आफ्नै सुपुत्र मुख्यमन्त्री कृष्णचन्द्र नेपालीद्धारा प्रजातन्त्रका सेनानी स्वर्गिय गोवर्धन शर्माको मानमर्दन !

  • ख-
  • ख+

म जीवनभर रामचन्द्र पोखरेल, डा. जगदिशचन्द्र पोखरेल, कृष्णचन्द्र नेपाली पोखरेल जति नै ठुलो मान्छे भएपनि श्रद्धेय स्वर्गिय गोवर्धन शर्माका छोराहरु भनेर चिन्दछु । उहाँहरुका बुबाले प्रजातन्त्र प्राप्तिको लागि गरेको योगदान सम्झन्छु । म उहाँहरुमा मेरा बुबाले सुनाएको गोवर्धन शर्माको ईमान, जमान, नैतिकता र विद्धता खोज्दछु तर…

तनहूँ । ”गोवर्धन शर्मा एकदमै अनुकरणिय व्यक्ति हुनुहन्थ्यो , अनुशासित हुनुहुनुहुन्थयो, संगठन गर्ने कुशल क्षमता थियो र निर्भिक हुनुहुन्थ्यो ।” यो भनाई नेपाली राजनितिका लौह पुरुष गणेशमान सिंहले गोवर्धन शर्माको बारेमा भन्नुभएको थियो । आज शायद गणेशमान सिंह भौतिक रुपमा जिवित भएको भए वहाँका सुपुत्र गण्डकी प्रदेशका मुख्यमन्त्रीले बाबुको नाममा बजेट छुट्याउने अनि फेरि जनविरोधपछि हटाउने चर्तिकला देख्नुभएको भए शायदै भन्नुहुन्थ्यो होला र ?
बि.सं. १९७१ साल कार्तिक १६ गते जन्मिनुभएका स्वर्गिय गोवर्धन शर्माको स्वर्गारोहण बि. स. २०४६ साल बैशाष ९ गते भएको थियो । नेपाली कांग्रेसका नयाँ पुस्तालाई थाहा नभएपनि र जान्ने नचाहे पनि नेपाली कांग्रेसको संगठन बलियो हुनुमा स्वर्गिय गोवर्धन शर्माको अतुलनिय योगदान रहेको छ । झन् तनहूँ कांग्रेसको संगठन बलियो बन्नुमा मुख्यरुपमा गोवर्धन शर्माको योगदान रहेको छ भन्दा कसैप्रति अन्याय नहोला । म वहाँको छिमेकी गाउँले भएको कारण बिशेषतः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका दाजु संविधानसभाका सदस्य रामचन्द्र पौडेल जिविस तनहूँको सभापति हुनुभन्दा अगाडि तालघरे, सेवर हुदै पैदल आफ्नो थलो पोखरेलफाँट जाँदा प्रायशः मेरो बुबासग हाई हेल्लो गरेर जानुहुन्थ्यो । एकपटक बुबाले भन्नुभएको थियो ”रामचन्द्र पोखरेलका बुबा गोवर्धन शर्मा धेरै विद्धान र राम्रो मान्छे अनि राजनितिमा धेरै दुःख गरेको मान्छे, धेरै माथि पुग्नुपर्ने मान्छे मन्त्री हुनुपर्ने गुटबन्दिको मारमा पर्नुभयो ईत्यादि ईत्यादि…।” बालककालमा बुबाले भनेको कुराले गर्दा अग्लो, पातलो ख्वाउटे, लमक लमक हिड्ने रामचन्द्र पोखरेललाई जहिले जहाँ देखेपनि म त्यो कुरा सम्झिन्थे र हेरिरहन्थे । मेरो बुबा त यस संसारमा हुनुहुन्न किन्तु अहिले पनि रामचन्द्र पोखरेललाई देखे भने बुवाले भनेका ति शब्दहरु मेरो कानमा गुन्जिरहन्छन् ।
म जीवनभर रामचन्द्र पोखरेल, डा. जगदिशचन्द्र पोखरेल, कृष्णचन्द्र नेपाली पोखरेल जति नै ठुलो मान्छे भएपनि श्रद्धेय स्वर्गिय गोवर्धन शर्माका छोराहरु भनेर चिन्दछु । उहाँहरुका बुबाले प्रजातन्त्र प्राप्तिको लागि गरेको योगदान सम्झन्छु । म उहाँहरुमा मेरा बुबाले सुनाएको गोवर्धन शर्माको ईमान, जमान, नैतिकता र विद्धता खोज्दछु तर अनयासै मेरा आँखामा उहाँका सुपुत्र गण्डकी प्रदेशका मुख्यमन्त्री श्रद्धेय कृष्णचन्द्र नेपालीले गरेका कामहरुको याद आउछ , जग्गाको छिनोफानो नै नगरिकन