कृषि पेशालाई सम्मानित पेशा बनाउने सबैको लक्ष्य हुनुपर्छःगीता अधिकारी पाण्डे

  • ख-
  • ख+

कुनै समय थियो नेपाल कृषिप्रधान देशको नामले चिनिन्थ्यो । यहाँका फाँटहरुमा सुन फल्थे, डाँडाकाँडामा खेतिपाती हुने गर्थ्यो तर बिस्तारै हामी नेपालीहरु यति सौखिन हुदै गयौ कि आज दाल, चामल त परै जावोस् गुन्द्रुक पनि विदेशबाट मगाएर खाईरहेका छौ । हामी विदेशमा रगत बगाउन तयार हुन्छौ तर आफ्नो माटोमा सुन उब्जाउन लाज मान्छौ । कृषि पेशा अर्थात किसानकर्म त सामान्य मानिस, निम्न आय भएका मानिस, बिदेश जानै नसक्ने मानिसहरुले गर्ने काम हो भनेर हाम्रो दिमागमा छाप नै बसिसकेको छ । सरकारले पनि कृषि पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्ने र श्रमलाई सम्मान गर्ने सोचको बिकास गर्ने सवालमा खासै बिशेष केहि पनि गर्न सकेको छैन त्यस्तो हुदाँहुदै पनि निजी क्षेत्रबाट, व्यक्तिगत तवरबाट कृषि पेशा, पशुपालन पेशालाई सम्मानित बनाउने तर्फ अनेक प्रयास भएका छन् अनेकन उदाहरिणय कामहरु भएका छन् । त्यस्तै कृषि तथा पशुपालन पेशालाई सम्मानित पेशा बनाउने रकमाई हुने पेशा बनाउने प्रयत्न गर्ने व्यक्ति हुनुहुन्छ भानु नगरपालिका वडा नं. ९ चितिखोलाकी गीता अधिकारी पाण्डे । वहाँ चाहनुहुन्छ कृषि पेशालाई पशुपालन पेशालाई सरकारले होईन आफैले सम्मानित पेशा बनाउने हो, सम्मान अरुले गर्लान् होईन आफुले सम्मान गर्ने वातावरण बनाउने हो । सम्पन्न मानिस, पढेलेखेको मानिसले, जागिर खाएको मानिसले , छोराछोरी विदेशमा भएको मानिसले कृषि तथा पशुपालन पेशा अपनाउनै हुन्न भन्ने सोचलाई पनि परिवर्तन गर्ने वहाँको तिब्र चाहना छ । यीनै तिब्र चाहानाले गर्दा काठमाण्डौको सुविधा सम्पन्न बसाई, जागिर र सुखसयल छोडेर आफ्नो पुख्र्यौली थातथलोमा कृषि कर्म गरिरहनुभएकी ग्रिन हिमालय अर्गानिक फार्मकी संचालिका गीता अधिकारी पाण्डेसगको कुराकानी सर्वज्योतिमा:


प्रश्नः तपाई त पढेलेखेको मान्छे सम्पन्न परिवारको मान्छे कसरी कृषि पेशातिर पशुपंक्षी पालनतिर आर्कषित हुनुभयो ?
हुन त काठमाण्डौ बस्ने मान्छे भएपनि मेरो पुख्र्यौली थलो यहि हो । मैले यस स्थानमा केहि गर्न नपाएको भएपनि आफ्नो गाउँमा आफ्नो ठाउँमा नै गएर केहि गर्छु भन्ने पहिलेदेखि कै सोच थियो त्यसै अनुरुप आफुले खाईरहेको जागिर पनि छोडेर गाउँ नै जान्छु, बनाउनु पर्ने पूर्वाधारहरु बनाउछु ,आफुलाई मात्र होईन समाजलाई पनि फाईदा पुग्ने हिसावले केहि काम गर्छु भनेर आएको हुँ । बिस्तारै विभिन्न जातका कुखुरा, बट्टाई, हाँस, कालिज, टर्कि, गाई, तरकारी खेतिबाट शुरुवात गरिरहेको छु । स्थानिय कुखुरालाई बढावा दिन ह्याचिगं प्रविधि पनि भित्र्याएको छु । हामी बिशेषत स्थानिय चल्ला उत्पादनलाई बढावा दिईरहेका छौ । ३ हजार चल्ला निकाल्ने क्यापसिटीको ह्याचिगं मेसिन हुदा पनि २, ३ महिनासम्मको लागि चल्ला बुकिगं भईसकेको छ । ठुला कुखुरा बेच्नको लागि होटलहरु संचालनमा नभएको हुनाले कठिन भएको सुनिएको छ तर मेरो बिशेष जोड चल्लाहरु भएकोले राम्रोसग बिक्री भईरहेको छ ।

