जापानी अर्बपतिसँग नेपालका सुरेश भट्टराईले घुम्न पाउलान् त चन्द्रमा ?

  • ख-
  • ख+

गत डिसेम्बरमा जापानी अर्बपति युसाको मेजावाले आफूसँग चन्द्रमा घुम्न जाने जीवन संगिनीको खोजी गरे। सन् २०२३ मा आफूसँग चन्द्रमामा घुम्न जान जीवन संगिनी चाहेको भन्दै उनले आवेदन खुलाएका थिए। त्यसका लागि उनले केही मापदण्ड पनि तोके। पछि व्यक्तिगत कारण देखाउँदै उनले माफी मागेर उक्त निर्णय फिर्ता गरे। केही समयपछि उनले फेरि चन्द्रमा घुम्न जाने अर्को प्रोजेक्ट सुरू गरे। ” डियर मुन ” नामक प्रोजेक्टअन्तर्गत उनले संसारभरिका ८ जनालाई आफ्नै खर्चमा चन्द्रमा घुमाएर ल्याउने घोषणा गरे। त्यसका लागि उनले आवेदन खोले।

टेस्लाका मालिक अर्बपति एलन मस्कको स्पेस एक्सको स्टारसिप रकेटबाट चन्द्रमामा जान युसाकोले सन् २०१८ मै सिट बुक गरिसकेका थिए। अनलाइनमार्फत् लत्ता कपडा बेच्ने जापानी कम्पनी जोजोका संस्थापक ४४ वर्षीय युसाकोसँग चन्द्रमा घुम्न जान भन्दै विश्वभरबाट १० लाख बढीले आवेदन दिए। तीमध्ये एक जना नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराई पनि थिए। भारतका साथीबाट डियर मुनबारे जानकारी पाएका उनले चन्द्रमा जाने अवसर आएको भन्दै अरूलाई पनि आवेदन भर्न भने। सोसाइटीकै पेजबाट पनि प्रचारप्रसार गरे। उनकै विद्यार्थीहरूले पनि आवेदन भरे।

हामीले चन्द्रमामा जाने मौका पाइहालिन्छ कि भनेर अरूलाई अप्लाई गर्न भनिराखेका थियौं। विश्वभरबाट १० लाख बढीले आवेदन दिएको देखियो, उनले सेतोसाटीसँग भने, नेपालबाट करिब १० हजार जतिले भरे होलान् । मार्च १४ तारिखमा आवेदन भर्ने समय सकिएको थियो। चन्द्रमा घुम्न जाने प्रोजेक्टमा छानिन पाँच वटा चरण पार गर्नु पर्नेछ। भट्टराई अहिले तेस्रो चरणमा पुगेका छन्। अहिले चन्द्रमा घुम्ने उनको आशा बलियो बन्दै गएको छ। पहिलो चरणः प्रि रेजिस्ट्रेसन गर्ने बेलामा आफ्नो व्यक्तिगत विवरण, चाहनाहरू व्यक्त गर्ने, कुन कुन सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने गरेको छ जस्ता कुरा मागिएको थियो। त्योसँगै अर्को एउटा प्रश्न पनि सोधिएको थियोः तपाईं अरूको काम पनि आफ्नो काम हो भनेर मान्नुहुन्छ कि हुन्न ? उनले विवरण र सोधिएको प्रश्नको उत्तर दिएपछि उनी दोस्रो चरणका लागि छानिएका थिए। नेपालबाट आवेदन भरेकामध्ये अरू कति जना दोस्रो चरणको लागि छनोट भए आफूलाई थाहा नभएको उनले बताए। दोस्रो चरणमा पनि दुई वटा प्रश्न सोधिएको थियो, आफ्नो रूचीको क्षेत्र र कामबारे हामीलाई भन्नु ? , डियर मुनमा सहभागी भएर आफ्नो परियोजना कसरी विकसित हुन्छ र समाजलाई कसरी योगदान पुर्‍याउनु हुन्छ ? ती प्रश्नको उत्तर दिएपछि केही समयअघि उनलाई तेस्रो चरणको लागि छनोट गरिएको हो।

