नेपाली कांग्रेसको आवश्यकता: बिशेष महाधिवेशन कि बिशेष एकता ?- हुतमणी अधिकारी

हुतमणी अधिकारी
  • ख-
  • ख+

नेपाली राजनीतिको मियो मानिने नेपाली कांग्रेस यतिबेला इतिहासकै एक अत्यन्तै जटिल र संवेदनशील मोडमा उभिएको छ। एकातिर फागुन २१ का लागि घोषित निर्वाचनको राप छ, अर्कोतिर पार्टीभित्रको आन्तरिक द्वन्द्वले ‘विशेष महाधिवेशन’ अनिवार्यताको चाप छ । दुई महामन्त्रीको हस्ताक्षरसहित सार्वजनिक भएको विशेष महाधिवेशनको आह्वानले एकातिर पार्टीभित्रको वैचारिक , सांगठनिक मतभेद र तिक्ततालाई सतहमा ल्याएको छ भने अर्कोतिर यसले पार्टी बिभाजनमा नै पुग्ने हो कि भन्ने संशयले आम कार्यकर्ता र शुभचिन्तकहरूमा ठूलो चिन्ता पैदा गरेको छ।

हिजोको काङ्ग्रेस आजको काङ्ग्रेस :
नेपाली कांग्रेस त्यो पार्टी हो, जसले हरेक संकटमा देशलाई निकास दियो। तर आज, यो पार्टी आफैँभित्र निकास नपाएर छटपटाइरहेको छ। निर्वाचनको मुखमा पार्टी एकजुट हुनुपर्नेमा दुई धारमा बाँडिएर बिबादको सगरमाथा खडा गरेर विशेष महाधिवेशनको अबस्थामा पुग्नु सुखद र।पार्टीको लागि शुभ संकेत किमार्थ होइन।

अनि के वर्तमान नीति र नेतृत्व लिएर यथास्थितिमा निर्वाचनमा होमिँदा विजय सम्भव छ?

यो प्रश्न झनै गम्भीर छ। जनताले कांग्रेसबाट नयाँ आशा, नयाँ भरोसा र ठोस कार्यक्रम खोजेका छन्। तर अहिलेको नेतृत्व केवल सत्ताको गणित र गुटको रक्षामा केन्द्रित देखिँदा कार्यकर्तामा चरम निराशा र आक्रोश समेत छाएको छ।

​विभाजन होइन, रूपान्तरणको बाटो

निर्वाचनको मुखमा हुने विशेष महाधिवेशन वा आन्तरिक कलहले पार्टीलाई थप कमजोर बनाउन सक्छ। इतिहास साक्षी छ, कांग्रेस जब-जब विभाजित हुन्छ , लोकतन्त्र नै जोखिममा पर्छ। त्यसैले, अहिलेको आवश्यकता ‘विभाजन’ होइन, ‘रूपान्तरण’ हो।
​नेतृत्वले बुझ्नुपर्छ कि— “पदको सुरक्षाभन्दा पार्टीको भविष्य ठूलो हो।”

​अहिलेको अत्यन्त नाजुक अवस्थामा पार्टीलाई फुटबाट जोगाउन र निर्वाचनमा विजयी तुल्याउन निम्न उपायहरू अवलम्बन गर्नु अनिवार्य देखिन्छ:

​१. नीति र नेतृत्वको स्पष्ट मार्गचित्र:

महामन्त्री द्वयले उठाएका मुद्दाहरूलाई ‘विद्रोह’ को रूपमा मात्र नहेरी त्यसलाई ‘सुधारको आह्वान’ को रूपमा लिनुपर्छ। नेतृत्वले सुझबुझ पूर्ण निर्णय गरी सबै पक्षलाई समेट्ने गरी ‘चुनावी घोषणापत्र र भावी नेतृत्वको स्पष्ट कार्ययोजना’ सार्वजनिक गर्नुपर्छ।

​२. सांगठनिक एकताको सूत्र:

विशेष महाधिवेशन वा नियमित अधिवेशनको विवादमा अल्झिनुभन्दा ‘विशेष एकता महाधिवेशन’ को भावनाबाट अघि बढ्नु पर्छ। जहाँ पुरानाको अनुभव र युवाको जोसलाई समायोजन गर्ने गरी ‘शक्ति बाँडफाँड’ (Power Sharing) को सम्मानजनक मोडेल तयार गरिनुपर्छ ।

​३. जनताको विश्वास जित्ने कार्यक्रम:

कांग्रेसले अब ‘हामीले इतिहासमा यो गर्यौँ’ भनेर मात्र पुग्दैन, ‘भविष्यमा के गर्छौँ’ भन्ने प्रष्ट खाका दिनुपर्छ। भ्रष्टाचार विरुद्धको कठोर प्रतिवद्धता र डेलिभरीमा आधारित राजनीति नै आजको आवश्यकता हो।

​४. अराजकताको अन्त्य , त्याग र उदारता प्रदर्शन :

पार्टीभित्र स्वस्थ आलोचनालाई स्थान दिँदै अराजकतालाई रोक्नुपर्छ। नेतृत्वले त्यागको भावना (Sacrifice) देखाउन सक्नुपर्छ, तीन , चार पाँच पटक निर्वाचनमा टिकट पाएका र संसदमा प्रतिनिधित्व गरेका नेताले निर्वाचनमा नयाँलाई ठाउँ दिन्छु , उम्मेदवारी फिर्ता लिन्छु भन्ने घोषणा गर्नुपर्छ।

​सम्पुर्ण पार्टी पङ्क्तिमा अनुरोध –

सम्पूर्ण कांग्रेसजनमा मेरो विनम्र अपिल र अनुरोध छ— यो बेला हामी समस्त काङ्ग्रेस जन एक-अर्काको खुट्टा तान्ने होइन, एउटै डुङ्गामा सवार यात्रु बनेर भेल तर्ने बेला हो। यदि हामीले समयमै बुद्धि पुर्याएनौँ भने इतिहासले हामीलाई माफ गर्ने छैन।

निर्वाचनको मैदानमा जाँदा हामीले विभाजित मन होइन, एकीकृत संकल्प लिएर जानुपर्छ।

​बिपीले भन्नुभएको ‘ राष्ट्रिय एकता र मेलमिलाप’ आज पार्टीभित्रै सबैभन्दा बढी आवश्यक छ।

नेतृत्वले स्वार्थ र संकीर्णता त्यागून्, कार्यकर्ताले अनुशासनहीनता र निराशा त्यागून्। कांग्रेसलाई फेरि एक पटक आम नेपालीको बिस्वास र भरोसाको चौतारी बनाउन सबै एकजुट बनौं , गुट उपगुटमा बिभक्त नबनौं।
​जय नेपाल !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?