प्रश्नः आजकल त मानिसहरु शहर बजार केन्द्रित हुने चलन बसिसकेको छ तपाई त झन् नेपालको एउटा जिल्लाको प्रमुख जिल्ला अधिकारीको श्रीमती यो स्थान त्यति विकट त होईन तै पनि लामो जीवन काठमाण्डौमा बिताएका मानिसहरुलाई विकट लाग्ने ठाउँमा आएर यस्तो काम गर्न गारो भएन परिवारले कसरी स्विकृति दियो ?
शुरुमा परिवारलाई कन्भिन्स गर्न त एकदमै गारो भयो, केटाकेटी सासुआमा सबैलाई सम्झाउन गारो पर्यो तर मेरो र मेरो श्रीमान्को लक्ष्य चाँहि जागिरको सिलसिलामा जता दौडन परेपनि रिटायर लाईफ चाँहि गाउँमै गएर बिताउने भन्ने अठोट थियो । एकदिन हामीले सल्लाह गर्यौ अब त केटाकेटी पनि हुर्किईसके अबको १० बर्षपछि गाउँ जानुभन्दा आज नै गाउँमा गएर केहि किन न गर्ने ? पूर्वाधार तयार पार्न सकिन्छ । हामीले केहि गरेपछि अरुलाई पनि गाउँमै बसौ भन्ने वातावरण पनि बन्छ कि ? त्यसपछि गाउँ आए म यहाँ आएपछि पो लाग्यो मलाई आहा कति राम्रो वातावरण, कति राम्रो हावापानी छ, कति सुन्दर ठाउँ । फेरि हामी नेपालीहरु अनेक किसिमका खानपिनबाट रोगी भईरहेका छौ, आफ्नै उत्पादन, अर्गानिक खाना अनि कृषि कर्म त भईहाल्यो सगसगै व्यापार पनि भईहाल्छ भन्ने सोचेर नै ३ बर्ष जति अगाडिदे ियहि बसिरहेकाी छु । त्यतिबेला केटाकेटी, सासु आमा पनि हुन्न कि दुः ख पाउछेउकी ? भन्नुहुन्थ्यो आज मैले गरेको देखेर सबै खुशी हुनुहुन्छ । अब त गाउँमै रमाए फर्किदैनन् भन्ने सोच्नुभएको छ ।


प्रश्नः थोरै रकममा पशुपालन पेशा गर्नको लागि कति जति रकम लाग्छ बताईदिनुस् न ।


बिसौ बर्षदेखि छोडेको थलो हो यो आएर शुरुमा लगानी गर्दा खेरि अलि बढि नै लगानी भएको छ तर जुन हिसावले हामीले तार जाली, खोर बनाएका छौ हेर्दा जति धेरै लाग्छ भनेर मानिसले अनुमान गर्नुहुन्छ त्यस्तो भएको छ छैन । वास्तवमा हामीले दिर्घकालिन गर्ने हिसावले अलि बढि नै लगानी गरेका छौ थोरै रमबाट शुरु गर्न खोज्नेले तार जाली नै लगाउनुपर्छ भन्ने छैन, हामीले पनि सकेसम्म स्थानिय श्रोत साधन बाँस, काठको प्रयोग गरेका छौ त्यहि भएर खासै महगों छैन । हामीले पुरानो घर पुरानो धंसार प्रयोग गरेर बढाउदै लगेका छौ । ईच्छा हुने मानिसले कम लगानीमा पनि गर्न सकिदैन भन्ने छैन सजिलै सकिन्छ । सानोबाट पनि त आफ्नो व्यापा रव्यवसाय बिस्तार गर्न सकिन्छ नि ।


प्रश्नः मानिसहरुमा जागिरै खाँउ विदेशै जाउँ कृषि पेशा पशुपंक्षी पालेर केहि हुन्न भन्ने सोचिरहेको पाईन्छ कस्तो छ यो पेशाबाट हुने कमाई ?