केहि महिना अगाडि उहाँले तनहूँ दमौलीमा रहेको दमौली अस्पताल नजिकै आफ्नो बुबाको नाममा ‘गोवर्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ भवन निर्माणस्थलको सिलन्यास त गर्नुभएको थियो । अर्को कार्यालयको जग्गामा गरिएको भवन सिलन्यास कार्यक्रम भव्य त भयो , मुख्यमन्त्रीको गुणगान गाउन हजारौ कार्यकर्ताहरुको उपस्थिति त गराईयो तर आज तिनै कार्यकर्ता जग्गाको निधो नै नगरिकन भवन निर्माणको सिलन्यास गरिएको रे भन्दा बोल्न नसक्ने अवस्थामा छन् । उक्त केन्द्र ‘गोवर्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न यसपटकको वजेटमा गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ छुट्याएको छ मुख्यमन्त्रीको बजेट छुट्याउने चाला देख्दा यो पनि पक्कै कार्यकर्ताहरुलाई चारो छर्ने काम होला भन्दा अतियुक्ति नहोला ।
हतार हतारमा गोवर्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’को भवन निर्माणको सिलन्यास गर्ने मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशकै बजेटमा आफ्ना बुवा गोवर्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका १० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरेपछि विवाद ह्वात्तै बढेको छ । गोवर्धन शर्माको नाममा खोलिएको कोषमा रकम राखेपछि मात्र विवाद भएको होईन गण्डकी सरकारले सरकार पक्षका व्यक्तिका आमाबुबाका नामका संस्थाहरुलाई व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन करिब १० करोड बजेट विनियोजन गरेपछि मानिसहरुको सामु गण्डकी प्रदेश सरकारको मुहार उदागों बनेको छ । मुख्यमन्त्री पोखरेलले बुवा गोवर्धन शर्माका नाममा तनहूँको व्यास १० मा रहेको कोषले धेरै पटक रकम पाएको तर काम के भएको छ देखाउन सकेको छैन । उक्त कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएकोमा विरोधभन्दा पनि जुन हिसावबाट सरकारी सम्पत्तिमा दाँई गर्न लागिएको छ यस्ले गोवर्धन शर्माजस्ता प्रजातन्त्रका सेनानीको त मानमर्दन गरेको छ नै समग्र प्रदेश संरचनाप्रति पनि बलियोसग प्रश्न उठाएको छ । प्रजातन्त्रको लागि लडेका आफ्ना पितालाई आफ्नो पार्टी नेपाली कांग्रेसबाट भएको उपेक्षाबाट पिडित भएर आफ्नो बुबाको नाममा लाखौ रकम बजेट छुट्याउनुभन्दा अगाडि महामानव विपि कोईरालाको तलका भनाईहरु सम्झेको भए शायद श्रद्धेय गण्डकी प्रदेशका मुख्यमन्त्री एवं श्रद्धेय स्वर्गिय गोवर्धन शर्माका सुपुत्र कृष्णचन्द्र नेपाली पोखरेलको घैटामा घाम लाग्थ्यो कि ? ”गोवर्धनजी (तपाई) ले बडो लगनशिलताका साथ काम गर्नुभयो … गोठमा भएका गाईमध्ये ईमान्दार … लाई दाम्लो चाँहिदैन । दाम्लो नभए पनि उ आफ्नो ठाउँमा बसिरहन्छ ।” विश्वेश्वरप्रसाद कोईराला । नत्र गोवर्धन शर्माको नामको कोषलाई बजेट छुट्याउने र फेरि जनताका आँखामा छारो हाल्न बजेट हटाउने कार्यले जनताप्रति मुख्यमन्त्री पोखरेलको ईमान्दारितामा प्रश्न त उठेको छ नै स्वर्गिय गोवर्धन शर्माप्रति पनि मानमर्दन भएको छ ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्