तनहूँ क्षेत्र नं. १ मा गठबन्धनको उम्मेदवार को रामचन्द्र कि किसान ?

  • ख-
  • ख+

तनहूँ । मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भएसँगै मुलुकभर जस्तै तनहूँमा पनि चुनावी चर्चा चल्न थालेको छ ।
यसै क्रममा तनहूँका २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पनि कुन दलबाट को उम्मेदवार बन्ने भन्नेबारे चर्चा परिचर्चा सुरु भएको छ । विभिन्न निर्वाचन क्षेत्रमा बिशेषगरि तनहूँ क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार को रामचन्द्र कि किसान ? बन्नेबारे लेखाजोखा हुन थालेको छ ।
तनहूँको क्षेत्र नं. १ बाट अघिल्लो निर्वाचनमा तत्कालिन नेकपा का उमेदवार कृष्णकुमार श्रेष्ठ किसान विजयी हुनुभएको थियो । उक्त निर्वाचनमा श्रेष्ठले ३४,४९२ मत प्राप्त गरि विजयी हुदाँ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २७,६९० मत प्राप्त गरि पराजित हुनुभएको थियो । मंसिर ४ मा हुन लागेको निर्वाचनमा अघिल्लो निर्वाचनमा विजयी कृष्णकुमार श्रेष्ठ किसान र पराजित पौडेल गठबन्धन दलका सहयात्री भएकोले स्वत विजयी व्यक्तित्व कृष्णकुमार श्रेष्ठ किसानले टिकट पाउने धेरैको राय रहेको छ । उक्त निर्वाचनमा ६,८०२ मत अन्तरका साथ विजयी कृष्णकुमार श्रेष्ठ किसानले नै क्षेत्र नं. १ मा टिकट ल्याउने अनुमान गरिरहदा जिल्लाको वस्तुस्थिति अलिक भिन्न देखिएको छ ।
हाल पुर्वमन्त्री श्रेष्ठ गठबन्धनमा सामेल आफ्नो पार्टी नेकपा समाजवादीमा मात्र होईन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डसग पनि अत्यन्त राम्रो सम्बन्ध भएको नेता भएको कारण गठबन्धनको टिकट हात पार्छन् कि भन्ने पौडेललाई डर भएपनि स्थानिय निकायको निर्वाचनमा श्रेष्ठको पार्टीले जिल्लामा १ हजार मत पुर्याउन पनि हम्मे हम्मे पर्नुले पनि श्रेष्ठको दावीलाई कमजोर बनाउनेछ । पुर्वमन्त्री श्रेष्ठको पछिल्लो समय जिल्लामा आगमनमा अलि सुस्ताउनु , रामचन्द्र पौडेलले आफुलाई उमेदवारको रुपमा प्रचार गर्दै बाढि पहिरो गएको स्थानमा जाने, पार्टीका भेला तथा कार्यक्रमहरुमा उपस्थित भएर तनहूँ क्षेत्र नं. १ मा एक्लो विकल्प म नै हुँ भनेर देखाउन शुरु गरिरहदा वर्तमान् विजेता श्रेष्ठले आफ्नो निर्वाचनक्षेत्रको बारेमा मुख नखोल्नुलाई पनि श्रेष्ठले गठबन्धनबाट नै भएपनि नेकपा एकिकृत समाजवादीबाट टिकट लिन नचाहेको संकेतको रुपमा धेरैले अनुमान गरेको नेकपा एमालेका एक नेताको विश्लेषण रहेको छ ।
तनहूँ बाट यसभन्दा अगाडि ६ पटक यसपटक सहित ७ पटक उमेदवार बन्न लाग्नुभएका पौडेललाई आराम दिएर युवाहरुलाई मौका दिनुपर्छ भन्ने धेरै कार्यकर्ताको राय, उक्त क्षेत्रबाट नै केन्द्रमा प्रतिनिधित्व गर्नुहुने आफ्नै पार्टीका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारी र अर्का केन्द्रिय सदस्य गोविन्द भट्टराईको पनि रहरले गर्दा रामचन्द्र पौडेललाई उक्त क्षेत्रका २।२ केन्द्रिय सदस्यलाई व्यवस्थापन गर्न गारो पर्ने देखिनुका साथै अघिल्लो निर्वाचनमा राजनीतिका चतुर खेलाडी सावित हुनुभएका कृष्णकुमार श्रेष्ठ किसानलाई व्यवस्थापन गर्न पनि निकै गारो पर्ने देखिएको छ । त्यस्को लागि पौडेलसग केहि विकल्पहरु बचेको जानकारहरु बिशेषगरि नेकपा एकिकृत समाजवादीका नेताहरुको भनाई रहेको छ । रामचन्द्र पौडेलले या त स सम्मान कृष्णकुमार श्रेष्ठ किसानलाई तनहूँ क्षेत्र नंं. १ बाट गठबन्धनको उमेदवार बनाउने र आफु अन्य क्षेत्रमा जाने या त आफ्नै सिफारिसमा श्रेष्ठलाई अर्को जिल्लामा गठबन्धनको साझा उमेदवार बनाउने । अर्कोतर्फ आफ्नो पार्टीका शंकर भण्डारीलाई समानुपातिकमा बस्न मनाउने र गोविन्द भट्टराईलाई फेरि प्रदेश सभा सदस्यमा लडाउने ।
गठबन्धनको कट्टर हिमायति शिर्ष नेता भएको कारण रामचन्द्र पौडेललाई आफ्नो क्षेत्र रोज्न अलिक सजिलो भएपनि कृष्णकुमार श्रेष्ठ किसानलाई मनाउन र शंकर भण्डारी, गोविन्द भट्टराईलाई व्यवस्थापन गर्नु फलामको च्युरा चपाउनु बराबर हुनेछ किनकी यी तिनको व्यवस्थापनमा अलिकति तलमाथि भयो र चित्त द्ख्यो भने मंसिर ४ मा त्यो फलामको च्युराले दाँत भाँचिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्