हेर्नुस् काम त जे भनेपनि गर्नुपर्छ , केहि श्रोत र साधन नभएको देशमा त यहि पेशाबाट कत्रो आम्दानी गरेका छन् भने हाम्रो जस्तो हावापानीदेखि श्रोत र साधनले सम्पन्न देशमा गरे नहुने केहि छैन बस् जे गरेपनि अलि फरक सोच र ढंग प्ुर्याएर गर्नुपर्छ , राम्रो जागिरभन्दा कम कमाई हुन्छ भन्नै पर्दैन । अलिकति ढंग पुर्याएर गरियो भने पक्कै सफल भईन्छ । पशुपंक्षी पाल्ने दानादेखि घाँस पनि सबै किन्न, चल्ला पनि सबै र सधै बाहिरबाट ल्याउने हो भने कसरी कष्ट मिनिमाईज हुन्छ त ? कमायो सबै अरुलाई बुझाएर त भएन नि आफ्नो उत्पादन पनि त बढाउनुपर्यो । मैले एन्जिओ आईएन्जिओमा जागिर खान्थे त्यसमाभन्दा यस्मा धेरै कमाई रहेको छु ।, सन्तुष्टिको त कुरै भएन त्यो जागिरमा म सधै नहुन सक्थे तर म यो पेशा सधै अपनाउन सक्छु त्यसमा बढ्ने तलबभन्दा यस्मा मेरो आम्दानी बढ्ने छ । आफुमात्र होईन म २,४ जनालाई रोजगारी दिन सक्छु , अरुलाई सिकाउन सक्छु ।

(विज्ञहरुसग गीता अधिकारी पाण्डे)


प्रश्नः तपाईका कुरा सुन्दा लाग्छ तपाई सिडियोको श्रीमती भएर बस्नुभन्दा , एन्जिओ, आईएन्जिओको जागिरे भएर बस्नुभन्दा अहिले अंगालरहेको पेशाबाट तपाई एकदमै सन्तुष्ट देखिनुभएको छ यो पेशालाई सम्मानको भावनाले नहेर्ने, यो पेशा पनि अपनाउछन् त भन्ने जमातलाई के भन्न चाहानुहुन्छ ?
मान्छेले भन्यो भने एय अर्ति उपदेश दिने भन्लान् त्यसैले खासै त्यस्तो भन्ने मन त छैन तै पनि मेरो हुर्काई, बडाई जागिर सबै काठमाण्डौ भयो । खास्सै दुःख देख्नु पनि परेन दुःख गर्नुपरेन । यो काम गर्ने गरि गाउँ आउनै लाग्दा हामी श्रीमान् श्रीमतीमा एउटा अठोट त थियो तर ईष्टमित्र, साथभाई सबैले पत्याउनु हुदैन थियो २, ४ दिनको रहर हो पुरा गरेर आउछन् भन्नुहुन्थ्यो तर जब म यहाँ आए आज मलाई काठमाण्डौभन्दा यहि ठाँउ प्यारो लागेको छ । धुलो मैलोमा नेटेपनि पुग्ने मलाई कुखुरा, टर्कि, कालिज स्याहार्दै हिड्दा आनन्द आएको छ । खान त ओछ्यानमा बसि बसि पनि खान सकिन्छ होला तर राति विरात उठेर आफुले पालेका वस्तुहरु के गर्दै होलान् भनेर उठेर हेर्नुको आनन्द कुनै सम्पत्तिले किन्न सकिदैन । म आफुमात्र आत्मनिर्भर बन्न खोजेको छैन म आफुमात्र कमाउन खोजेको छैन अरुहरुलाई पनि ल है केहि गर्नुपर्छ है भनेर हौसला र सर्पोट गरेको छु , सिकाएको छु । मानिसहरुमा हेर त फलानोको श्रीमतीले त यस्तो काम गरेर बसेकि छ तिमीले गर्न नहुने ? भन्ने बनाईदिएको छु । अब कसैले पनि यो क्षेत्रमा कुखुरा पाल्ने ,खेतिकिसान गर्ने मान्छे सानो हुन्छ , किसानी गर्ने भनेको खानै नपाउनेले गर्ने, कमाउन नसक्नेले गर्ने, विदेश जानै नसक्नेले गर्ने भन्ने सोच्न पनि सक्दैन त्यो पनि अप्रत्यक्ष हामी सबैकोे लागि खुशीको कुरा हो । म आफुलाई परिवर्तन गर्न मात्र होईन समाजको सोचलाई गाउँलाई परिवर्तन गराउनको लागि पनि यो काम गरिरहेको छु । म चाहान्छु म मात्र हैन सबै नेपाली गर्वका साथ भन्न सकोस् हामी कृषि प्रधान देशका नेपाली ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्