तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ प्रदेश ‘क’ को सभापति पदका लागि कांग्रेसका युवा नेता ईश्वर पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ। पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै पार्टी संगठनलाई थप व्यवस्थित, समावेशी र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
व्यास नगरपालिका–१० का जनप्रतिनिधिसमेत रहनुभएका पौडेल नेपाली कांग्रेस व्यास–१० का क्षेत्रीय प्रतिनिधि, व्यास नगर समितिका पूर्वउपसभापति तथा तनहुँ–१ प्रदेश ‘क’ का वर्तमान पार्टी सचिव हुनुहुन्छ। विद्यार्थी तथा युवा राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँ पार्टी संगठनसँगै सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएको छ।
पौडेलले पार्टीभित्र सबै पुस्ताको सहभागिता र समन्वयलाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाउनुभएको छ। उहाँले अग्रजको अनुभवलाई सम्मान गर्दै युवाको ऊर्जा र क्षमतालाई संगठन निर्माणमा जोड्नुपर्ने धारणा अघि सार्नुभएको छ।
“कांग्रेसलाई बलियो बनाउन सबै पुस्तालाई साथमा लिएर अघि बढ्नुपर्छ। अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीचको समन्वयले संगठनलाई थप मजबुत बनाउन सक्छ,” पौडेलले भन्नुभयो।
उहाँले युवालाई पार्टीको मूलधारमा जोड्दै नेतृत्व विकासका लागि पर्याप्त अवसर सिर्जना गर्ने, कार्यकर्तासँग नियमित संवाद गर्ने र संगठनलाई व्यक्तिकेन्द्रित नभई कार्यकर्तामैत्री बनाउने आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ।
पौडेलले उम्मेदवारीसँगै ‘सहभागिता, सिद्धान्त, प्रतिबद्धता, प्रगति र समृद्धि’ लाई आफ्ना पाँच मूल आधारका रूपमा अघि सार्नुभएको छ। पार्टीको सिद्धान्त र आदर्शलाई व्यवहारमा उतार्दै संगठनलाई जनतासँग थप नजिक पुर्याउने उहाँको भनाइ छ।
“पार्टी संगठन कुनै व्यक्ति विशेषको होइन, सबै कार्यकर्ताको साझा थलो हो। अग्रजको सम्मान, कार्यकर्ताको भावना र युवाको सहभागितालाई समान महत्व दिएर संगठन अघि बढाउनुपर्छ,” पौडेलले भन्नुभयो।
स्थानीय जनप्रतिनिधिका रूपमा समेत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका पौडेलले आफूले पाएको जिम्मेवारीलाई संगठन निर्माण र जनसेवाको अवसरका रूपमा लिँदै आएको बताउनुभएको छ। पार्टीभित्रको आन्तरिक एकता, विचार र नीतिलाई प्राथमिकतामा राख्दै कांग्रेसलाई जनतासँग अझ नजिक लैजाने उहाँको प्रतिबद्धता छ।
प्रदेश ‘क’ को सभापति पदमा पौडेलको उम्मेदवारीसँगै स्थानीय कांग्रेस वृत्तमा चुनावी गतिविधि थप सक्रिय हुने देखिएको छ। सरल स्वभाव, सहज व्यवहार र कार्यकर्तासँगको निरन्तर सम्पर्कलाई आफ्नो राजनीतिक शैलीका रूपमा अघि सार्दै आउनुभएका पौडेलले यसपटक संगठनको नेतृत्वका लागि आफूलाई प्रस्तुत गर्नुभएको हो।









