०८३ साल भदौ महिनाको ‘BEST POLICE OF THE MONTH’ घोषणा गरिएको प्रमाणपत्रमा उल्लेख छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीद्वारा हस्ताक्षरित प्रमाणपत्रमा उत्कृष्ट प्रहरी घोषित सुवेदीलाई बधाई तथा आगामी कार्यका लागि शुभकामना व्यक्त गरिएको छ।

प्रहरी निरीक्षक सुवेदीलाई उत्कृष्ट प्रहरी घोषणा गरिएपछि आबुखैरेनी क्षेत्रमा उनको कार्यसम्पादनको चर्चा भएको छ।