दमौली । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँको व्यास नगरपालिका–१० का युवा नेता उत्तम  मिश्रले महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

तीन दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसको विद्यार्थी तथा युवा राजनीतिमा सक्रिय मिश्रले विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टी संगठनमा आफ्नो राजनीतिक यात्रा अघि बढाएका छन्।

मिश्रले २०५२ सालमा नेपाल विद्यार्थी संघ बाराही माध्यमिक विद्यालय, फराकचौरको अध्यक्ष भएर विद्यार्थी राजनीति सुरु गरेका थिए। त्यसपछि २०५७ सालमा सरस्वती क्याम्पस, ठमेलमा स्वतन्त्र विद्यार्थी युनियन सभापति पदका प्रत्यासी बनेका थिए।

उनले २०५९ सालमा नेपाल विद्यार्थी संघ तनहुँको जिल्ला सदस्य, २०६२ सालमा नेपाल विद्यार्थी संघ तनहुँ–काठमाडौं सम्पर्क समितिको अध्यक्षको जिम्मेवारी सम्हाले। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै मिश्र २०६८ देखि २०७२ सम्म नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको केन्द्रीय सदस्य तथा कार्यवाहक सभापति समेत बने।

त्यसपछि पनि पार्टी संगठनमा निरन्तर सक्रिय रहेका मिश्रले २०७९ सालमा नेपाली कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए। हाल उनी २०८० सालदेखि नेपाल तरुण दलका केन्द्रीय सदस्यका रूपमा सक्रिय छन्।

विद्यार्थी राजनीतिबाट पार्टीको युवा संगठनसम्म आइपुगेका मिश्रले संगठन निर्माण, युवा परिचालन तथा पार्टीका विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताइन्छ।

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका मिश्रलाई पार्टीभित्र जुझारु र संघर्षशिल युवा नेताका रूपमा चिनिन्छ। तीन दशकभन्दा बढीको राजनीतिक अनुभव र विभिन्न संगठनात्मक जिम्मेवारीलाई आधार बनाउँदै उनले यसपटक नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तनहुँबाट महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।