तेस्रो चरणमा डियर मुनले एउटा काम दिएको छ। अहिले त्यही काम अन्तर्गत उनले एउटा भिडिओ बनाएका छन्। अस्ति मलाई तपाईं तेस्रो चरणको लागि छनोट भएको भनेर इमेल आयो, भट्टराईले भने, मार्च ३१ जापानी मध्यरातसम्म एक मिनेटभन्दा छोटो भिडिओ पठाउन भनेको थियो। आफ्नो बारेमा भन्नु अरू जे गरे पनि हुन्छ भनेर भन्यो। उनले हतारमै बनाएर ४८ सेकेन्डको भिडिओ बनाएर पठाइहाले। एकै मिनेटको भिडिओ बनाए फेरि आफू छनोट नहुने डरले छोटो भिडिओ बनाएको उनले बताए। एक मिनेट वा त्योभन्दा लामो भयो भने फालिदिन्छ। जापानमा एकचोटी १० मिनेटको प्रिजेन्टेसन दिँदा ठिक १० मिनेट पछि ल जाऊ सक्यो तिम्रो समय भनेर पठाएका थिए, उनले भने, अब पनि त्यस्तै हुन्छ भनेर मैले रिस्क लिइनँ। तेस्रो चरणको लागि आफूले सुरूमा प्रयोग गरेको इमेल र भिडिओको लिङ्कमात्रै मागिएको उनले बताए। यो भिडिओ पब्लिक पनि गर्न भनेको छ सक्दो सेयर पनि गर भनेको छ। अर्कोतिर अनलिस्ट पनि गर्न सक्छौं भनेको छ। यसो हेरेर पब्लिक भ्वाइस हेर्न खोजेको हो कि भन्ने लागेर मैले सामाजिक सञ्जालमा सेयर गरें, उनले भने, नेपालमा अरूले राखेको देखेको छैन। तर विदेशका टपटप मान्छेहरूको भिडिओ देखें। अब प्रोमोट गर्नुपर्छ भनेर सेयर गरेँ। चौथो चरणमा अनलाइन इन्टरभ्यूका हुनेछ। त्यसबाट पनि छनोट भएपछि पाँचौं चरणको लागि मेसम्ममा अन्तिम इन्टरभ्यू र मेडिकल चेकअप गरिनेछ। त्यसपछि ट्रेनिङको लागि बोलाउने उनले बताए।

म त यसको एक पात्रमात्रै हो। आफ्नो मन भएको क्षेत्रमा लागि राख्यो भने अवसरहरू जुट्न सक्छ। म जान्छु, जान्नँ त्यो छुट्टै कुरा भयो तर आफ्नो सपनाको निरन्तर पछि लागि राख्नपर्छ भन्ने हो, उनले भने, जसले खुसी दिन्छ त्यही गर्नुपर्छ। अब गइ हालें भने एउटा उदाहरण हुनेछु। सहभागीहरूलाई केका आधारमा कसरी कुन तरिकाबाट छानिएको हो आफूलाई थाहा नभएको बताए। डियर मुन प्रोजेक्टले छनोट गरेको प्रक्रियालाई सार्वजनिक गरेको छैन।आफूलाई एस्ट्रोनट बन्न मन भएको पनि उनले बताए। तर विभिन्न कारणवश हुन नसकेकोले यही एउटा माध्यमबाट आफू चन्द्रमा घुम्न सक्ने उनको भनाइ छ। म गइहालें भने युवाहरूमा आशा जाग्नेछ। आउँदो पुस्ताले नेपालीहरूले पनि केही गर्न सक्छ भन्ने एउटा मानसिकता हुन्छ। गर्‍यो भने हुँदो रहेछ भन्ने सोच्न थाल्छ भन्ने हो, उनले भने, अहिले म एकदम हर्षित छु। पठाओ चढ्दा पनि अहिले म पठाओ चढ्दै छु केही समयपछि म रकेट चढ्दै हुनेछु भन्ने सोच्न थालेको छु। आफू सधैँ चन्द्रमाको नजिक भएको र यसले थप नजिक बनाउने उनले बताए। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्